अनाम लेखक : एलेना फरान्टे
‘घर छाड्नुभन्दा दुई वर्षअघि बुबाले आमालाई भन्नुभएको थियो, म धेरैनै कुरूप छु भनेर ।’
यो पहिलो पङ्क्ति हो, ‘एलेना फरान्टे’को सन् २०१९ मा प्रकाशित उपन्यास ‘द लाइङ्ग लाइफ अफ एडल्टस्’को, जुन मलाई साथीले पढेर सुनाएको थियो । म उपन्यासको उक्त हरफ सुनेरै तरङ्गित भएको थिएँ, कसरी कसैले आफ्नै सन्तानको बारेमा त्यतिसम्मको घृणित शब्द ओकल्न सक्छ ? साथीले त्यो किताब पढेर भर्खरै मात्र सकेको थियो । उसले त्यसपछि मलाई किताबको बारेमा बयान-बखान गर्न थाल्यो । पढ्नको निमित्त बल गरेरै सिफारिस गर्यो । मैले उसको सिफारिसलाई आफ्नो वकेट लिस्टमा थन्काएँ । ‘एलेना फरान्टे’को नाम मैले त्योभन्दा पहिले कैयौँपटक सुनिसकेको थिएँ, साथीहरूकै माझमा, एउटा अनाम-गुमनाम लेखक भनेर । त्योबाहेक उनको बारेमा मलाई कहिल्यै कोट्याउन जाँगर चलेन ।
केहीदिन अघि मात्रै, प्रसिद्ध अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ले एक्काइसौं शताब्दीको पहिलो पच्चीस वर्षमा प्रकाशित भएका उत्कृष्ट सय पुस्तकहरूको सूची सार्वजनिक गरेको थियो । उक्त सूची ५०३ जना उपन्यासकार, ननफिक्सन लेखक, कवि, समीक्षक र पुस्तक प्रेमीहरू माझ गरिएको सर्वेक्षणबाट तयार पारिएको थियो । सूचीको पहिलो नम्बरमा तिनै इटालियन लेखक ‘एलेना फरान्टे’को २०१२ मा प्रकाशित उपन्यास ‘माई ब्रिलियन्ट फ्रेन्ड’ पर्न सफल भएको छ । सूचीमा उनका अन्य दुई पुस्तक पनि समाविष्ट छन्, ‘द डेज अफ अबान्डोनमेन्ट’ र ‘द स्टोरी अफ द लस्ट चाइल्ड’ ।
‘एलेना फरान्टे’ उनको ‘छद्म नाम’ हो । ‘छद्म नाम’ अर्थात् ‘सुडो–नेम’ । ‘पेन- नेम’, जुन मान्छेहरूले अक्सर आफ्नो कामको निमित्त प्रयोग गर्छन्, वास्तविक परिचय तथा पहिचान लुकाउन । ‘एलेना फरान्टे’ को हुन्, कसैलाई थाहा छैन । उनले अहिलेसम्म बाह्रवटा किताब प्रकाशित गरिसकेकी छिन्, सोही नाममा । उनको ‘नेपोलिटन’ श्रृंखलामा पर्ने चार किताब- ‘माई ब्रिलियन्ट फ्रेन्ड’, ‘द स्टोरी अफ ए न्यु नेम’, द स्टोरी अफ द लस्ट चाइल्ड’ र ‘दोज हु लिभ एण्ड दोज हु स्टे’ संसारभर चर्चित र धेरै बिक्री हुने किताबहरूमा पर्छन् ।

मभित्र एकाएक ‘एलेना फरान्टे’प्रतिको चासो हुर्किदै जान थाल्यो । म उनलाई खोताल्न थालेँ । उनको सु-प्रसिद्ध किताब ‘माई ब्रिलियन्ट फ्रेन्ड’ खोज्न किताब घरहरूमा चहार्न थालेँ । तर, कतै भेटिनँ । सायद न्यूयोर्क टाइम्सले निकालेको सूचीले गर्दा बजारमा उक्त किताबको अभाव भएको मैले अनुमान लगाएँ । तर, मेरा केही परम मित्रहरूले ( सबै महिला ) सूची आउनुभन्दा अघिनै ‘फरान्टे’का किताबहरू लगभग सबै किनेर राखिसकेका रहेछन् । उनीहरू फरान्टेका ‘डाई-हार्ड’ प्रशंसक हुन् । मैले वान अफ माई फ्रेन्डलाई पढ्नको लागि ‘माई ब्रिलियन्ट फ्रेन्ड’ मागेँ । उसले दिई । म फुरूङ्ग भएँ ।
