[ THE GIFT ]

“तपाईं राइटर कि रिडर ?” इन्स्टामा एउटा अपरिचितबाट मेसेज आयो ।
 
फ्याट्टै लेखेर पठाइहालेँ, “दुबै !”
 
स्क्रीनमा टाइपिङ्ग देखियो । अपरिचितले पक्कै केही भन्न अथवा सोध्न खोज्दै थियो ।
 
हत्तपत्त मैले आफूलाई सच्चाएँ, “म अनपब्लिस्ड राइटर !” सँगै पठाएँ मुस्कानको इमोजी ।
 
“म त रिडरमात्रै हुँ ।” मैले सोध्नै खोजेको प्रश्नको जवाफ उताबाट आयो ।
 
ओल्डर मेसेज हेरेर थाहा पाएँ, हाम्रो पहिले पनि एकपटक मेसेज आदानप्रदान भै’सकेको रहेछ । उनलाई मैले लेखेको एकमात्र संस्मरण ‘सुसाइड’ मन परेको रहेछ । उक्त संस्मरण मन पर्यो भन्दै मेसेज पठाएकी थिइन् । मैले धन्यवाद भनेको रहेछु । बस् यत्ति ।
 
मैले केहीदिन अघि मात्रै ‘जोर्ज आर.आर. मार्टिन’ले बनाएको ब्रह्माण्डलाई [ द सङ अफ आइस एन्ड फायर सिरिज ] काखमा लिएको फोटो पोस्ट गरेको थिएँ, इन्स्टामा । र, क्याप्सनमा लेखेको थिएँ, “एनिवान विलिङ्ग टु गिफ्ट मि दिस युनिभर्स, प्लिज डुनट हेजिटेट है ।”
 
मैले पोस्ट गरेको उक्त फोटो मलाई नै पठाउँदै उनले लेखेर पठाइन्, “यो सिरिजको कति पर्छ ?”
 
फेरि थपिन्, “इफ आइ क्यान, आइ वान्ट टु गिफ्ट यु ।”
 
म खुशीसँगै अचम्मित पनि भएँ । लेखेर हुत्याएँ, “तपाईं मलाई किन दिन चहानुहुन्छ ?”
 
“बिकज इट्स अ बुक,” उताबाट तुरुन्तै जवाफ आइहाल्यो । “आइ एम नट आस्किङ्ग यु टु टेक रोज, डोन्ट वरि म्यान ।”
 
यता मेरो हाँसो फुत्कियो । हाँसोको इमोजी पठाएँ ।
 
“हामी एक-अर्कालाई चिन्दैनौँ ।” मैले लेखेँ ।
 
“हामी दुबै रिडर हौँ । हामीलाई साहित्यले जोडेको छ, त्योभन्दा अरू के चाहियो ?” उनले लेखेर पठाइन् ।
 
मलाई उनको कुरा चित्त बुझ्यो, “यु आर राइट !”
 
“आइ एम अल्बेज राइट ओन्लि माइ हर्ट इज इन लेफ्ट ।” उनको मेसेज पढेर ओठबाट मुस्कान चुहियो ।
 
“स्माइल आयो ओठमा ?” उनले सोधिन् ।
 
किताबमात्रै होइन, उनले मान्छेको ओठलाई पनि पढ्न सक्दो रहिछिन् ।
 
मैले उनलाई सिरिजको लगभग ‘छ’ हजार जति पर्ने बताएँ । सातवटा किताब बक्समा किन्दा राम्रै छुट पाइन्थ्यो / पाइन्छ । सम्भावित पाउने छुट रकम पनि बताएँ । तर, उनले मलाई पुरै पैसा ट्रान्सर्फर गरिदिइन् । मलाई विश्वास लागिरहेको थिएन ।
 
लेखिन्, “छुट आउने पैसाले तपाईं म.म. खानुस् । म.म. मेरो फेभरेट हो ।”
 
अर्को दिन मैले किताब किनेँ, लगभग पाँच हजार जतिमा । उनले भनेजस्तै बाँकीको म.म. खाएँ । निकैबेर किताबलाई हत्केलामा लिइरहेँ । छामिरहेँ । मलाई बैचेनी हुन थाल्यो । एकाएक खुशीभन्दा बढी थक-थक लाग्न थाल्यो । ब्यर्थ पोस्ट गरेछु । ब्यर्थ त्यो क्याप्सन लेखेछु । अरूको मेहेनतको कमाइ मैले कसरी सजिलै खानु सक्छु ! मलाई नराम्रो लाग्यो । मन भारी भयो । पेटभित्र पसेको म.म.ले मलाई पोल्न थाल्यो । म जल्न थालेँ ।
 
“मलाई कस्तो नराम्रो लाग्यो,” राति उनलाई मेसेज पठाएँ । “म तिम्रो लागि के गर्नु सक्छु ?”
 
उताबाट संक्षिप्त र सपाट जवाफ आयो, “नथिङ्ग !”
 
के लेखौँ, के लेखौँ भयो । म छट्पटाएँ । स्क्रीनमा मेरा औंलाहरू घोत्लिरहेँ । सायद उनले मेरा औंलाहरूको दुविधा सजिलैसँग पढ्न सकिन् । लेखेर पठाइन्, “सँगै भएको भए बरू कफी पिउनुहुन्थ्यो ।”
 
औंलाहरू रमाएँ । मन रमायो । तुरुन्तै कफीले भरिएको कपको फोटो पठाउँदै लेखेँ, “अहिलेलाई यो कफी तिम्रो लागि । कुनैदिन भेट भयो भने पक्का सँगै बसेर पिउनेछौँ ।”
 
मैले पनि पढ्न सकेँ, उनको ओठलाई । महसुस गर्न सक्थेँ, उनको ओठमा मुस्कान झुन्डिरहेको ।
 
मैले अहिलेसम्म पाएको सबैभन्दा महँगो [ किताब ] उपहार । सबैभन्दा सुन्दर उपहार । ‘द सङ अफ आइस एन्ड फायर’ सिरिजको पहिलो किताबमात्रै पढेको मैले त्यसको अझै अरू थुप्रै पात्रहरूलाई, घटनाहरूलाई छाम्न मन थियो । आफ्नो बुक सेल्फमा त्यो विराट ब्रह्माण्डलाई सजाउने ठूलो रहर थियो । त्यो रहर पूरा भयो । पूरा गराइदियो, एउटा अपरिचितले जो आफ्नो लाग्यो । एकदमै आत्मीय लाग्यो ।
 
उनलाई फेरि पनि धन्यवाद ! 🖤🖤

Related Articles

Leave a Reply

Close