114 K.M. AWAY FROM CAPITAL

समय – 6:00 A.M.
माछापोखरी, बालाजु

माछापोखरी भर्खरै ब्युँझिएर आफ्नो मुख धुँदै छ । मान्छेहरु र गाडी-मोटरहरू आ-आफ्ना गन्तव्य बोकेर हिंडिरहेका छन् । केही पसलहरू खुलिसके, केही हाई काट्दै खुल्दै छन् । चिसोले सब्बैलाई मज्जाले अंगालेको छ । म भने ‘बर्तीका राई’लाई सुन्दै बस कुरिरहेको छु ।

‘……कति फेरि-फेरि यहीँ एउटा जीवन कति थरी बाँच्यौ होला….।’

छिनछिनमा समयलाई जाँच्दैछु । पत्रीकावाला दाई साइकलबाट पसल-पसलमा पत्रीका फ्याँक्दै गरेको देख्छु । म त्यो दाईको सन्मुख आफूलाई उभ्याउँदै भन्छु, “मलाई नि पत्रिका दिनुस् न ।”

मुखबाट आवाजभन्दा बाफ ज्यादा उड्छ । जाडोमा सबैको शरीरले हुक्का तान्दो रहेछ ।

“यसरी छुट्टै त दिन मिल्दैन,” मुख बिगार्दै त्यो दाईले पनि बाफ उडाउँछ । “फेरि पुग्दैन ! कुन पत्रिका चाहिएको हो र तपाईंलाई ?”

“कान्तिपुर !”

दाईले कान्तिपुर मलाई थमाइदिनुहुन्छ । म दश रुपियाँ उहाँलाई थमाइदिन्छु । हिसाब बराबर !

बस हर्न बजाउँदै आउँछ । म बस नम्बर जाँच्दै बसभित्र आफूलाई पसाउँछु । सिट न. B’4 मा बस्छु । ‘बर्तीका’ एक सुरले गाइरहेकी छिन् । ‘….साझा बसमा एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी….!’

बिस्तारै यात्रीहरू बसमा भरिदै जान्छन् । खलासी चिच्याउँदै मान्छेहरू बोलाउँदैछन् । सिट बिस्तारै तातिदै छ । म न्यानो महसुस गर्दैछु । ट्रेकिङ जानका लागि हिंडेका एक हुल खैरेहरू पनि बसमा बस्छन् । बस भरिन्छ । बस हिंड्छ ।

समय – 9:45 A.M.
ढुङ्गे, त्रिशुली

बस रोकिन्छ । ‘ल खाना, खाजा खान ओर्लिनुहोस्’ भन्दै खलासी पहिला ओर्लिन्छ । बिस्तारै सबै यात्रीहरू ओर्लिन्छन् । म पनि ओर्लिन्छु । बस खाली हुन्छ । सबै फरक-फरक होटलभित्र पस्छन् । म पनि एउटामा पस्छु ।

सूर्यको अत्तोपत्तो छैन । बादलले एकाधिकार जमाएको छ, आकाशमा । त्रिशुली मलाई काठमाडौंभन्दा ज्यादा चिसो लाग्छ ।

चना-अन्डा साथमा अदुवा हालेको कालो चिया टेबलमा आइपुग्छ । म चम्चासँगै मुख पनि चलाउँन थाल्छु । झोलाबाट ‘कान्तिपुर’ निकाल्छु ।
‘धर्मले बचाउछ भन्दै औषधि खान मान्दैनन् संक्रमितहरू’
‘सडकभरी भिकारी’
‘बिदा नपाउँदा पाँच सहकर्मीको हत्या’
डुङ्गा दुर्घटनामा ५८ आप्रवासीको मृत्यु’
पत्रिका र जीवन मलाई उस्ता-उस्तै लाग्छन् । सुखद घटनाभन्दा ज्यादा दु:खद दुर्घटनाले धेरै ठाउँ पाँउछन् ।