‘एलेना फरान्टे’को वास्तविकता के हो भनेर साहित्यकाशमा अनेक थरिक अनुमान, अड्कल, आकलन बेलाबेला उडिरहन्छन् । सन् २०१६ मा टाइम म्यागजिनले सार्वजानिक गरेको सय प्रभावशाली व्यक्तित्वहरूमा उनी अटाउन सफल भएकी थिइन् । अहिले उत्कृष्ट सय पुस्तकहरूको सूचीमा उनको तीनवटा किताब परेपछि उनको परिचय र पहिचानलाई लिएर पुन: चर्चा चुलिएको छ ।
उनी को हुन् त ? सन् २००३ मा उनको प्रकाशित गैरआख्यान ‘फ्र्यान्टिमालिया : अ राइटर्स जर्नी’बाट हामीलाई उनको पृष्ठभूमिको बारेमा केही हदसम्म जानकारी प्राप्त हुन्छ । उक्त किताब उनका पत्र, निबन्ध, संस्मरण र अन्तर्वार्ताहरूको दस्तावेज हो । उक्त किताबबाट थाहा पाइन्छ, ‘नेपल्स’मा हुर्केकी उनी लामो समयसम्म इटलीभन्दा बाहिर बसेकी थिइन् । आफू सूचीकारकी छोरी हुन् भनेर उनले त्यसमा खुलाएकी छिन् । उनका प्रकाशित कामहरू र अन्तर्वार्ताबाट पनि अनुमान लगाउन सकिन्छ, उनी त्यो समयसम्म अविवाहित थिइन् ।
उनले समयसँगै बिस्तारै आफ्ना केही व्यक्तिगत विवरणहरू पनि खुलाउँदै गइन् । उनले आफू विवाहित र आमा भइसकेकी जानकारी दिइन् । उनले ‘आवश्यक परेको बेला आफ्नो व्यक्तित्व, भावना-विचार र दबाबलाई जोगाउन’ सत्यलाई झुटो भनेर बोलेको स्वीकार पनि गरिन् । आफ्नो वास्तविक परिचय नखुलाउनको प्रारम्भिक कारण लजालुपन हो भनेर उनले सन् २०१५ मा आफ्ना सम्पादकहरूलाई अन्तर्वार्ताको क्रममा बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म आफ्नो आवरणबाट बाहिर निस्किनुपर्छ भन्ने सोचेरै डराउने गर्छु । म लजालु स्वभावकी छु ।’ तर, उनको यो कार्य भनौं अथवा निर्णय मानौँ, धेरैले भने यसलाई कलात्मक तथा दार्शनिकताको बिम्ब मान्ने गर्छन् ।
मान्न सकिन्छ, उनी ऐकान्तिक मान्छे हुन्, तर ओझेलमा रहेर सबैलाई निरन्तर रूपमा नजिकबाट नियालिरहेकी छिन् । उनले एक वर्षसम्म ‘द गार्डियन’मा स्तम्भ लेख्ने काम गरिन् । विभित्र इटालियन अखबारहरूको लागि लामो अन्तरालसम्म लेखिरहिन् । उनले ‘फ्र्यान्टिमालिया : अ राइटर्स जर्नी’मार्फत् भनेकी छिन्, उनको र पत्रकारहरूबीच बेला मौकामा पत्राचार भइरहन्छ । उनी अन्तर्वार्ताहरूमा आफ्नो नियमित काममा बारेमा, लेखनीमा कसैको परेको प्रभाव, प्रेरणा तथा आफ्नो अबस्था र आफू त्यसरी लुकिरहनु पर्ने कारण विरोधाभासपूर्ण तरिकाले खुलाइरहन्छिन् ।

