FEAR

* चार महिना अगाडि *
एउटा साथी म कहाँ आयो । केही समयमा फर्काउने शर्तमा पढ्नलाई एउटा किताब माग्यो । यस्तो लाग्यो, उसले मसँग मेरो आत्मा माग्यो । भित्री ‘म’ले दिन चाहेन । अँह, कत्ति पनि चाहेन / मानेन । बाहिरी ‘म’ले मुख बिगार्दै ‘हुन्छ’ भन्यो ।
“कुन किताब ?” मैले सोधेँ ।
“पढ्न सजिलो कुनै किताब ले’न,” साथीले दाँत देखायो । “लभ स्टोरीवाला !”
भित्री ‘म’लाई लागिरहेको थियो, साथीलाई प्वाक्क मुखमा हानिदिऊँ र भनिदिऊँ, “साले, आफैं किनेर पढ्न सक्दैनस् !”
बाहिर ‘म’ले फेक मुस्कान ओठमा झुन्डायो ।
“एउटा शर्तमा मात्रै दिन्छु,” मैले भनेँ । “किताब पुरै पढ्नुपर्छ । सोध्छु’नि तलाईं म फेरि !”
उत्साहित हुँदै साथीले टाउको हल्लायो ।
“के म त्यसको टाउको छिनाइदिउँ ?” भित्री ‘म’को अनुहार रिसले रातो भयो ।
मान्छेहरू आफैं किताब किनेर किन पढ्दैनन् ? किन अरूकै माग्छन् ? अझ, मागेर / लगेर नफर्काउनेहरू ! उफ, कम्ता रिस उठ्दैन ! मलाई ती मनुवाहरू कच्चा पाठक लाग्छन् । सच्चा पाठकहरू त आफैं किन्छन् / पढ्छन् । होइन र ? कि मैले गलत भनेँ ? अझै राम्रा किताबहरू त साथीहरूले म पढ्न दिन्छु भन्दा पनि म लिन मान्दिनँ । आफैं किनेर पढ्छु ।
आफ्नो बुक सेल्फमा एकछिन घोरिएँ । पाउलोको ‘इलाभेन मिनेट्स’ निकालेँ । मुख बिगार्दै साथीलाई किताब थमाइदिएँ ।
साथीले फेरि बिग्रेको दाँत देखायो, “यो कस्तो छ ?”
“पढ, था’पाई हाल्छस् नि !”
“ल ठिक छ,” साथीले किताब पाइन्टमूनि घुसार्दै भन्यो, “पढ्छु, एक हप्तामा फर्काइदिन्छु ।”
झनक्क रिस उठ्यो ! अबे, किताब कसले पाइन्टमूनि घुसार्छ यार ? साला ! भित्री ‘म’ मज्जाले मुर्मुरियो ।
साथी किताब लिएर बिलायो ।
* चार महिना पछि *
केही घन्टा’मै पढेर सकिने किताबलाई कसले लगाउँछ यार चार-चार महिना ?
चार महिनासम्म मैले उसलाई किताब मागेन । ‘जाबो, एउटा किताबको लागि कत्ति किचकिच गरेको’ सायद साथी यहीँ सोच्थ्यो / भन्थ्यो होला । उसको लागि मात्रै किताब थियो होला मेरो लागि मेरो आत्मा थियो ।
भेट्दा अरू साथीहरूलाई गुनासो / रिस पोखिरहेँ । सायद तिनीहरूले उसलाई भनिदिएको हुनुपर्छ । चार महिना पछि लुरुलुरु हुँदै उसले मलाई किताब सकुशल थमाइदियो ।
“अनि पढिस् त किताब ?” मैले सोधेँ ।
“के पढ्नु यार,” साथीले मुख बिगार्यो । “पढ्ने समयनै मिलेन । व्यस्तको व्यस्तै भै’यो ।”
भित्री ‘म’लाई फेरि रिस उठ्यो । नपढ्ने भए किन मागेको / लिएर गएको ? मान्छेहरू रहर मात्रै गर्छन् ! सपनामात्रै देख्छन् !
