सायद त्यसपछि त्यो झ्याल कहिल्यै खुलेन

घर शरीर हो र झ्यालहरू त्यसका आँखा, मलाई यस्तै लाग्थ्यो ।
आँखाले देख्ने, हेर्ने काम मात्रै गर्दैनन् । आँखाले अवलोकन, मूल्याङ्कन पनि गर्छन् । आँखाले सपनाहरूलाई सजाउने, लुकाउने काम पनि गर्छन् । अव्यक्त भावनाहरू अभिव्यक्त गर्छन् । भ्रमहरू कोरल्छन् । कल्पनाहरू सिलाउछन् । संवेदनाहरू पोख्छन् । आँखाले धेरै थोक गर्छन् ।
मेरो कोठासँग अरू कोठाहरूको दाँजोमा सबैभन्दा ठूलो आँखा थियो । झ्याल थियो । म हरबखत शहरलाई त्यही झ्यालबाटै नियाल्ने गर्थेँ । कहिल्यै नहराएको तर पनि कहिल्यै नभेटिएको आफूजस्तै देखिने कोहीलाई त्यहाँको अन्धकार र ओसिलो गल्लीहरूमा खोजिरहन्थेँ । म कहिल्यै नहिंडेको, हिंड्न नसकेको उक्त गल्लीको चिसोपनलाई मेरो पैतालामा रहेको मुटुले महसुस गर्न सक्थ्यो ।
मलाई थाहा हुँदै गयो, मान्छेसँग एउटा मात्रै मुटु नहुँदो रहेछ । शरीरको हरेक अङ्गसँग मुटु हुने रहेछ ।
एक टुक्रा आकाशलाई म त्यही झ्यालबाट आफ्नो आँखामा जमाउन सक्थेँ । आँखामा जमेको आकाशको किनार-किनार पानी बोकेर सल्बलाइरहेका आकार-प्रकारका बादलहरू मेरा हुन्थे । थाहा छैन, शोकमा हो अथवा उत्सवमा हो मन्त्रमुग्ध भएर नृत्य गरिरहेका चराहरू मेरा हुन्थे । आफ्नो धर्म निर्वाह गरिरहेको सूर्य मेरो हुन्थ्यो । आफ्नो सुन्दरता देखाएर आफूतिर सम्मोहित पार्ने चन्द्रमा मेरो हुन्थ्यो । सधैंझैं एकैनासको लाग्ने दिन मेरो हुन्थ्यो । सबै थाहा पाएर पनि अनविज्ञ भएको अभिनय गर्ने रात मेरो हुन्थ्यो । झ्यालबाट देखिने सबै मेरा हुन्थे ।
मैले बुझ्दै गएँ, केही नभएकाहरूले सबैलाई आफ्नो बनाउन खोज्दो रहेछ । कसैको केही नभएको मान्छे सबैको हुन खोज्दो रहेछ ।
झ्यालबाट जति देखिन्थ्यो, मेरो नजरले भ्याएसम्म हेर्थ्यो । म जसलाई, जेलाई झ्यालबाट हेर्न सक्थेँ, तिनिहरूले पनि मलाई सजिलैसँग आफ्नो आँखामा उतार्न सक्थे । हामी एकअर्कालाई त्यही झ्यालको माध्यमबाटै हेर्ने गर्थ्यौँ । भनौँ, म झ्यालबाट अरूसँग जोडिएकी थिएँ, जुन कहिल्यै मेरा हुन सकेनन् । कहिल्यै नजोडिएका हामीलाई झ्यालले नै छुटाएको पनि थियो । सायद झ्याल हाम्रो लागि सिमाना मात्रै थिएन, एकअर्काको दुनियाँसँग संवाद गर्नका निमित्त हाम्रो सञ्चार भइदिएको थियो ।
बाहिर जे छन्, जस्तो छन्, म तिनीहरूलाई झ्यालबाट देख्थेँ । पछि तिनीहरूलाई हेर्न थालेँ । बुझ्दै गएँ, देखिनु र हेर्नु नितान्त फरक रहेछन् । बिस्तारै तिनीहरूलाई मैले अवलोकन गर्न थालेँ । तिनीहरूलाई जाँच्न, तौलिन थालेँ । त्यसपछि तिनीहरूलाई अनुभव गर्न थालेँ । जति धेरै बुझ्दै गयो, त्यति नै धैरै बिझाउदै जाने रहेछ ।
