पर्वतहरूको बिचमा उभिदा…

म त्यहाँ पुगेँ, जहाँ यो भन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो । 

लाङटाङले ओछ्याएको हत्केलामा चौरीहरू चरिरहेका थिए, जो आउने-जाने हरेक पदयात्रीहरूलाई यसरी घुरेर हेर्थे, मानौँ उनीहरू कुनै बेग्लै ब्रह्माण्डबाट अवतरित भएका प्राणी हुन् । ती चौरीहरूलाई चार-पाँच महिनाको अन्तरालमा नुन दिने रहेछन् । त्यसैले हामी पदयात्रीहरूले आफूसँग नुन लिएर आएका छौँ कि भनेर आश भरिएको आँखाले हामीलाई हेर्ने रहेछन् । तिनीहरूको त्यो कहानी जानेर मेरो मुखमा नुनिलो पानी आएको थियो । सायद तिनीहरूले हिमालमा जमेर बसेको हिंउलाई पनि कहिलेकाहीँ नुन सम्झिएर चाट्दा हुन् । 

मलाई त्यहाँको एक स्थानियले सुनाएका थिए, “यी चौरीहरू कसैका हैनन् । यिनीहरू सबैलाई यिनै हिमालमा सुम्पिएका हुन् । परिवारको कुनै सदस्यले मृत्युवरण लिँदा उनीहरूको शोक-सम्झनामा एउटा चौरीलाई गोठबाट छाडिन्छ । यी चौरीहरू सबैले कसै-न-कसैका आत्मा बोकेका छन् ।” 

म भावुक भएको थिएँ, ती चौरीहरू नुनको आशले हामीलाई घुर्ने होइन, हामीलाई त्यो व्यक्ति सम्झिएर हेर्न हुन्, जसका स्मृतिहरू लिएर तिनीहरू हिमालमा भट्किरहेका छन् । एक प्रकारले हामी पनि ती चौरीहरू जस्तै हौँ, जो कसै-न-कसैका यादहरूलाई बोकेर बाँचिरहेका छौँ । 

सायद ती हिमालका काखमा बिछ्छिएका बाटाहरूले पनि हाम्रा सम्झनाहरू भरिएका पदचापहरूलाई बोकेर बाँच्छन् । पदयात्राको क्रममा भेटिएको एक बेलायती वृद्धाले हामीलाई भनेकी थिइन्, “हरेक सजीवता अथवा निर्जीवताले केही-न-केही बोकेर बाँचिरहेका हुन्छन् । पदयात्रा भनेको हिंड्नु मात्रै होइन । एउटा यस्तो जीवन बाँच्नु हो, जुन बाँचिसकेपछि कुनै प्रकारको लालसाको पछि लाग्न मन लाग्दैन ।” 

मैले कुराकानीबाट थाहा पाएको थिएँ, सत्तरी वर्षीय उक्त वृद्धा कुनै कालमा वातावरणको अध्ययन गर्न लाङटाङमा डेढ वर्षजति बसेकी रहिछिन् । सायद त्यसैले पनि उनी भन्दै थिइन्, “बाटोमा उभिएका हरेक रूखहरूले कहानी बोकेका हुन्छन् । हिंडेर मात्रै पदयात्रा सफल हुँदैन । तिमीलाई हिर्काउँदै र ठेस दिदै बस्ने झार र ढुङ्गाहरूले पनि इतिहास भिरेका हुन्छन् । तिनीहरूलाई जान्नु जरूरी छ ।” 

त्यहाँ उनी आफ्नो दौँतरीसँग आएकी थिइन्, जसलाई उनले आफ्नो केही आयु चुहिएको ठाउँ देखाउन चाहन्थिन् । मैले लाङटाङ पदयात्रामा अघिकांश उनीजस्तै वृद्ध-वृद्धालाई भेटेँ, जसका आँखामा अनौठो र अपरिभाषित आभा झल्किएको थियो । उनीहरूको मन र मुहारमा यस्तो इच्छाशक्ति र उत्साह पोतिएको थियो, जसले उनीहरूलाई प्रत्येक उत्कर्षमा पुर्याउन सक्थे । 

