म

हजुरबुबाले थोते हाँसो हाँस्दै भन्नुभएको थियो-
नाती त’ तँ मेरो लौरो होस्
तेस्रो खुट्टा होस्
जसको पछि-पछि म डोहोरिदै
आफुलाई सन्तुलित बनाउँदै हिड्नेछु
सायद म ‘बिश्वास’ भएर जन्मिएँ
त्यसैले त हजुरबुबाको पैताला भएँ
म जन्मिदा
मेरो अबोध रुवाइलाई सुम्सुमाउँदै
बुबाले भन्नुभएको थियो-
यो त मेरो भरोसा हो
सुन्दर सपना हो
जसले निष्ठाका साथ बोकेर हिड्नुपर्छ
जिम्मेवारीको भारी सफलताको शिखरसम्म
सायद म ‘आस’ भएर जन्मिएँ
त्यसैले त बुबाको काँध भएँ
आमाले थप्नुभएको थियो-
होइन, यो त मेरो साहारा हो
आँसु पुछ्ने हत्केला हो
जसले मेरो निस्वार्थ ममतालाई
आफ्नो स्वार्थ रहरको अगाडि बिर्सनेछैन
सायद म ‘सास’ भएर जन्मिएँ
त्यसैले त आमाको धड्कन भएँ
कहिलेकाही म आफैंलाई प्रश्न सोध्ने गर्छु-
के म काया संगै छाया मात्र
लिएर जन्मेको हुँ ?
स्वरुप संगै रुप मात्रै लिएर जन्मेको हुँ ?
आफैंलाई सोधिरहने गर्छु-
म आफ्नो लागि चाहिँ के भएर जन्मिएँ ?