कहिलेकाहीँ म झ्यालबाट बाहिर हेरिरहँदा कुनै रूखबाट अल्पायुमै झरेको हरियो पात आफ्नो पैताला भुइँमा टेक्नुपूर्व नै हावाको हात समाउँदै, उड्दै-उड्दै मेरो झ्यालबाट भित्र पस्थ्यो र मेरो हत्केलामा थपक्क बस्न आउथ्यो । उक्त हरियो पातले मलाई भन्थ्यो, “म पनि तिमीजस्तै छु ।”
मलाई लाग्थ्यो, यसरी संवेगमा आएको पाहुनाले कुनै संदेश ल्याएको छ अथवा केही संकेत देखाएको छ । तर, मेरा संदेहले भरिएका आँखाहरूले तिनीहरूलाई न पढ्न सक्थे, न बुझ्न । पातले मलाई आफूजस्तो कसरी देख्यो ? सोच्थेँ, के म पनि कतैबाट झरेकी हुँ, अल्पकालिन बाँचेर ?
त्यसैगरि कहिलकाहीँ आयु पुगेर झरेको पहेंलो पात मेरो गन्धलाई पछ्याउँदै झ्यालबाट पसेर मेरो शरीरमा टांसिन आइपुग्थ्यो र सुनाउथ्यो, “म पनि तिमीजस्तै छु ।”
मैले उसलाई पनि बुझ्दिनथेँ । आफैंलाई प्रश्न गर्थेँ, के मेरो शरीरमा झुक्किएर बसेको आत्माले अवकाश लिइसकेको हो ?
हावा बहुलाइरहेको बेला, फुस्रो माटोलाई छामिसकेको सुकेको फुस्रो पात पनि मेरो झ्यालमा दस्तक दिन आइपुग्थ्यो र मरन्च्याँसे आवाजमा भन्थ्यो, “म पनि तिमीजस्तै छु ।”
मलाई त्यो बेला लाग्यो, हलुकाहरू मात्रै नउड्ने रहेछन् । हावामा सबैभन्दा धेरै भारी अस्तित्व बोकेकाहरू तैरिने रहेछन् अथवा केहीमा अल्झिएर, अडिएर बसेकाहरू फुत्किएर, फुस्किएर हावामा डुब्ने रहेछन् । मैले बुझ्दै गएँ, गहिराइ सधैं तल र उचाइ सधैं माथि नहुँदो रहेछ ।
झ्यालबाट बाहिर हेरिरहेको बेला मात्रै कति रूखहरूबाट पातहरू त्यसरी नै झर्थे होलान्, चुपचाप-चुपचाप आफ्नो नियतिलाई अँगाल्दै । कति अस्तित्वहरू अद्दश्य भएर तैरिरहेका हुन्थे होलान् । केही पातहरू त रूखमै अल्झिएर बस्दा पनि हुन् । म बुझ्दिनथेँ, तिनीहरू चुपचाप किन झर्छन् अथवा अडिएर बस्छन् ? त्यो मौनता विवशता हो या विद्रोह ? नियति हो या नियम ? उनीहरूको अभिलाषा हो या उनीहरू अभिषप्त छन् ? हुन सक्छ, उनीहरूले एकप्रकारको अभिशाप पाएका हुन् ।
अनि मेरो मौनताले चाहिँ कस्तो अर्थ बोकेको छ ? यसरी सोच्दा, म हांगाबाट खसेर पनि भुइँ नपाएको पातझैं हुन्थेँ ।
कहिलेकाहीँ कुनै अनाम चराको पखेटाबाट फुस्किएको प्वाँख मलाई खोज्दै-खोज्दै मेरो झ्यालबाट भित्र पस्थ्यो । प्वाँखले पनि त्यहीँ प्रश्न बोकेर आउँथ्यो जसको जवाफ मसँग हुँदैन्थ्यो ।
बिहानतिर, सूर्य उदाउनुभन्दा पहिले, पातमा निदाइरहेका शित सुक्नुभन्दा पहिले, पारिजातका फुलहरूले आफूलाई भुइँमा फिंजाइसकेपछि बेला-बेला रङ्गिन पुतलीहरू मेरो झ्यालमा झुम्मिने गर्थे । सायद उनीहरूलाई ईर्श्या लागेको थियो, उनीहरूको भन्दा बढी रङ्ग मैले बोकेकी छु ।
