[ THE GIRL ON THE BUS ]

म ठ्याक्कै चार बजे तुलसीपुर बसपार्क पुगेँ । बस बसिरहेको थियो, मलाई कुरेर । म बसभित्र पसेँ । टिकट हेरेँ र आफ्नो सिटमा गएर थपक्क बसेँ । म जस्तै केही यात्रीहरू बसमा उक्लन थालेँ । साढे चारमा बसले बसपार्क छाड्यो ।
मैले टाउको घुमाउँदै आफ्नो सिट पछाडि हेरेँ । म बाहेक पाँचजना मात्रै थिए यात्रीहरू ।
“दाइ, मान्छे यति मात्रै हो र काठमाडौं जाने ?” मैले बसको स्टाफलाई सोधेँ ।
“होइन, बाँकी यात्रीहरू घोराही चोकबाट चढ्छन् ।”
कानमा एयरपोड कोचेँ । ‘Old Dominion’ बज्न थाल्यो ।
“….I don’t tell you when your time is up
I guess sometimes love
Goes without saying
Goes without saying goodbye….”
म सुटुक्क आएको थिएँ र सुटुक्कै फर्किदै छु । दाङलाई म आउनु र जानूमा कुनै फरक पर्नेवाला छैन । तर, मलाई फरक पर्नेवाला छ । ठाउँले त जसलाई पनि प्रेम गर्छ । बरु, मान्छेले हो प्रेम नगर्ने । गर्न नजान्ने । गर्न नसक्ने ।
चार दिनको बसाइँमा शान्त र सुन्दर दाङसँग अनौठो किसिमको प्रेम बस्यो । म झ्यालबाट बाहिर दाङलाई अन्तिमपटक हेर्न थालेँ । बजार छुट्दै थियो । सँग-सँगै छुट्दै थियो, म जस्तै देखिने एउटा आकृति पनि । मैले पनि आफूलाई छुटाएँ ।
तुलसीपुर चोकमा केहीबेर गाडी रोकियो । यात्रीहरू ओइरिन थाले । खाली सिटहरू भरिन थाले । सुन्तला रंगको टिसर्ट र हरियो रंगको लुङ्गी लगाएकी एउटी मङ्गोलियन केटी मसँगैको सिटमा आएर बसिन् । जेब्रा-झोला सिटमूनि धकेलिन् । गाडी कुद्यो । मेरो नजर पुन: झ्यालबाहिर ओछ्छिन थाल्यो ।
गाडीको स्पिकरमा ठूलो आवाजमा गीत घन्किन थाल्यो, ‘साजन तुमसे प्यार की लडाइँ में टूट गयी चूडियाँ कलाई में…… ।’ मैले सुनिरहेको गीत बन्द गरेँ ।
लगभग एक-घन्टापछि मसँगै बसेकी केटीले मतिर फर्किदै सोधिन्, “तपाईं कहाँसम्म ?”
“काठमाडौं !” मैले भनेँ ।
“अनि तिमी ?” सायद प्रश्न सोध्ने पालो मेरो थियो ।
“बुटवल !”
“बुटवल पुग्न कति समय लाग्छ ?” मैले पुन: प्रश्न गरेँ ।
“खोइ, थाहा छैन ।” उसले भनिन्, “म पहिलोपटक जाँदैछु ।”
सोध्ने बाँकी प्रश्नहरू मसँग थिएनन् । सायद भन्ने कुराहरू उनीसँग पनि थिएनन् । हामी चुप रह्यो । मात्र बसको स्पिकर बजिरह्यो, बोलिरह्यो, ‘पहला नशा…पहला खुमार… नया प्यार है नया इंतजार…।’
केटीको मोबाइलमा फोनको घण्टी बजेको बज्यै गर्न थाल्यो । केटीले खै किन वेवास्ता गरिरहिन् ।
“काठमाडौं के कामले जाँदै हुनुहुन्छ ?” केटीले पुन: सोधिन् ।
“म उतै बस्छु ।” मैले भनेँ, “यहाँ घुम्नमात्र आएको ।”
“बुटवल हुँदै आउनुभएको होइन र ? यहाँबाट बुटवल कति समय लाग्छ, तपाईंलाई नै थाहा होला नि !” उसले तार्किक कुरा गरिन् ।
“म फ्लाइटबाट आएको हुँ, तैभएर थाहा भएन ।” मैले भनेँ ।
उसले ‘ए’ को आसयमा टाउको हल्लाइन् । हामी फेरि ढुङ्गाजस्तै भयौं ।
“तिमी चाहिँ बुटवल के कामले जाँदै छौँ ?” मैले वार्तालापलाई चालू राख्न खोजेँ, “दसैं मनाउन ?”