‘एलेना फरान्टे’को लामो समयदेखिको नजिकका साथी हुन्, ‘सान्द्रा ओज्जोला’ । उनी इटालियन प्रकाशन गृह ‘Edizioni E/O’का सम्पादक हुन्, जसले दशकौंदेखि ‘फरान्टे’को कामलाई प्रकाशित गर्दै आएकी छिन् । सबैको भनाइ अनुसार ‘ओज्जोला’ ‘एलेना फरान्टे’का मुख्य संरक्षक पनि हुन् । उनले ‘फरान्टे’को गोपनीयतालाई सुरक्षा दिएकी छिन् । ‘फरान्टे’का कामहरूलाई अमेरिकामा प्रकाशित गर्ने प्रकाशन गृह ‘Europa Editions’का प्रमुख सम्पादक ‘माइकल रेनोल्ड्स’लाई पनि थाहा छैन, वास्तवमा ‘फरान्टे’ को हुन् भनेर । न त उनी जान्न इच्छुक नै छन् । उनी भन्छन्, ‘मलाई यसमा कुनै प्रकारको चासो छैन । दश वर्षसम्म कसैले चासो राखेनन् पनि । तर, मिडियाहरूलाई कथा चाहिएको छ । किनभने ‘फरान्टे’को यो कथा मिडियाको निमित्त उत्कृष्ट कथा हो । तर, उनका धेरैजसो पाठकहरूलाई भने उनीभन्दा उनका किताबहरूप्रति बढी रूचि छ ।’
‘फरान्टे’को वास्तविक पहिचान उनको लामो समयदेखिको अंग्रेजी अनुवादक ‘एन गोल्डस्टीन’लाई समेत थाहा छैन, जसले ‘फरान्टे’लाई विश्वव्यापी रूपमा लोकप्रिय बनाउन मद्दत गरिन् । ‘फरान्टे’को काम सम्हाल्न थालेको लगभग बिस वर्षभन्दा धेरै अवधिमा पनि उनले आधा दर्जनभन्दा कम इमेल पठाएकी छिन्, ‘फरान्टे’लाई । उनी भन्छिन्, ‘मैले अहिलेसम्म थुप्रै मरेका लेखकहरूको अनुवाद गरेकी छु । त्यसैले म यस्ता कुराहरूसँग अभ्यस्त भइसकेकी छु । मलाई यी सामान्य लाग्छन् ।’
‘फरान्टे’को वास्तविक परिचय तथा पहिचानको बारेमा धेरैले दुई व्यक्तिहरूमा आफ्ना अनुमान केन्द्रित गर्छन्, ‘अनिता रजा’ र उनका पति ‘डोमेनिको स्टार्नोन’ ।
लामो समयसम्म ‘अनिता रजा’ले, प्रकाशन गृह ‘Edizioni E/O’का लागि अनुवादक तथा सम्पादकका रूपमा काम गरेकी थिइन् । सन् २०१५ देखि धेरैले मान्न थालेका छन्, ‘अनिता रजा’नै ‘एलेना फरान्टे’ हुन् । यतिसम्म कि एक इटालियन गसिप साइटले ‘फेरान्टेको वास्तविक नाम अनिता रजा हो भन्ने कुरा कुकुर-बिरालोलाई समेत थाहा छ’ भनेर लेखेका थिए । यो अनुमान-आकलन पहिले इटालियन साहित्यिक वृत्तमा मात्रै फैलिएको थियो । सन् २०१६ अक्टोबर पछि यो हल्ला संसारभर छरियो, ‘एलेना फरान्टे’को वास्वविक नाम ‘अनिता रजा’ हो भनेर । एक इटालियन पत्रकार ‘क्लाउडियो गट्टी’ले झन् आफूले गरेको अनुसन्धानबाट ‘रजा’नै ‘एलिना’ भएको दाबी समेत गरे । उनको अनुसार उनी त्यो निष्कर्षमा पुग्नको लागि एलेनाको सम्पत्ति र वित्तीय अभिलेखहरूको विश्लेषण गरेका थिए । उनले रजा परिवारको इतिहास समेत पल्टाएका थिए ।