सांझतिर, चन्द्रमा उदाउनुभन्दा पहिले, निदरी आँखामा बस्नुभन्दा पहिले, चराहरू आफ्नो गुँड फर्किसकेपछि बेला-बेला जुन लिएर उड्ने जुनकीरीहरू मेरो झ्यालमा झुम्मिने गर्थे । सायद उनीहरूलाई जलन भएको थियो, उनीहरूको भन्दा चम्किलो जून मसँग छ ।

म झ्यालमै बसेर आफ्नो जीवनका अनेक आयामहरूलाई आरामले नियालिरहेकी थिएँ । यस्तो अलिखित कहानी जसलाई मैले सकसले समिक्षा गरिरहेकी थिएँ ।
कहिलेकाहीँ सोच्थेँ, म ठिक छु । सामान्य छु । अपाङ्गता भएर जन्मिनु मेरो पोल्टामा परेको भाग होइन, न त मेरो भाग्य नै हो । न कुनै पाप हो, न मेरो दुर्भाग्य । न कसैको दोष हो, न त दोख । न म अपवाद थिएँ, न त कसैको आशिर्वाद । म जे जस्तो थिएँ, बस् थिएँ । यो केही होइन । यसले कुनै प्रश्न गरेको छैन । कुनै प्रकारको जवाफ मागेको छैन । यसको अर्थ छैन । भाषा छैन, परिभाषा छैन । म यसरी बुझ्थेँ । आफूलाई यसरी बुझाउथेँ ।
मेरो झ्यालबाट धेरै थोक आउँथ्यो ।
हावासँगै सम्झनाका ती झोक्काहरू आउने गर्थे, जुन कहिल्यै बनेनन् अथवा बन्न सकेनन् । मैले कहिल्यै बनाउन नसकेका ती सम्झनाहरूलाई म खुब सम्झिने गर्थेँ । झ्यालबाट मलाई त्यो आवाजले पुकारिरहन्थ्यो, जसलाई मैले कहिल्यै देखिनँ, भेटिनँ । जसको रूप, स्वरूपलाई मेरो मस्तिष्कले कहिल्यै आकार दिन सकेन ।
विष बोकेको मेरो शरीरलाई चुम्न उत्साहित, उत्तोजित हुँदै आशाहरू आउँथे, जुन पलभरमै मर्थे, स्खलित हुन्थे ।
केही दिन मैले लगातार एक जोडी अपरिचित पारदर्शी आँखालाई मेरो झ्यालमा अडिएर बसिरहेको देखेँ । मलाई ती विस्फारित आँखाहरूले हेरिरहेका हुन्थे, अपलक । म ती आँखाका भावलाई पढ्न सक्दिन्थेँ, तिनीहरूमा दया लेखिएको थियो अथवा माया ।
के दया देखाउनलाई म त्यति दयनीय थिएँ ? के माया देखाउनलाई म त्यति मायालु थिएँ ? मलाई थाहा थियो, म दुबै थिइनँ । कहिल्यै दुबै हुन पनि सकिनँ ।
मलाई ती आँखाहरूबाट ओझेल हुनु थियो । मैले आफूलाई जोगाउनु थियो, भनौं मबाट उसलाई जोगाउनु थियो । त्यसैले मैले केही दिनलाई झ्याल बन्द गरेँ ।
कहिलेकाहीँ अनाम भएर मलाई लामो पत्र लेख्न मन लाग्थ्यो । अनाम सम्बोधन दिएर कुनै अनाम सम्बन्धलाई पत्र लेख्न मन लाग्थ्यो र झार्न मन लाग्थ्यो कुनै अनाम पत्र-मन्जूषामा । सोच्थेँ, अनाम ठेगानामा पठाएको उक्त पत्र कसले पाउँथ्यो होला ? कसैले त्यो पत्र पढेर मलाई खोज्दै-खोज्दै आउँथ्यो कि ! आफूसँगै लिएर जान्थ्यो कि ! मेरा खुट्टाका नसाहरूमा रगत सञ्चार गराइदिन्थ्यो कि ! जीवन फुकिदिन्थ्यो कि !