मलाई थाहा थिएन, त्यहाँ हिमालमा के थियो ? त्यो कुनै धार्मिक स्थल थिएन । त्यहाँ कुनै मठ-मन्दिर, गुम्बा, चर्च थिएनन् । त्यहाँ मात्र सास फेरिरहेका जीवित सेता हिमालहरू थिए, जसले आफ्नो भीमकाय अंगालो फिंजाएर हरेक यात्रीहरूलाई स्वागत गरिरहेका थिए । मैले बुझ्न सकिरहेको थिइनँ, जीवनको उत्तरार्धमा पुगेकाहरू कुन स्वार्थ र सपना लिएर ती हिमालहरूलाई अंगाल्न हिंडिरहेका छन् ? अक्सिजनको साहरा लिएर कनी-कनी किन त्यो उचाईमा जान चाहिरहेका छन् ? हिंड्न नसकेकाहरू किन घोडा अथवा खच्चरमा बसेर त्यहाँ गइरहेका छन् ? आखिर ती डाँडाहरूमा के लुकेर बसेका छन् ? 

लाङटाङ भ्यालीमा एउटा त्यस्तै वृद्धा भेटिएकी थिइन् । मैले नै कुराकानीको सिलसिला अघि बढाएको थिएँ । त्यहीँ दौरानमा थाहा पाएँ, जर्मनबाट सोलो ट्रेकमा निस्किएकी उनी लगभग सत्तरी वर्ष पुग्न लागेकी रहिछिन् । उनी तीस वर्ष पहिले लाङटाङ आएकी रहिछिन्, अधबैंसे उमेर बोकेर । तीस वर्षपछि उनी अतीतका आफ्ना अनुभव र स्मृतिहरूलाई संगाल्न पुन: लाङटाङ भित्रिएकी रहिछिन् । भन्नुपर्दा, उनी विगतको आफ्नो रूपलाई अंगाल्न आएकी रहिछिन् । 

पदयात्राबाट फर्किदा मेरा हरेक प्रश्नहरूले जवाफ पाइसकेका थिए । वास्तवमा हामी मान्छेहरूले बाटो र गन्तव्य आफैंभित्र लिएर हिंड्दा रहेछौँ । आफूदेखि आफूसम्मको यात्रा नै पदयात्रा रहेछ ।  

त्यस्ता थुप्रै आत्माहरू थिए, जो आफ्नो अस्तिस्वलाई स्पर्श गर्न पदयात्रामा निस्किएका थिए । म उकालो चढ्दा माथिबाट तृप्त भएर ओरालो झर्दै गरेकाहरूलाई हेर्थे । लाग्थ्यो, उनीहरू सबैका भोक र प्यास मेटिएका छन् । उनीहरू जस्तै म पनि फर्किदा सन्तोषले ओतप्रोत भएको थिएँ । 

हरेक ठाउँसँग कहानी हुन्छन् । तर, आँसुबिनाको कहानी हुँदैनन् । लाङटाङसँग आँसुको कुण्ड छ । 

गइरहेका र फर्किरहेका हरेक पदयात्रीका आँखा र पाइला केहीबेर पुरानो लाङटाङमा अडिन्थे, जहाँ एक्लो घर अहिले पनि शोकमा उभिरहेको जस्तो देखिन्छ । त्यो मात्रै एउटा यस्तो घर हो, जुन त्यो बेला बाँच्न सफल भएको थियो । सन् २०१५ मा भुकम्पले जन्माएको पहिरोले त्यहाँ रहेको पुरै बस्ती-गाउँलाई नै निलेको थियो । उक्त भयकारी प्रकृतिक प्रकोपले त्यो बेला स्वदेशी र विदेशी गरेर ३०० भन्दा बढीको प्राण लिएको थियो । 

त्यहीँ पहिरोलाई टेकेर केहीबेर हिंडेपछि नयाँ लाङटाङ पुगिन्छ, जहाँ बस्नेहरूले अहिले पनि त्यो आघात र वेदनालाई लिएर बाँचिरहेका छन् । उक्त निदाइरहेको पहिरोमाथि हिंडिरहदा यस्तो लाग्थ्यो, हामी आफ्नै चिहानमाथि हिंडिरहेका छौँ । लाङटाङको चिसो हावाले भन्दा त्यो दर्दनाक घटनाले हामी सबैलाई चिस्यायो । हामीले जन्मिने र मर्ने स्थान कहिल्यै तय गर्न नसक्ने रहेछौँ । लाङटाङ चिहान पनि हो, जसले मृत्युलाई आफ्नो गर्भमा सुताइरहेको छ । 

मैले उक्त घटना त्यहाँको एक स्थानीय वृद्धासामू निकालेको थिएँ । उनको अनुहारको छाला नमज्जासँग मुजा परेको थियो । मैले तुरून्तै विषान्तर गर्दै स्याप्रुबेसीबाट नै हाम्रो विपरित कुँदिरहेको खोलालाई देखाउँदै सोधेको थिएँ, “आमा, यो खोलाको नाम के हो ?” 