धेरैले जस्तै पत्रकार ‘क्लाउडियो गट्टी’ पनि फरान्टेको ‘छद्म-नाम’लाई ‘मार्केटिङ टुल’को संज्ञा दिन्छन् । उनी मान्छन्, फरान्टेको लेखनी र कामलाई सुक्ष्म तरिकाले बुझ्न उनको वास्तविक पृष्ठभूमि जान्न जरुरी छ । उनका अधिकांश किताबमा मुख्य महिला पात्रहरू बलिया हुन्छन्, जसले हरेक कठिन चुनौतीहरूलाई पार गर्दै जान्छन्, ठ्याक्कै अनिताको आमाजस्तै । उनले त्यो रिपोर्टिङ आफू काम गर्न इटालियन पत्रिकामा प्रकाशित गरेका थिए ।
फरान्टे र उनका प्रकाशकले क्लाउडियो गट्टीको दाबीलाई झुटो भनेर तुरून्तै खारेज गरेका थिए । जसको परिणास्वरूप धेरैले गट्टीको अनुसन्धानलाई फरान्टेको गोपनीयताको अनावश्यक उल्लंघन गरेको भनेर गाली गरे । कुनै समय कतै फरान्टेले भनेकी थिइन्, ‘म गोपनीयताबिना लेख्न सक्दिनँ ।’ अर्की लेखिका ‘जेनेट विन्टरसन’ले ‘फरान्टे’को समर्थनमा ‘द गार्जियन’मा लेखेकी थिइन्, ‘यसरी अरूको ( एलेना फरान्टे ) गोपनीयतालाई सबैसमक्ष नङ्ग्याउनु हिंसात्मक तथा असभ्य व्यवहार हो । यसले उनलाई सृजनात्मक रूपमा नष्ट गर्न सक्छ । त्यसैले यो जाना-जानी गारिएको दु:खदायी कार्य हो ।’
‘क्लाउडियो गट्टी’ अझै पनि विश्वस्त छन्, आफ्नो रिपोर्टिङमा । उनी भन्छन्, ‘म कहिल्यै अनुसन्धानात्मक लेखहरू प्रकाशित गर्दिनँ, जबसम्म म आफूले लेखेका कुराहरूमा विश्वस्त हुँदिनँ । मैले तयार पारेको ‘फरान्टे / रजा’ सम्बन्धी लेखको हकमा पनि यही लागु हुन्छ ।’ उनले अर्को सम्भावना पनि प्रस्तुत गरेका छन्, ‘रजा’ र उनका पति ‘डोमेनीको स्टार्नोन’ दुबैले सहकार्य गरेर फरान्टेका किताबहरू लेखेका हुन् भनेर । उनी भन्छन्, वास्तवमा उनीहरू दुबै संयुक्त रूपमा फरान्टे हुन् ।
रजाको पति ‘स्टार्नोन’ आफैंमा इटालीका प्रख्यात लेखकहरूमध्ये एक सम्मानित लेखक हुन् ।
‘क्लाउडियो गट्टी’का तर्क र सम्भावनालाई पुष्टि गर्न अन्य केही साहित्यिक अनुसन्धानकर्ताहरूले फरान्टे र स्टार्नोनका कृतिहरूबिचको विषयगत समानताहरूलाई केलाउँदै नोट गरेका थिए । स्टार्नोनले पनि आफ्ना कहानीहरू युद्धपछिको नेपल्समा कोर्ने गर्छन्, जहाँ उनले प्रायः विवाहको जटिलताहरूलाई चित्रण गर्छन्, फरान्टेले जस्तै । स्टार्नोनको किताब ‘टाइज’ र फरान्टेको ‘द डेज अफ एब्यान्डमेन्ट’बिच धेरै समानता