MY INSPIRATION

मलाई देख्नबित्तिकै बुबाले सोध्नुभयो, “कुन किताब लिएर आइस् मेरो लागि ?”
मैले झोलाबाट मोटो किताब बुबालाई थपाइदिदै भनेँ, “महाभारत !”
“यो त धेरै पहिले पढिसकेको हुँ,” बुबाले मुख बिगार्नुभयो ।
मेरो पनि मुख बिग्रियो ।
“पहिल्यै पढिसकेको फेरि पढ्नुहुन्न र ?” आमा मेरो बचाउमा अघि सर्नुभयो । “पहिलेको किताब ( महाभारत ) पन्ना-पन्ना उध्रिएर कता पो पुगिसक्यो ।”
बुबाले नाकको डाँडीमा चश्मा मिलाउदै बिस्तारै किताबको पन्ना पल्टाउनु थाल्नुभयो । म बुबाको अनुहारमा छुट्टै किसिमको चमक देखिरहेको थिएँ । म र मन दुबै मुस्कुरायो ।
“भोलि ( फुलपाती ) शुभ-दिन छ । पुजा-आजा गरेर पढ्नु नि यस्तो धार्मिक किताब !” आमा रिसाए’झैँ गर्नुभयो ।
आज्ञाकारी बच्चा’झैँ बुबाले किताब बन्द गर्नुभयो र सिरानी माथि राख्नुभयो । आमा धार्मिक हुनुहुन्छ । बुबा तार्किक हुनुहुन्छ । म चाहिँ मार्मिक छु ।
बुबाले दोस्रो प्रश्न मतर्फ हुत्याउनुभयो, “अनि तेरो किताब चाहिँ खोइ ?”
मैले बुझिनँ, “मेरो किताब ?”
“सुनेको छु, तैले पनि लेखि’राको छस् रे किताब, अझै सकिएन ?” बुबाको ओठमा मुस्कान झुल्कियो ।
नव-विवाहित दुलही’झैँ म लजाएँ ।
***
बुबा हरेकदिन जसो घरअघि आँगनमा रहेको आरूको रुखमुनि बस्नुहुन्छ र किताब पढ्नुहुन्छ । गाउँका मान्छेहरू बुबाको पुस्तक प्रेम देखेर छक्क पर्छन् । बेलुकी-पख वरिपरि घरका स-साना केटाकेटीहरू बुबाको छेउछाउ बस्छन् । बुबाले कथा सुनाउनुहुन्छ । उनीहरू सब्बै केही समयका लागि भए पनि अर्कै दुनियाँमा पुग्छन् । त्यहाँ रमाउँछन् ।
म गाउँ जाँदा हरेकपटक बुबालाई किताब लिएर जाने गर्छु । बुबा हरेक पटक उपत्यका झर्नु हुँदा किताब किनेर सँगै पठाइदिने गर्छु । किताब पाउँदा बुबा भर्खर खेलौना पाएको बच्चा’झैँ बन्नुहुन्छ । रम्नुहुन्छ ।
कुनै समयको वनारस बसाइँमा बुबाले थुप्रै किताबहरू पढ्नुभयो । ‘लालहिरा’देखि ‘मधुमालती’सम्म । ‘कृष्ण-चरित्र’देखिगिता’सम्म ।
कुन-कुन पढे, कति पढे, अहिले बुबाले सम्झिन सक्नुहुन्न । के-के लेखे, बिर्सिसक्नुभयो । अहिले लेख्नुहुन्न । मलाई भन्नुहुन्छ, “अहिले हात रूखको पातझैँ हल्लिरहन्छ । लेख्नै सक्दिन ।”
वनारसबाट आउँदा पनि थुप्रै किताबहरू आफूसाथ लिएर आउनुभयो । कति हराए । कति अरुले लगेर फर्काएनन् । कति मुसाले आहारा बनाए । कति च्यातिएरै, उध्रिएरै, उप्किएरै सकिए ।
***
सानो छुँदा सुत्ने बेलामा बुबाले हामी दाजुभाइलाई कथा सुनाउनुहुन्थ्यो । दाइ र भाइ सुतिहाल्थे । म भने कल्पनामा तैरिरहेको हुन्थेँ । बुबाले सुनाउने अधिकांश कथाहरूमा अजङ्गका दैत्य हुन्थे । शक्तिशाली भगवान् हुन्थे । भयानक जनावरहरू हुन्थे । डरावनी सैतानहरू हुन्थे । जादुयी ठाउँहरू हुन्थे । बुबाले सुनाउने कथाहरू यस्तै हुन्थे, असामान्य । असाधारण । असिबो-गरिब ।
बुबाले त्यहीँ समय म’मा साहित्यको बिज रोपिदिनुभएको थियो । त्यहीँ समयबाट नै म पनि मनमनै कथा बुन्न थालेको थिएँ । यथार्थभन्दा ज्यादा स्वैरकल्पनामा रम्न थालेको थिएँ ।
***
विजया-दशमीको अघिल्लो दिन आफूले तयार पारिरहेको ड्राफ्टबाट बुबालाई दुई अध्याय सुनाएँ । बुबाले कस्तो प्रतिक्रिया दिनुहुनेछ, म आत्तिएको थिएँ । परीक्षा दिएर नतिजा कुरिरहेको विद्यार्थी’झैँ भएको थिएँ । मन हडबडाएको थियो ।
बुबाले सुनिसकेर मुस्कुराउनुभयो र भन्नुभयो, “राम्रो छ । ‘बदला’को रै’छ, होइन ?”
म लजाएँ ।
***
भन्छन्, मान्छे कोही-न-कोहीबाट प्रभावित / प्रेरित भएकै हुन्छन् । म गर्वका साथ भन्न सक्छु, म आफ्नो बुबाबाट भएको हुँ ।