उसले मुस्कुराउँदै भनिन्, “अँ, दिदी-भिनाजु हुनुहुन्छ त्यहाँ ।”
“घर चाहिँ यहीँ दाङ हो ?” मैले सोधेँ ।
“होइन, रोल्पा ।”
हाम्रो कुरा फेरि टुंगियो ।
उसको अनुहारको कुनै किसिमको चमक थिएन । उनी खुशी पनि थिइनन् र दुखी पनि । उसको अनुहार सपाट थियो । लाग्थ्यो, उसको अनुहार वर्षौँदेखि पानी नपरेर उजाड भएको जमिनजस्तै भएको छ ।
‘लमही’मा गाडी रोकियो । साना-साना केटा-केटीहरू हातमा पानीको बोतल, चिप्स, कुर्कुरे, बदाम बोकेर गाडीभित्र पसे । उसले बदाम किनिन् । मैले केही किनिनँ । गाडी केहिबेर रोकिएपछि पुन: कुद्यो । रात पर्न थाल्यो । रातको हावा बहन थाल्यो ।
उनी निदाइन् । यसरी निदाइन्, मानौँ कयौं रातदेखि उनी अनिदो बसेकी थिइन् । उसको मोबाइलमा लगातार फोन आइरहेको थियो । मलाई निन्द्रा फिटिक्कै लागिरहेको थिएन । बसमा बजिरहेको गीतलाई सुनिरहेँ । सहिरहेँ । झ्यालबाहिरको रातलाई नियालिरहेँ । चिसो हावाले मलाई हिर्काइरह्यो ।
केटी ब्युँझिइन् ।
“मलाई भमिट आउलाजस्तो भयो ।” अफ्ट्यारो मान्दै केटी बोलिन्, “म एकछिन त्यहाँ बस्छु है ।”
मैले उसलाई मेरो झ्यालको सिट छाडिदिएँ । उसको सिटमा म बसेँ । उसले झ्यालबाहिर टाउको निकालिन् र छाद्न थालिन् । मैले मुख बिगारेँ । मेरो पनि मुखमा अमिलो पानी रसाउन थाल्यो । छादिसकेपछि अलि सन्चो मानिन् ।
मैले भनेँ, “तिम्रो मोबाइलमा लगातार फोन आइरहेको थियो । किन फोन उठाउदैनौ ?”
उसले मुख पुछ्दै भनिन्, “फोन घरबाट आएको हो ।”
“अनि किन नउठाएको त ?” मैले सोधेँ ।
“म भागेर आएकी हुँ ।” उसले सहजै भनिन् ।
म झस्किएँ, “भागेर ?”
“हो !” उसले संक्षिप्त जवाफ दिइन् ।
मसँग थुप्रै प्रश्नहरू थिएँ । तर, ती प्रश्नहरू सोध्ने अधिकार मसँग थिएनन् सायद । तर, पनि मैले प्रश्न गरेँ, “किन भागेको ?”
