[ बुबासँग ‘HOUSE OF SECRETS’ को कुरा ]

‘HOUSE OF SECRETS’ हेरेँ दिनदेखि म शान्त रहन सकिरहेको थिइनँ । त्यसको भयानक / दर्दनाक कहानीले दिनभरी रन्थनाइरहन्थ्यो । रातभरी तर्साइरहन्थ्यो । लागिरहन्थ्यो, छालाभित्र काला कमिलाहरू हिंडिरहेका छन् । लागिरहन्थ्यो, म नाङ्गो खुट्टा मध्य-दिनमा मरुभूमिमा हिंडिरहेको छु ।

मैले बुबालाई दशैंमा किताब उपहार लगिदिएको थिएँ, आचार्य चतुरसेनको ‘वयं रक्षाम’ । उहाँ आरूको रुख फेदमूनि बसेर हरेक बिहान-साँझ किताब पढिरहनुहुन्थ्यो । एक साँझ किताब पढिरहनुभएको बेला मैले उहाँलाई ‘HOUSE OF SECRETS’ को कहानी सुनाएँ ।

एघार जना सदस्य [ वृद्धा देखि बच्चा ( तीन पुस्ता ) ] रहेको एउटा ठूलो परिवार । कसैसँग कुनै पनि प्रकारको समस्या नभएको । एकदमै मिलनसार । पढे-लेखेको । दिनमा तिनपटकसम्म भगवानको पुजा-आराधाना गर्न धार्मिक परिवार । सम्पन्न परिवार । अनुशासित परिवार । एकरात एकैपटक झुन्डेर सबैको मृत्यु हुन्छ ।

सबैका आँखामा पट्टि बाँधिएको हुन्छ । मुखमा पट्टि बाँधिएको हुन्छ । हात-खुट्टा बाँधिएको हुन्छ । खोज-अनुसन्धानबाट मात्रै नभएर मेडिकल रिपोर्टबाट पनि प्रमाणित हुन्छ, त्यो हत्या होइन सामुहिक आत्महत्या भएको हो भनेर ।

मैले बुबालाई सबै बताएँ । घटनाको प्रकृति । परिवारको पृष्ठभुमि । उनीहरूको संघर्ष । उनीहरूको समस्या । उनीहरूको सम्बन्ध । उनीहरूको सफलता । सब्बै-सब्बै । तर, उनीहरूले आत्महत्या किन गरे, त्यो बताइनँ । अन्तिममा मैले बुबालाई सोधेँ, “तपाईंलाई के लाग्छ बुबा, किन कसरी केका-लागि तिनीहरूले आत्महत्या गरे ?”

बुबाले भन्नुभयो, “त्यो सबै अपरिचित, अदृश्य शक्तिले गराएको हो । त्यो शक्तिले सबैलाई डोर्याएको हो, मृत्युसम्म । अन्तिममा उक्त शक्तिले सबैको आत्मालाई लिएर गयो र शरीरमात्रै पछाडि छाड्यो ।

थाहा पाई राख्नू, बाहिरबाट शान्त देखिने मान्छेहरू भित्रबाट सबैभन्दा धेरै अशान्त हुन्छन् । मुस्कुराइरहने मान्छेहरू सबै खुशी हुँदैनन् । निराश देखिनेहरू सबै दुखी हुँदैनन् ।

मान्छेले कुनै पनि अदृश्य शक्तिको विश्वास तब गर्छन्, जब उनीहरूले त्यसलाई अनुभव गर्छन् । त्यसलाई महसुस गर्छन् । त्यसको साक्षी हुन्छन् । तब मात्रै उनीहरूले त्यो शक्तिलाई मान्छन् । त्यसको पुजा-आराधाना गर्छन् । अथवा त्यो अपरिचित शक्तिको तब विश्वास गर्छन्, जब उनीहरू त्यसलाई साँच्चिकै विश्वास गर्न चहान्छन् / खोज्छन् । कारण जे-जस्तो पनि हुन सक्छन् ।