त्यसपछि मेरो खुट्टाहरू हिंड्न सक्थे कि ! बाटोमा ओछ्छिएका अरू पैतालाका डोबहरूलाई मेरा पैतालाहरूले स्पर्श गर्न पाउँथे कि ! त्यही अनाम आत्मासँग एउटै गतिमा चालमा-चाल मिलाएर हिंड्न पाउँथे कि !
सपनामा, कल्पनामा मेरा खुट्टाहरू उभिन्थे, अडिन्थे । हिंडिरहेका, दौडिरहेका मेरा खुट्टाहरूको धड्कन म प्रष्टसँग सुन्न सक्थेँ । मलाई पुग्न मन लाग्थ्यो, सबैलाई अँगालो हालेर पनि उदास भएको त्यो एक्लो शहरमा र भर्न मन लाग्थ्यो आफ्नो फोक्सोमा त्यहाँको कोलाहललाई । मलाई त्यहाँ पुग्न मन लाग्थ्यो, जहाँ कोही पुगेका थिएनन् ।
बेलाबेला अनायास भावना आउँथ्यो, मेरा खुट्टाहरू कहिल्यै हिंड्न सक्दैनन् । तिनीहरू कहीँ पुग्न सक्दैनन् । कहिल्यै माटोलाई महसुस गर्न सक्दैनन् । म त्यो बेला यस्तो ग्लानिले खुम्चिने गर्थेँ, जुन ग्लानिलाई स्वरूप दिने गल्ती मैले कहिल्यै गरेकी थिइनँ ।
मेरो आँखामा जमेर बसेको एक टुक्रा आकाशमा चरा भुर्र उड्थ्यो । सायद म हिंड्न होइन, उड्न जन्मिएकी हुँ ।
कहिल्यै दोस्रो सन्तानको इच्छा नगर्नुभएको आमाको कोख भरिदै गइरहेको मैले देखेँ । सायद आमाबुबालाई उहाँहरूको मानसिकतालाई बोकेर हिंड्ने कोही सन्तानको आवश्यक थियो । आफूले विजारोपण गरेको सपनालाई मलजल गर्ने माली चाहिएको थियो । मलाई लाग्यो, म अहिलेसम्म भ्रममा बाँचिरहेकी रहेछु । कुनै पनि आमाबुबाले म जस्तो सन्तान चाहदैनन् । मेरा अपाङ्ग खुट्टाहरू मेरो शरीरलाई मात्रै होइन, आमाबुबाको स्वार्थलाई पनि बोक्न असमर्थ थिए । मलाई छुट्टाउन गाह्रो भइरहेको थियो, मेरो दुनियाँ साँघुरो हो या बाहिरको दुनियाँ संकुचित ?