उनले रिसाउँदै भनेकी थिइन्, “के यो मान्छे हो र, नाम हुनलाई ? पानीको पनि नाम हुन्छ ?” 

सायद मैले घाउको पाप्रा उप्काएको थिएँ । म चुपचाप उनको आँखामा जम्न थालेको लाङटाङलाई हेरिरहेँ, जहाँबाट चुहिएको लाङटाङ खोलाले हामीलाई माथि चेरगोरी ( ४९८४ मि ) सम्मै गीत सुनाइरह्यो । 

उक्त घटनाले गर्दा लाङटाङ पदयात्रा लगभग तीन वर्षसम्म बन्द भएको थियो । घटनास्थलभन्दा केही माथि मृतकहरूका स्मृतिमा स्मारक पर्खाल बानइएको छ, जहाँ दिवंगतहरूका नामहरू कोरिएका छन् । भनिन्छ, त्यो समयपछि त्यस भेगमा बस्ने मान्छेहरूले मासु खान छाडे । उनीहरूको चुल्होमा लसुन र अदुवा पोल्न पनि वर्जित छ । यदि त्यसो गरेको खण्डमा फेरि कुनै अनिष्टकारी प्रकोप आउने विश्वास उनीहरूमा व्याप्त छ ।  

भुकम्पले गर्दा त्यहाँ रहेका केही तातो पानीका पोखरीहरू पुरिसकेका थिए, जहाँ हामीले हाम्रा चिस्सिएका शरीरहरूलाई डुबाउने योजना बनाएका थियौँ ।  

लाङटाङ पदयात्रामा निस्किनुभन्दा पहिले साथीले उक्त ठाउँको बारेमा लिनुपर्ने जति जानकारी र थाहा पाउनु पर्ने इतिहासलाई खोतलेको थियो । हामी बेम्बो ( २२०० मि ) मा पहिलो रात टेन्टमा बिताउँदा उसले सुनाएको थियो, “लाङटाङको नामकरण एक प्राचिन दन्त्यकथाबाट आएको हो । ‘लाङ’ अर्थात् ‘चौरी’ र ‘टाङ’को अर्थ ‘पछ्याउनु’ । तिब्बतबाट झरेको एक लामाले आफ्नो हराइरहेको चौरीलाई खोज्दै जाँदा उक्त उपत्यका फेला पारेको विश्वास छ, जहाँ उनले आफ्नो चौरीलाई मृत अवस्थामा फेला पार्छन् । लाङटाङमा धेरै जसो तामाङहरू बसोबास गर्छन्, जसले तिब्बती बुद्धिजमलाई पछ्याउँछन् । उनीहरूको पुर्खा तिब्बतबाट आएका हुन् ।”

त्यहाँको स्थानिक मदिरा चाख्दै म उसको कुरालाई चाख मानेर सुन्दै गएँ । 

“घोडाहरूको व्यापार गर्नेहरूलाई ‘तामाङ’ भनिदो रहेछ, उनीहरूको व्युत्पत्ति खोज्दै जाने हो भने थाहा पाइन्छ । तामाङ बाहेक यहाँ भोटे र हेलम्बु भेगबाट आएका ओल्मोहरू पनि बस्छन् । उनीहरूले लगाउने गहना र कपडा, बोल्ने भाषा, बस्ने घर, मान्ने रितबाट उनीहरूलाई सजिलैसँग पहिचान गर्न सकिन्छ । त्यहीँबाट उनीहरूको संस्कार र संस्कृति पनि झल्किन्छ । स्याप्रुबेसी ( १५०० मि ) बाट तन्किएर लगभग ७२०० मि को उचाईसम्म पुगेको लाङटाङ उपत्यका नेपालका ठुला र सुन्दर उपत्यकाहरूमा पर्छन् ।” 