भेटिन्छन्, आधारभूत कथानकदेखि स-साना तर गहिरा विवरणहरूसम्म । सन् २०१८ मा एक शैक्षिक लेख प्रकाशित भएको थियो, फरान्टेको कामलाई विश्लेषण गर्दै । उक्त लेखमा स्टार्नोननै फरोन्टे हुन् भनेर लेखिएको छ । चालीस समकालीन लेखकहरूको भाषिक शैली तथा लेखन नमूनाहरू जाँचेपश्चात् स्टार्नोननै फरान्टे हुन् भन्ने निष्कर्ष त्यसमा छ । उक्त लेखमा फरान्टेका कृतिहरूसँग सबैभन्दा मिल्दोजुल्दो स्टार्नोनका उपन्यास तथा लेखनी छन् र समयसँगै ती झन्झन् एउटै र उस्तै हुँदै गइरहेका छन् भनी उल्लेखित छ ।
स्टार्नोन भने आफूतिर त्यर्सिएका तर्कहरू सुनेर-पढेर अचम्मित पान्छन् । उनी भन्छन्, ‘यदि म अथवा मेरि श्रीमती फरान्टे हौं भने, हामी किन यसरी छायामा लुकेर बस्छौं होला र ? हामी एउटा अन्तर्राष्ट्रिय पहुँच भएको लेखकले पाउने सम्मान र प्रेमको फाइदा पक्कै उठाउने थियौं ।’
फरान्टेका धेरैजसो प्रशंसकहरूले उनी महिला नै हुन् भन्ने ठानेका छन् । किनभने उनले जुन तरिकाले महिला पात्रहरूको संवेदनशीलता र प्रवृतिलाई सूक्ष्म तरिकाले चित्रणले गर्छिन्, पुरूषले सायदै गर्न सक्छन् ।
सन् २०१४ मा एक इमेल अन्तर्वार्तामा, ‘Entertainment Weekly’ले फरान्टेलाई सोधेको थियो, ‘आफ्नो पहिचान नखुलाउँदा के तपाईँ कहिल्यै पछुताउनु भएको छ ? कहिलेकाहीँ तपाईँभित्रको अहंकारलाई पनि झ्याल खोलेर भन्न लाग्दो हो – ‘मै हुँ, जसले यो संसारको सिर्जना गरेकी हुँ’ भनेर !’ प्रतिउत्तरमा फरान्टेले तीखो जवाफ दिएकी थिइन्, ‘म घरको माथिल्लो तलामा बस्छु । मलाई उचाईदेखि डर लाग्छ । त्यसैले मभित्रको अहंकारले कहिल्यै झ्याल खोल्ने हिम्मत गर्ने छैन ।’
फरान्टेले आफूले आफैंलाई जुन तरिकाले, जस्तो रूपमा प्रस्तुत गर्न मन लाग्छ, त्यो अनुमति उनलाई छ । उनले आफूलाई जसरी अभिव्यक्त गर्छिन्, त्यो उनको स्वतन्त्रता हो । उनको निर्णयलाई हामी सबैले सम्मान गर्नुपर्छ । साहित्यको इतिहासलाई उद्दिन्ने हो भने फरान्टेमात्रै एक्ली लेखिका हैनन्, जसले आफ्नो पहिचानलाई लुकाएकी छिन् । विगतमा विभिन्न कारणले ( राजनैतिक, पारिवारिक, व्यक्तिगत ) गर्दा लेखकहरूले आफ्नो पहिचान लुकाएर आफ्ना कामहरू प्रकाशित गरेका छन् । तर, कुनै कालखण्डमा पुगेर अधिकांशले आफूलाई सार्वजनिक पनि गरेका छन् ।