अझै पनि कत्ति साथीहरू मैले पढेको देखेर किताब माग्छन् । फिल्म / सिरिज हेरेको देखेर हत्तपत्त SHARET अन गर्छन् । जब किताब / फिल्म / सिरिजका बारेमा डिसकस गर्नको लागि केही समयपछि सोध्छु, “पढिस् / हेरिस् ?”
उनीहरूको बहाना यस्ता हुन्छन्, “भ्याएन / अल्छी लाग्यो / बुझेन आदि / इत्यादी / अनादी ।”
धेरै मान्छेहरू अरूलाई देखेर रहर / सपना जन्माउँछन् । ती रहर / सपनाका आयु कम हुन्छन् । रहर / सपना भनेको आफैंले बुन्ने / देख्ने हो । अरूबाट ‘प्रभाव’ हुनु राम्रो हो, ‘भाव’ पनि अरूकै हुनु एकदमै नराम्रो हो ।
साथीले फर्काएको किताब लिएर म घर फर्किएँ । लाग्यो, मेरो आत्मा फर्कियो । भित्री ‘म’ र बाहिरी ‘म’ दुबैले संयुक्त रुपमा कसम खायो, आइन्दा किताब कसैलाई दिइदैन ।
जब किताब ‘इलाभेन मिनेट्स’ लिएर रुम आएँ, बुक सेल्फ पुरै खाली देखियो / थियो । म तर्सिएँ । यसरी त ‘स्टेफेन किङ्ग’को कुनै फिल्म / किताबले पनि डराउँदैन्थ्यो ।
एउटा बुक आयो तर पुरै बुक सेल्फ रित्तियो ।
किताबको बदलामा किताबहरू !
भित्री ‘म’ र बाहिरी ‘म’ पुरै चकित-अचम्मित !
केही दिन अघि मात्रै दाईले भनेको डाइलग सम्झिएँ, “कत्ति पढ्छस् कथा / उपन्यासहरू मात्रै ! काम छैन तेरो ! किताबनै किताब जम्मा पार्या छ, बस्या छ ! कुन दिन म सब्बै जलाइदिन्छु !”
सरासर दाईको रुममा गएँ ।
चिच्याएँ, “मेरो किताबहरू खोइ ?”
ठुला-ठुला आँखा बनाउँदै मलाई उल्टै झपार्नु’भो, “तेरो किताब मलाई के था ?”
म रोएँ । कराएँ । चिच्याएँ ।
खोइ मेरा त्यत्रा किताबहरू ? कसले लिएर गए ?
भित्री ‘म’ र बाहिरी ‘म’ रुइरह्यो / कराइरह्यो ।
दाईले गालामा हान्दै मलाई ब्युँझाउनु भो । म ब्युझिएँ । पसिनाले निथ्रुक्कै भएको रहेछु । मैले सपना पो देखेको रहेछु । भयानक सपना !
जुरुक्क उठेर आफ्नो बुक सेल्फ हेरेँ । किताबहरू आ-आफ्नो ठाउँमा मिलेर बसेका रहेछन् । साथमा थियो, हिजो भर्खरै चार महिनापछि साथीले फर्काएको किताब- “एलाभेन मिनेट्स” !
***
दुनियाँमा कत्ति धेरै किताबहरू लेखिएका छन् । कहिलेकाहीँ मलाई यस्तो लाग्छ, आफूले पढ्न खोजेका / चाहेका किताबहरू पढ्न नपाउँदै म मर्छु हुँला । कति धेरै फिल्महरू / सिरिजहरू छन् । यिनीहरूलाई हेर्न नपाउदै म मरेँ भने ?
कति धेरै लेख्नुपर्ने / लेखिनुपर्ने कथाहरू / ब्यथाहरू / गाथाहरू छन् ! यिनीहरूलाई नलेख्दै कतै म मरेँ भने ?
यो कस्तो डर ?