त्यो शक्तिलाई मान्छेले विभिन्न नामले पुकार्छन् । कसैले देवता भन्छन् । कसैले दैत्य भन्छन् । कसैले कुनै अर्कै नामले पुकार्ला । कसैले राम्रो भन्छन् । कसैले नराम्रो मान्छन् ।

कुनै-कुनै मान्छेहरू त्यो शक्तिको यतिसम्म विश्वास गर्छन्, यति सम्मको अन्धविश्वास गर्छन्, त्यो शक्तिले मान्छेको शरीर हुँदै मन-मस्तिष्कलाई पनि कब्जा गर्न थाल्छ । बिस्तारै आत्मालाई कब्जा गर्न थाल्छ । त्यो शक्ति पुर्ण रूपमा मान्छेमा हावी हुन्छ । बिस्तारै त्यो मान्छेले आफ्नो अस्तित्व गुमाउदै जान्छ । ऊ बेग्लै मान्छे बन्दै जान्छ ।”

बुबाले थप्नुभयो, “परिवारका सदस्यहरूले दिनमा तीन पटकसम्म पुजा-आजा गर्छन्, भन्ना बित्तिकै मैले अनुमान लगाइसकेको थिए, रहस्य यहीँभित्र कतै लुकेको छ भनेर । मान्छे त्यति धेरै धार्मिक तब हुन्छ, जब उसलाई केही चाहिएको हुन्छ अथवा उसले महत्त्वपूर्ण केही गुमाएको हुन्छ । जब हामी कुनै कुराको गहिराईमा पुग्छौं, हामी अन्धो हुन्छौं किनभने गहिराईमा प्रायः जसो कि अन्धकार हुने गर्छ कि त एकदमै उज्यालो । राम्रो, नराम्रो हामी राम्रोसँग छुट्याउन सक्दैनौं ।

बुझी राख्नू, धार्मिक मान्छेहरू सबैभन्दा धेरै अन्धविश्वासी हुन्छन् ।

उनीहरू सबैले आफ्नो हत्या गरेका हुन् तर त्यो हत्या गराउने तत्व, शक्ति अर्कै हो । उनीहरू सबै त्यो शक्तिको वशमा थिए । नियन्त्रणमा थिए । गुलाम भएका थिए । त्यहीँ शक्तिबाट निर्देशित थिए ।”

बुबाको जवाफले म तरंगित भएँ ।

मैले बुबालाई तिनीहरूले सामुहिक आत्महत्या गर्नुको कारण पनि त्यहीँ बताएँ ।

बुबा मुस्कुराउनुभयो ।

मैले सोधेँ, “तपाईंलाई कसरी थाहा भयो ?”

बुबाले भन्नुभयो, “शास्त्रमा नभएको कुरा केही हुँदैन । त्यहाँ सबैको जवाफ लेखिएको हुन्छ । मैले शास्त्र पढेको छु ।”

हामी कतिपय रहस्यहरूलाई बुझ्न सक्दैनौं । बुझाउन सक्दैनौं । धर्मले तिनीहरूलाई एउटा नाम दिन्छन् । विज्ञानले अर्को उपमान । व्रह्मान्ड र मानव-मस्तिष्क एउटै हो, यिनीहरूलाई बुझ्न कठिन छ ।

यो NATURAL दुनियाँमा SUPERNATURAL घटनाहरू हुनु सामान्य हो । त्यहीँ भएर NORMAL जिन्दगीमा PARANORMAL क्रियाकलाप हुनु स्वभाविक हो । राम्रो र नराम्रोले सन्तुलित गराएको / भएको जगत हो यो । यहाँ जे पनि सम्भव छ । जस्तोको पनि सम्भावना छ ।

यति धेरै समयमा, म र बुबामा केही परिवर्तन आएको छैन । आएको छ त मात्र हाम्रो भूमिकामा- पहिले बुबाले कहानी सुनाउनुहुन्थ्यो, म सुन्थेँ । अहिले म सुनाउँछु, उहाँ सुन्नुहुन्छ ।

Related Articles

Leave a Reply

Check Also

Close
Close