150 km away from capital, 3842 meter above from sea-level

{ पुरानो बसपार्क, रत्नपार्क, काठमाडौँ }
समय – सूर्य उदाउनुभन्दा पहिले
हातमा टिकट छ, कालिन्चोकसम्मको !
टिकटमा स्पष्टसँग लेखिएको छ, बस छुट्ने समय- बिहान ८:३० बजे ।
एकदिन अघि एकजनाले भनेको थियो, कालिन्चोक जाने बस बिहान ७ बजे नै छुट्छ भनेर । म बिचरा सोझो, पत्याएँ । अनि अहिले ….. ?
यत्रो समय के गरेर बस्ने यस्तो जाडोमा ?
थर्मसमा चिया बोक्दै यताउति हिँडिरहेका छन्, विभिन्न आकारका आकृतिहरू ।
म कालो चिया माग्छु ।
“कालो चिया छैन भाई दूध चियामात्रै छ !” चिया बेच्ने दिदी भन्नुहुन्छ ।
मलाई दूध चिया मन पर्दैन । तर, के गर्नु ? जाडो छ । अझ यत्रो समय बाँकी छ, बस छुट्न ! दूध चिया नै माग्छु । पिउँछु । रुमबाट नै कडा कालो कफी पिएर आएको थिएँ । दुध चिया र कालो कफी पेटमा मजासँग घोलिन्छ ।
मलाई एक्लै यात्रा गर्न मन लाग्छ । आफूलाई राम्रोसँग चिन्न अथवा बुझ्न एक्लै यात्रा गर्नुपर्छ, कम्तीमा मलाई यस्तै लाग्छ ।
जाडोमा समय पनि जम्दो रहेछ । अब के गर्ने ? समय टनाटन छ ।
बस चढ्छु । टिकट हेर्छु । सिट न – B’5 ! त्यहीँ सिटमा गएर बस्छु ।
झोला राख्छु । झोलाभित्र छ – ज्याकेट, गलबन्दी, ट्राउजर, मोजा, पन्जा, चार्जर, हेडफोन, ब्रस, पेस्ट, अनि काफ्काको ‘मेटामोर्फोसिस’ !
कानमा हेडफोन कोच्छु ।
‘दि हन्टिङ अफ दि हिल हाउस’ सिजन ‘१’ को दुई एपिसोड बाँकी थियो हेर्न । त्यहीँ हेर्न थाल्छु । एकाबिहानै हरर सिरिज !
लगभग दुई घन्टा जतिको दुई एपिसोड सकिन्छ, ‘दि हन्टिङ अफ दि हिल हाउसको’ । दि हन्टिङ अफ दि हिल हाउस, जहाँ भुतले होइन घरले मान्छेहरू मार्छन् । तपाईंहरूलाई पनि मन पर्छ, अवस्य हेर्नुहोला ।
{ सुनकोसी खाना-खाजा घर, मुडे, दोलखा }
समय – सुर्य टाउकोमाथि टांसिएको छ !
“सबै जना खाना खान झर्नुस् है !” खलासी कराउँछ ।
सबै यात्रीहरू झर्छन् । म सिटमा बसिरहन्छु । खान मन नै छैन । कालो कफी र दुघ चियाको ककटेलले भोकलाई मारिदिएको छ। केहीबेर कथाको प्लट सोच्दै सिट’मै बस्छु ।
के मन लाग्छ कुन्नि बसबाट उत्रिन्छु । म.म.को हर..र.र.. बास्ना नाकमा पस्छ । आफूजत्तिकै उमेरको साउनीलाई सोध्छु, “के को म.म. हो ?”
“बफ ! राखिदिउ ?” साउनीले प्लेट समाउँदै सोध्छिन् ।
म मुख बिगार्छु । जे होस म.म.को बास्नाले भोक जगाइदिएको छ ।
“दिदी, चाउचाउ अन्डा बनाईदिनुस न है !” म एउटा टेबल ओगट्दै भन्छु।
“ममि, एक ठाउँमा चाउचाउ अन्डा !” भित्र किचेनमा रहेकी आफ्नी आमालाई अर्डर दिन्छिन् ।
म मोबाइलमा ‘लेडी गागा’लाई सुन्दै बस्छु । बिस्तारै यात्रीहरू बसमा भरिन थाल्छन् ।
“दिदी , खाजा भएन ?” म हतारो गर्छु ।
“भै’हाल्यो भाई !” किचेनबाट आवाज आउँछ ।
‘लेडी गागा’पछि ‘एभ्रील’ कराउँन थाल्छिन् ।
चाउचाउ आइपुग्छ । म खान थाल्छु ।
“दिदी, चाउचाउ त पाकेकै छैन !” म मुख बिगार्छु ।
“तपाईंको गाडी छुट्छ कि भनेर छिटोछिटो बनाईदिएको । काँच्चै पो परेछ ?” साउनीको ( आमा ) मुस्कान फुस्किन्छ ।
म काँच्चै भए पनि खान्छु । बस अझैं बसिरहेको छ ।
म पैसा तिर्न काउन्टरतिर लाग्छु, “कति भयो ?”