चाडपर्वको मौका भएर होला पदयात्रामा आउनेहरूको ताती नै थियो । सबैले हामीले जस्तै आ-आफ्ना फोक्सोमा उत्साह र उल्लास भरेर आएका थिए । त्यहाँ कोही पहिलोपटक आएका थिए, आफ्ना पैतालाका डोबहरू छाड्न । कोही आएका थिए दोर्याएर, आफ्नै निसानहरूलाई खोज्न । बाटोमा हामीसँगै खच्चरहरू पनि थिए, जसले हाम्रा सुविधाहरूलाई बोकेर हिंडिरहेका थिए । उकालो चढ्न अभ्यस्त भइसकेका अभिशप्त ती खच्चरहरूलाई धपाउँदै हिंडिरहेको सेर्पा दाईलाई मैले सोधेको थिएँ, “दाई, एउटा खच्चरले कति तौलसम्म बोक्न सक्छ ?”

उसले भनेको थियो, “५० देखि ६० केजीसम्म ।”

मेरा थप प्रश्नहरूमा धाँगोमा फूल उने जसरी उसले जवाफ उन्दै गयो, “एउटा खच्चरको भाडा १५०० देखि ३५०० सम्म हो । कहाँसम्म पुग्ने भन्ने हुन्छ । मान्छे र ग्याँसको सिलिण्डर बोकेको छुट्टै पैसा हुन्छ । म स्याप्रुबेसीबाट उक्लिएको हुँ, दसैँ-तिहारको बेला पैसा कमाउन । खच्चरहरूको गोठालो हुन ।” 

यसरी आफू बसिरहेको कृत्रिम कंक्रिट सहरबाट केही पर प्रकृतिको काखमा कोरिएका बाटाहरूमा ओछ्छिएको तिनै खच्चरहरूको गुँको गन्ध पनि मिठो लाग्ने रहेछ । मलाई लाग्थ्यो, हिंड्दा सबैभन्दा धेरै माया आफ्नो पैतालाको लाग्छ । बाटो र गन्तव्यको लाग्छ । तर, मैले थाहा पाउँदै गएँ, सबैभन्दा धेरै माया बाटोमा भेटिएका कहानीहरूको लाग्दो रहेछ । पदयात्राभरि साथ दिएको एउटा जाबो लौरोको पनि कस्तो माया लाग्छ, म शब्दहरूमा अनुबाद गर्न सक्दिनँ । 

खच्चर गोठालो जस्तै त्यहाँ हाम्रो सेवामा विभिन्न ठाउँबाट ( सिन्धुलीदेखि काभ्रेबाट ) मान्छेहरू आएका थिए, कोही गाइड बनेर । कोही पोर्टर भएर । कोही त्यहाँका होटल, टि-हाउसहरूमा काम गर्न । व्यापारको मौसममा त्यहाँ थुप्रैले रोजगार पाएका छन् । 

मैले अधिकांश पदयात्रीहरू यस्तो भेटेँ, जो एक्लै आएका थिए । उनीहरू सबैबाट मैले लगभग एउटै किसिमको कुरा सुनेँ, “एक्लो आएपछि कसैलाई पर्खिनु पर्दैन । आफ्नो हिंडाइको गति अरू कसैसँग मिलाउनु पर्दैन । आफ्नो भारी बाहेक अरू कसैको जिम्मेवारी बोक्नु पर्दैन । रोकिएर कसैको फोटो अथवा भिडियो खिचिरहनु पर्दैन । तर, यस्तो यात्रामा कहिल्यै एक्लो भइदैन । पदयात्रामा सबैभन्दा असल साथी अरू पदयात्रीहरू भइदिन्छन् ।” 

हामी काठमाडौँबाट त्रिशुली नदीको किनार-किनार, मनास्लु र गणेश हिमाललाई हेर्दै-हेर्दै लगभग ७ घण्टामा झरेका थियौँ, स्याप्रुबेसी । खाजा र केहीबेरको आरामपछि जोस-जाँगर लिएर उकालो चढ्न थाल्यौँ । केही समयसम्म हामीलाई हाम्रा खुट्टाले होइनन्, उत्साहले हिंडाइरह्यो । हिंडेको ३-४ घण्टापछि हाम्रा शरीरहरू गलित हुन थाले । ठाउँ-ठाउँमा रहेका होटल व्यवसयीहरूले आफ्नो होटलमा बस्छन् कि भनेर जङ्गलमा भालुको डर देखाए । तर हामीले मन बनाइसकेका थियौँ, पहिलो रात बेम्बोमा बिताउने । दोस्रो रात रिभरसाइडमा ( २७७० मि ) र तेस्रो रात लाङटाङ भ्यालीमा ( ३४३० मि ) । 