तथ्यांक पल्टाएर हेर्ने हो भने थाहा पाइन्छ, विगतमा महिला लेखकहरू धेरै छन्, जसले पुरूषको नाम राखेर आफूलाई प्रकाशित गरेका छन् । समय तथा परिस्थितिको सीमा, उठान गरिएको विषय, रूचिको साहित्यक विद्या तथा अन्य विभिन्न कारणहरूले गर्दा उनीहरूले आफ्ना वास्तविक परिचयलाई लुकाएर पुरूष नाम प्रयोग गरेका छन्, ताकि उनीहरूको कामलाई विना कुनै रोकटोक छापियोस् । कतै-न-कतै तिनीहरूकै प्रतिभा र सिर्जनशीलता विश्व साहित्यको इतिहासमा प्रमुख योगदानहरूको लागि जिम्मेवार छन् ।

सन् १९२९ मा ‘भर्जिनिया वुल्फ’ले आफ्नो निबन्ध ‘अ रूम अफ ओन्स् ओन’ मार्फत् चिन्ता व्यक्त गरेकी थिइन्, ‘विलियम सेक्सफियरको पालामा किन कोही महिला लेखकको कुनै सिर्जना छैन ?’ जुनैसुकै कालखण्ड अथवा क्षेत्र होस्, पुरूषलाई जस्तो सहज महिलालाई कहिल्यै भएन । सन् १८१८ मा प्रकाशित ‘Frankenstein’ उपन्यास १८ वर्षीय ‘म्यारी शेली’ले लेखेकी हुन्, अनाम भएर । त्यसको तीन वर्षपछि उपन्यासको दोस्रो संस्करणबाट बल्ल लेखिकाले आफ्नो परिचय खुलाएकी थिइन् । १९ औं शताब्दीको अर्की चर्चित लेखिका ‘Amantine Aurore Lucile Dupin’ पनि पुरुषको नाम पछाडि लुकेकी थिइन् । तर, उनको त्यस कार्य आफ्नो पहिचान लुकाउनका निमित्त थिएन । उनी पितृसत्तात्मक समाजसँग विद्रोह गर्न चाहन्थिन् ।
‘The Brontë sisters’ लाई नपढ्ने अथवा नचिन्ने सायदै होलान् । ‘Charlotte Brontë’ (author of Jane Eyre), ‘Emily Brontë’ (author of Wuthering Heights), र ‘Anne Brontë’ (author of The Tenant of Wildfell Hall) उनीहरू सबैले पनि आफ्ना लेखन यात्रा क्रमशः ‘Currer’, ‘Ellis’, र ‘Acton Bell’ ( The Bell Brothers ) पुरुष नामबाट गरेका थिए । त्यो समय र समाजमा उनीहरूले उठान गरेका विषयहरू ( विवादास्पद प्रेम सम्बन्धहरू, मद्यपान, हिंसा… ) लाई आपत्तिजनक तथा अनैतिक मानिन्थ्यो । आज, ती तीन बहिनीका उपन्यासहरू साहित्यको इतिहासमा महत्त्वपूर्ण स्थानमा उच्चतम कलाको रूपमा गनिन्छन् ।
नाम हुनेहरू बदनाम हुन्छन् । मान्छेहरू भन्ने गर्छन्, नाममा के राखेको हुन्छ र ? त्यसोभए कुनै बुबाले आफ्नो छोराको नाम ‘रावण’ किन राख्दैन ? अहिले समयले नाम होइन, बरू थर खोज्छ । तर, मान्छेहरू ‘थरमा के राखेको हुन्छ र ?’ भनेर भन्ने हिम्मत देखाउदैनन् ।
एलेना फरान्टे को हुन् भनेर मैले आफूभित्र चासो हुर्काइरहनु सायद उचित होइन । नाम भन्दा ठूलो कर्म हो, त्यसैले यदि फरान्टेलाई भविष्यमा नोबेल पुरस्कारबाट सम्मानित गरियो भने म अचम्मित हुनेछैन । पाठकले लेखकलाई भन्दा धेरै प्रेम उनीहरूको सिर्जनालाई गर्नुपर्छ, त्यसैले अहिले म ‘माई ब्रिलियन्ट फ्रेन्ड’को पन्ना पल्टाइरहेको छु ।