म कवि होइन

हो, मैले कविता लेख्न छाडिसकेँ
तपाईं नै भन्नुस् न, कति लेख्नु दुखहरू मात्रै ?
– कति लेख्नु लङ्गडा रहरहरु ?
– कति लेख्नु खडेरी परेका अनुहारहरू ?
– कति लेख्नु डरले काँपिरहेका ओठहरू ?
– कति लेख्नु छत नभएका घरहरू ?
– कति लेख्नु दुर्बल मुटुहरूका घड्कन ?
– कति लेख्नु पिडितहरूलाई स्पर्श गरेको हावाको कथा ?
हो कि होइन भन्नुस् न ?
कति सोध्नु प्रश्नहरू ?
कति खोज्नु उत्तरहरू ?
मैले धेरैपटक लेखेँ
– छायाको रङ्ग एउटै भएपनि कायाको रङ्ग खोज्ने नजरहरू
– हक-अधिकारको बिच उभिएको बडेमानको निरंकुश पर्खाल
– जनावरको भोग खोज्नेले नखोजेको मान्छेहरूका भोक
मैले यो पनि नलेखेको होइन
– खण्ड-खण्ड पारेर बनाएको सिमाना
– आश्वासनका झुठा भाषणहरू
– अन्याय हेरिरहेको न्यायको मन्दिर
लेख्न के चाहिँ छुटाएको थिएँ र
– सुविधा नपुगेका विकट खोँचहरू लेखेँ
– कसैले नसुनेका रोदन, आँसु, चीत्कार लेखेँ
– लेखेँ मुर्तीलाई पुज्ने, मुर्ती बनाउँनेलाई नपुज्ने हातहरू
लेख्न त कति लेखेँ लेखेँ नि, भनेर / सुनाएर साध्य नै छैन
तपाईं नै भन्नुस्, लेखेर केही भयो ?
अँह, केही भएन
तर, एउटा कुरा चाहिँ थाहा पाएँ
कविताले देश नबनाउँदो रहेछ, बरु देशले कवि बनाउँदो रहेछ
त्यसैले, मलाई कवि हुनु छैन
कविता लेख्नु छैन !