रातले आफूलाई घना जङ्गलमा चाँडैनै पसाइसकेको थियो । मोबाइलको बत्तिले अन्धकारलाई चिर्दै हामी हिंडिरह्यौँ, मनभरि भालुको डर लिएर । कहिले लङ्गुर बाँदरहरू डाँकू भएर हाम्रो बाटो रोक्न आउँथे, कहिले माथिबाट हुँत्तिदै आइरहेका घोडा र खच्चरहरूले तर्साउँथे । ठाउँ-ठाउँमा गएको पहिरोले हामीलाई त्रासित पार्थे । भय र थकाइलाई कैयौँपटक मारेपनि हामीले हाम्रो इच्छा शक्तिलाई मर्न दिएका थिएनौँ । यसरी हामीले रिम्चे, ( २४८५ मि ) घोडातबेला, ( ३०३० मि ) लाङटाङ गाउँ, ( ३४३० मि ) क्यानजिङ्ग गोम्पा, ( ३८३० मि ) क्यानजिन-रि ( ४४०० मि ) हुँदै लाङटाङ पदयात्रालाई मात्र ‘छ’ दिनमा सक्यौँ । 

हामीलाई हिंउको टोपि लगाएर उभिरहेका लाङटाङ, लाङटाङ लिरूङ्ग र याला पिकले जिस्काइरहे । तिनीहरूलाई स्पर्श गरेर आएको हावालाई हामीले फोक्सोमा भर्यौँ । क्यामराले भन्दा हृदयले आफ्नो फ्रेममा मनोरम दृश्यहरूलाई कैद गरिरहेको थियो । परपरसम्म फैलिएको चौरी-खर्क, चिज-फ्याक्ट्री, चौरीको सुकुटी, लोकल सि-बक थ्रोन जुस र मदिरा, गीत सुनाइरहने खोला, हत्केला जस्तै बाटो, सम्मोहन पार्ने जङ्गल, हाँसिरहने हिमाल, हिंउको प्रतीक्षामा बसेका पहाड, शान्त गुम्बा, झुलिरहने जङ्गली फूल, लाङटाङको मीठो आतित्थ सबै-सबै सम्झन लायक छन् । 

अझै यात्राभरि अन्य पदयात्रीहरूका अरू पदयात्राका अनुभवहरू र बास बसेको होटलमा आगो ताप्दै गाइड र पोर्टरका अनेकन् कथा-किस्साहरू सुन्नुको मज्जा बेग्लै । हिमालको हात समाउँदै राति आकाशमा झुण्डिएको चन्द्रमा हेर्नुको अपरिभाषित अनुभूति । बिहान लाङटाङबाट चिहाउँदै जन्मिएको नवजात सूर्यलाई ताप्नुको आनन्द । खर्कमा बसेर चौरीहरू चरिरहेको हेर्नुको रमाइलो । पर्वतहरूको बिचमा उभिएर ध्यानमग्न हुनु, ओहो !

लाङटाङ पदयात्रालाई ‘अन्नपूर्ण बेस क्याम्प’ र ‘एभरेष्ट बेस क्याम्प’ पछि धेरै हिंडिने मार्ग मानिदो रहेछ । प्रकृतिको सुन्दर रूप हेर्न लाङटाङ पदयात्रा सजिलो र आनन्दयुक्त छ । 

हरेक अनुभव र अनुभूतिहरूलाई लिपिबद्ध गर्न नसकिने रहेछ । त्यसैले लाङटाङ पदयात्राको हर्षपूर्ण कथा म सबै अभिव्यक्त गर्न असमर्थ छु । 

पदयात्राबाट फर्किदा अनुभव र स्मृतिहरू मात्रै होइन, मैले थुप्रै कहानीहरू बोकेर आएँ । पछि कुनै समय फेरि त्यहाँ फर्केर जाने बहाना छाडेर आएँ । म त्यहाँ पुगेँ, जहाँ योभन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो । 

Related Articles

Leave a Reply

Close