उसले अनुहार खुम्च्याउँदै भनिन्, “बुबाले आफ्नो पेट आफैं पाल भन्नुभयो, अनि म हिडे ।”
उसको कुरा सुनेर हाँस उठ्यो । माया पनि लाग्यो ।
उसले थपिन्, “बुबा सधैं रक्सी खाएर गाली गर्नुहुन्छ । पिट्नुहुन्छ । निस्केर जा भन्नुहुन्छ । सहनै सकिन । धेरै चित्त दुख्यो अनि घर छाडे ।”
“बुबा-आमाले त गाली गरिहाल्नुहुन्छ नि ।” मैले सम्झाउन खोजेँ, “गाली गर्यो भन्दैमा घरबाट यसरी निस्किने हो त ?”
“घरमा मात्रै आइस् भने खुट्टा काटिदिन्छु भन्नुभएको छ बुबाले ।” उसको अनुहार रातजस्तै अध्यारो भयो । “कहिले बुटवल पुग्ला जस्तो भै’सक्यो ।”
“तिमीले जान खोजेको ठाउँ कहीँ छैन ।” मैले भनेँ, “परिवारबाट टाढा कोही रहन सक्दैनन् ।”
उनी मौन रहेर रातलाई नियाल्न थालिन् अनि म उसलाई ।
“दिदी-भिनाजुलाई थाहा छ त ?” मैले कुरा कोट्याएँ ।
मतिर नफर्किकनै उसले जवाफ दिइन्, “मेरो दिदी-भिनाजु हुनुहुन्न । मेरो बुटवलमा कोही छैनन् ।”
म पुन: झस्किएँ, “अनि किन झुठ बोलेको त ?”
मेरो प्रश्नको जवाफ उसले दिन मानिनन् । चाहिनन् ।
“बुटवलम के गर्छौं ? कहाँ बस्छौं त ?”
“थाहा छैन !”
पुन: सन्नाटा छायो ।
अब म के भन्ने ? के सोध्ने ? कसरी सम्झाउने ? कसरी बुझाउने ? मैले केही गर्न सकिनँ । लाग्थ्यो, उनी पनि कठोर भै’सकेकी छिन्, आफ्नो बुबाजस्तै । एक मनलाई त लाग्यो, यो केटी झुठ बोलिरहेकी छ । तर, अर्को मनले चाहिँ झुठ कदापि मान्नै चाहेन ।
उनी अन्धकार रातमा खै कुन्नि के खोज्दै थिइन् । निन्द्रा भने मेरो आँखा खोज्दै आइपुग्यो । म निदाएँ ।
म ब्युँझिदा, बस रोकिरहेको थियो । मध्य-रातमा बुटवल आइपुगेको थियो । मसँगैको सिट खाली भै’सकेको थियो । केटी झरिसकेकी थिइन् । मैले हत्तपत्त झ्यालबाहिर नजर लगाएँ । यताउती हेर्दै केटीलाई खोज्न थालेँ ।
उक्त केटीलाई सडककिनारमा रूखझैँ उभिरहेको देखेँ । उसलाई एकटकले हेरिरहेँ । हाम्रा आँखा एकआपसमा ठोक्किए । मेरो आँखाले उसलाई भनिरह्यो, “जाऊ, आफ्नो गाउँ फर्क । आफ्नो परिवार कहाँ जाऊ ।” फेरि मनले चाहिँ अर्कै भनिरहेको थियो, “नजाऊ, अत्याचार किन सहनु ? कहिलेसम्म सहनु ?”
मैले उसको आँखालाई पढ्न सकिनँ । सायद उसको आँखाले भनिरहेको हुनुपर्छ, “मर्छु बरु, घर फर्केर चाहिँ जादिन । म आफ्नै घर बनाउँछु ।”
बस अघि बढ्यो । केटी अन्धकारमै कतै हराइन् ।
संसारकै सबैभन्दा सुरक्षित ठाँउ हामीलाई घर लाग्छ । तर, कहिलेकाहीँ त्यहीँ घर सबैभन्दा धेरै असुरक्षित भैदिन्छ ।
सिटको कुनामा उसले किनेको बदामको पोको रहेछ । छुटेछ ।
यो संसारको नियम र मान्छेको नियती पनि यस्तै हो- हामी सबै छुटिनै पर्छ कुनै समय, कोही आफ्नाबाट, कोही आफूबाट ।