पत्रिकालाई झोलामा कोच्छु । खाजा खाइसकेर बसमा गएर बस्छु । अरु यात्रीहरु पनि बिस्तारै आउँछन् । बस भरिन्छ । ड्राइभर हर्न बजाउँदै बस स्टार्ट गर्छ । खलासीले बसको एल.इ.डि.मा फिल्म लगाउँछ, ‘शत्रु गते’ । भनौं, एकप्रकारको टर्चर सुरु हुन्छ, कम्तीमा मेरा लागि । म कानमा इयरर्फान कोच्छु । ‘माइली साइरस’को ‘Wrecking ball’ बजाउँछु, फुल भोलुममा ।

समय – 11:30 A.M.
कालिकास्थान, रसुवा

बस रोकिन्छ । केही लोकल यात्रीहरू ओर्लिन्छन्, केही उक्लन्छन् । मलाई आफ्नै कथा ‘फ्री फ्ररम फ्रीडम’को याद आउँछ । म झँस्किन्छु ।

खलासीले बसको छतमा सामान मिलाइसकेपछि ड्राइभरले बस उकालो चढाउँछ । आकाशमा रहेका बादलहरूलाई सूर्यले किनार लागाइसकेका छन् । खलासीले फेरि मलाई टर्चर दिन थाल्छ ।

गीतको लयमा निन्द्राले लय समात्छ । म निदाउँछु । कति समय निदाउँछु, पत्तो पाउदिनँ । मान्छेहरूको हल्लाले मेरो निन्द्रा बिथोलिन्छ । म ब्युँझिन्छु । बस खाली देख्छु । म ओर्लिन्छु । राम्चेको कच्ची सडकमा बस बिमार परेको रहेछ । ड्राइभर र खलासी दुबै बसको अगाडिपट्टी मर्मत गर्दै रहेछन् । अरु यात्रीहरू सबै फोटो खिच्न ब्यस्त देख्छु ।

‘बस बन्न लगभग डेढ घन्टा समय लाग्ने’ भनेर खलासीले सबैलाई भन्छ । मलाई झ्याउ लाग्छ । के गरौँ-गरौँ हुन्छ । त्यहाँबाट देखिने सुन्दर डाँडाहरूलाई ग्यालरीमा उतार्छु । पर-परसम्म खुट्टालाई हिंडाउँछु, फेरि फर्किन्छु । बिमार बसलाई एकोहोरो हेरिरहन्छु ।

अर्को बस आउँछ । बिमार बसबाट झोला झिकेर म अर्को बसमा पस्छु । बस मान्छेले भरिभराउ छ । म बिचमा उभिन्छु । बसको एल.इ. डि.मा ‘छक्कापन्जा’ चलिरहेको छ । अर्को टर्चर सुरु हुन्छ ।

समय – 2:15 P.M.
धुन्चे, रसुवा

“ल, धुन्चे आइपुग्यो,” खलासी कराउँछ ।

यात्रीहरू ओर्लिन थाल्छन् । म झ्यालबाट बाहिर नियाल्छु । लाङटाङ हिमाल मुसुक्क मुस्कुराउँदै मलाई स्वागत गरिरहेको देख्छु । त्यो मुस्कानमा म पनि मेरो मुस्कान मिसाइदिन्छु ।

बसबाट ओर्लिदा आँखा बसको ढोकाको माथि टाँसिन्छ । त्यहाँ लेखिएको हुन्छ, ‘पाकेटमारदेखि सावधान !’

म आफ्नो गोजी, झोला छामछुम पार्दै बसबाट ओर्लिन्छु ।
ओठबाट फेरि मुस्कान फुस्किन्छ । पत्तै नपाई यो यात्राले मेरो केही घन्टा आयु चोरिसकेछ, जुन आयु मैले कहिल्यै फिर्ता पाउने छैन । 

Related Articles

Leave a Reply

Check Also

Close
Close