“साठी !” साउनीले ( छोरी ) भन्छिन् ।
“तीसमात्रै दिनुन !” किचेनबाट साउनी ( आमा ) बाहिर आउँदै भन्छिन् ।
म तीस रुपियाँ दिएर बाहिर निस्किन्छु । आमा छोरीको वार्ता मेरो कानमा टांसिन्छ ।
“किन तीसमात्रै, ममी ?”
“चाउचाउ राम्रोसँग पाके’कै थेन, तै’भएर !”
{ चरिकोट, दोलखा }
समय- उज्याल्यै छ !
घ्याँच्च बस रोकिन्छ ।
चरिकोट बजार ! हावा चिसो चिसो बगिरहेको छ ।
“कति समय रोक्छ बस यहाँ ?” म खलासीलाई सोध्छु ।
“आधि घण्टाजति !” जवाफ पाँउछु ।
बसबाट उत्रिन्छु । सिधै नजिकैको स्टेस्नरी पसल पस्छु । कान्तिपुर किन्छु । पत्रीका नपढेको दिन मलाई खल्लो लाग्छ, चियामा चिनी नभएको जस्तै । मेरो फ्लेवरको र देशको फेवरको समाचारहरू कुनै पनि छापिएका छैनन्। दिक्क लाग्छ ।
चिया पसल पस्छु । कालो चिया पिउँछु । बस चढ्छु । ‘मेटामोर्फोसिस’को दुई तीन पन्ना केलाउँछु ।
मोबाइल बज्छ !
“भोलि भेट्नुपर्छ है ! तिमीसँग एउटा सानो काम छ !” उताबाट साथिको आवाज सुनिन्छ ।
“म त दोलखा पो आएको छु, यार !” म भन्छु ।
“हो र ! कहिले ? किन ? कोसँग ? कहिले फर्किने ?” उताबाट प्रश्नहरू धमाधम बर्सिन्छन् । म पनि यताबाट उत्तरहरू धमाधम फर्काउँछु ।
बसलाई आराम पुग्छ । बस उकालो लाग्न थाल्छ । सूर्य ओरालो झर्न थाल्छ ।
{ सुनपाती होटल, कुरि, कालिन्चोक, दोलखा }
समय- सुर्य क्षीतिजमा डुबिसक्यो !
तापक्रम : – 2°c
उचाई : समुन्द्री सतहबाट लगभग ४००० मिटर माथी !
दुरि : राजधानीबाट लगभग १५३ किलोमिटर टाढा !
घर / होटल : लगभग ७० वटा जति !
जनसंख्या : १००० जना जति पनि छ कि छैन !
अर्को दिन !
{ कालिन्चोक भगवती मन्दिर, कालिन्चोक, दोलखा }
समय – किन चाहियो ?
गौरीशंकर हिमश्रङ्खला सूर्यलाई मस्तसँग तापिरहेको छ ।
मन्दिरको दायाँ-पट्टि रहेको सुन्दर ल्यन्डस्केपमा घोडाहरू चरिरहेका छन् । खोल्चा-खोल्चामा दुईदिन अघि मात्रै परेको हिउँ अझैं पग्लिएको छैन । डाँडाहरू गुराँसका रूखहरूले छोपिएका / ढाकिएका छन् । बादलहरू तल-तल तैरिरहेका छन् । आकाश निलो रङ्गले पोतिएको छ । हावा बौलाएको छ ।
चौरीको छुर्पी किन्नेहरूको भीड छ । सुन्दर दृश्यलाई क्यामरामा कैद गर्नेहरूको भीड छ । धर्मकर्म गर्नेहरूको भीड छ ।
म एक्लो यिनै भीडहरूमा छु ।
आफूलाई भुलिरहेको / सम्झिरहेको छु ।
आफूलाई पढिरहेको / लेखिरहेको छु ।
आफूलाई बुझिरहेको / बुझाइरहेको छु ।
आफूलाई खोजिरहेको छु ।
आफैंमा हराइरहेको छु ।