सायद म सबैबाट छुटिदै गइरहेकी थिएँ । सबैले मलाई छाड्दै गइरहेका झैं लागिरहेको थियो ।
कहिलकाहीँ आकाश चुहिरहेको बेला पानीका केही थोपाहरू बाटो बिराएर मेरो झ्यालबाट भित्र पस्थे र मेरा मृत खुट्टाहरूलाई स्पर्श गर्थे । मलाई ती पानीका थोपाहरू मेरो आँखा पग्लिएर झरेको आँसु झैं लाग्थ्यो । म झन् निमोठिन्थेँ ।
मैले थाहा पाउँदै गएँ, झ्यालबाट आउनेहरू ढोकाबाट कहिल्यै आउन नसक्ने रहेछन् ।
दिन मेरो आँखाबाट बग्ने आँसुको र रात मेरो आँखामा जमेर बसेको अनिन्द्राको साक्षी भएको थियो । थाहा छैन, म कुन प्रहरमा निदाउथेँ अथवा कहिले मुस्कुराउथेँ । म आफैंबाट अपरिचित हुँदै गइरहेकी थिएँ । ओझेल हुँदै गइरहेकी थिएँ । मैले छुट्याउन सकिरहेकी थिइनँ, मभित्र जमेर बसेको आँसुले मलाई डुबाइरहेको थियो अथवा म बाहिरको अन्धकारले ।
मलाई आँखाबाट आँसु नसकुन्जेल रुन मन लाग्थ्यो । शरीर नथाकुन्जेल रुन मन लाग्थ्यो । थकित शरीरलाई निन्द्राले नबेरुन्जेल रुन मन लाग्थ्यो । र म कामना गर्थेँ, मुस्किलले बन्द भएका यी आँखाहरू अब कहिल्यै नखूलुन् । यिनिहरूलाई मभित्र अल्झेर बसेको अलिकति सासले पनि नब्युँझाउन् । तर, हरबखत झ्यालबाट आउने केही न केहीले मलाई झस्काउथ्यो र मेरा आँखा खुल्थे ।
मैले आफूलाई झन् कोठामा कैद गर्ने थालेँ । एकप्रकारले भन्ने हो भने कोठा मेरो लागि परिधि होइन, पिंजडा भएको थियो, जुन हरेकदिन सानो-सानो हुँदै खुम्चिदै गइरहेको थियो । उक्त पिंजडामा बगिरहेको हावाले मलाई न्याक्न थाल्थ्यो । त्यो बेला झ्यालबाट बाहिर देखिने रूखमा टांसिएका पातहरूलाई हेर्थेँ र एक किसिमले फेरि केही पल बाँच्ने अभिलाषा पलाएर आउँथ्यो । लाग्थ्यो, बन्द हुँदै गरेको धड्कन फेरि धड्किदै छ ।
अन्तत: त्यो दिन आयो, जुन दिनको प्रतीक्षा सायद मभित्र रहेको केहीले गरिरहेको थियो । मभित्र चुपचाप रोइरहेको चित्कार बाहिर निस्कियो । निस्सारता, एक्लोपन, अधुरोपन, व्याकुलता, व्यग्रता, वेदना सबै मभित्रबाट एकएक गर्दै निस्किन थाल्यो र मेरोअघि एउटा भीमकाय स्वरूपमा रूपान्तरित भयो । सायद त्यो रूप मेरो प्रतिरूप थियो, जसलाई हेर्ने अथवा सामना गर्ने सामर्थ मसँग थिएन ।
के म त्यति कुरूप थिएँ अथवा देखिन्थेँ ?
मलाई मेरो त्यही प्रतिरूपले लखेट्न थाल्यो । मलाई बचाउन मेरा मृत खुट्टाहरू सकसले घिस्रिन थाले, झ्यालतिर । मलाई थाहा थिएन, त्यो दिन मभित्रबाट कसरी त्यति शक्ति आयो ? यस्तो लाग्थ्यो, मेरा पाखुराहरूमा पँखेटा पलाउदैछन् । म पनि अब चराजस्तै उड्न सक्छु । मैले उड्नुपर्छ ।
मलाई बाँच्नु थियो, बचाउनु थियो आफूलाई आफैंबाट ।
अन्तत: मैले आफूलाई झ्यालबाट फ्याँकेँ, एउटा नूतन उडानका निमित्त ।
***
म अहिले पनि त्यो घरलाई हेरिरहन्छु । त्यो झ्यालमा मेरो नजर अल्झिरहन्छ । तर, त्यो झ्याललाई सधैं बन्द भएको देख्छु । यस्तो प्रतीत हुन्छ, घर आँखा चिम्लेर चिर-निन्द्रामा निदाइरहेको छ ।
लाग्छ, धेरै समय अघिबाट पिंजडामा कैद भएको एउटा चरा मुक्त भयो । त्यसले मुक्ति पायो ।
सायद त्यसपछि त्यो झ्याल कहिल्यै खुलेन । मैले त्यो झ्याललाई कहिल्यै खुलेको देखिनँ ।