That Day

म मरेको दिन
अरू दिन जस्तै हुनेछ- सामान्य

सूर्य पहिले’कै समयमा उदाउनेछ/अस्ताउनेछ
हावा सधैं जस्तै दिशाहिन भएर दौडिनेछ
पानी उहीँ आफ्नै नियममा बहनेछ

सधैंको जस्तै-
बादल निलो आकाशको क्यानभासमा
अमूर्त चित्र कोर्नेछ

अदम्यका साथ उभिनेछ हिमाल र उसको काखमा
मुस्कुराउने छ हिउँ

सधैंको जस्तै-
फुल्नेछ सुन्दर फुल,
कुरुप हातबाट चुँडिनको लागि

हत्केला फिँजाएर त्यर्सिनेछ बाटो,
अडाउन कयौं पाइला

सधैंको जस्तै हुनेछ- म मरेको दिन

तर,
पक्कै केही ओँठहरूमा मुस्कान हराउनेछन्
आँसुले रुझाउनेछन् केही परेलीहरू

कुरेर बस्नेछन्
-नहिँडिएका बाटोहरू

प्रतीक्षारत हुनेछन्
-खाएका कसम र वाचाहरू

म मरेको दिन-
उज्यालोले सम्झिनेछ मेरो छायालाई
अँध्यारोमा ओतले याद गर्नेछ मलाई

आकाशमा उड्न छाड्नेछन् मेरा स्वप्निल सपनाहरू,
अनि, अपांग हुनेछन् तन्दुरुस्त रहरहरू

तर, म मरेको दिन
म खाली हात जानेछैन,
तिमीलाई लाग्ने बाडुल्की पनि लिएर जानेछु !

Related Articles

Leave a Reply

Check Also

Close
Close