
म स्वयंम आफैंमा एउटा कथा हुँ, अनि मात्रै एउटा कथाकार !
तपाईंहरू सबैलाई आज म आफूले रचेको कथा होइन, मेरो आफ्नै कथा कहन्छु ! जुन कथा मैले आजसम्म बुझ्न सकिनँ, बुझाउन सकिनँ, सम्झिन सकिनँ, सम्झाउन सकिनँ, पढ्न सकिनँ, समाधान गर्न सकिनँ !
सम्झिनुस, यो कथा एउटा रहस्य हो, पेँहेली हो ! सायद तपाईंहरूले यो रहस्यको गाँठो खोल्न सक्नुहुन्छ कि ?
धेरै बर्ष पहिलेको कुरा हो !
होइन, होइन धेरै बर्ष होइन जम्मा सत्र {17} बर्ष पहिलेको कुरा हो ।
म आठ {8} बर्षको थिएँ । एकदमै साधारण, एकदमै लजालु, एकदमै जिज्ञासु, एकदमै फरक, एकदमै एकान्तिक, एकदमै शान्त थिएँ । एकदिन मैले आफू सुत्ने खाटको मूनि एउटा बिशाल ऎना फेला पारेँ । आमाबुबा, दाइभाई सबैलाई मैले उक्त ऎनाको बारेमा भनेँ, सोधेँ ! परिवारको कुनै पनि सदस्यहरूलाई त्यस ऎनाको बारेमा ज्ञान थिएन अथवा भएन – त्यो कसरी पाईपुग्यो ? कहाँबाट आईपुग्यो ? कसले लिएर आयो ?
दुईदिनपछि सबैले त्यो ऎनाको बारेमा टाउको वास्ता गर्न छाडे ! मैले भने त्यो बिशाल ऎनालाई आफ्नो कोठाको भित्तामा टासिंदिएँ । त्यहीँ ऎनालाई हेर्दै हाँस्न थालेँ, रमाउन थालेँ, रुन थालेँ । मेरो आकृति पनि म सँगसँगै हाँस्थ्यो, रमाउथ्यो, रुन्थ्यो । म घन्टौंसम्म आफ्नै आकृतिलाई हेर्दै टोलाउँन थालेँ । सोच्न थालेँ- सन्मुख रहेको आकृतिलाई मात्रै ऎनाले किन परावर्तित गर्छ अथवा देखाउँछ ? लुकेको अरू आकृतिहरूलाई किन देखाउदैन ऎनाले ? मेरो आठ वर्षको कलिलो मस्तिष्क रबर जसरी तन्किन्थ्यो ।
र, एकदिन अचम्म / आश्चर्य भयो !
म त्यो ऎनाको सन्मुख उभिएको थिएँ । तर त्यो ऎनाले मेरो मात्रै होइन अर्को आकृति पनि देखायो । म झस्किएँ । तर्सिएँ । दुईवटा आकृतिहरू क्रमश: एउटा मेरो स्वयंमको थियो । अर्को चाहिँ अपरिचितको थियो, जसको अनुहारमा डरका रेखाहरू कोरिएका थिए ।
मलाई यस्तो लाग्यो, म ऎना होइन भित्तामा टांसिएको कुनै चित्र हेर्दैछु ।
यो कसरी सम्भव भयो ?
म ऎनाको नजिक गएर पढ्न खोजेँ त्यो आकृतिलाई / अपरिचितलाई । तर, सकिनँ । को थियो त्यो मान्छे ? त्यो कसको आकृति थियो ? ऎना साँच्चिकै जादुयी थियो / रहेछ । मलाई अहिले त्यो ऎना सम्झिँदा अरु दुई जादुयी ऎनाको सम्झना आउँछ ।
एक – “ह्यारी पोटर एन्ड दि फिलोसोफर्स स्टोन” मा रहेको जादुयी ऎना, जसले आफ्नो स्वच्छ / सफा / निस्चल / सुन्दर मनले चिताएको कुरा देखाउँछ ।
अर्को – ” स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान” मा रहेको जादुयी ऎना, जसले संसारमा भएको सबैभन्दा सुन्दर अनुहार कसको / कहाँ छ भनेर बताउँछ ।
म कयौं दिन आफ्नो र त्यहीँ अपरिचितको आकृति देख्न थाले त्यो जादुयी ऎनामा । सधैं त्यो अपरिचितको आकृति डराएको / हराएको देखिन्थ्यो ।
र एकदिन – सधैं जस्तै म त्यो ऎनाको अगाडि उभिएको थिएँ । मेरो आकृतिसँगै त्यो अपरिचितको आकृति पनि उभिएको थियो । एक्कासि गोलीको आवाज आयो । म डराएँ । आत्तिएँ । दौडेर यताउती हेरेँ । कहीँ, केहीँ, कोही देखिनँ । यत्तिकैमा मेरो आँखा ऎनामा पर्न गयो ।
ऎनामा मसँगै उभिएको त्यो अपरिचितको आकृति भुइँमा ढलिरहेको थियो । उसको कन्चटबाट रगत बगिरहेको थियो । गोली अरू कसैलाई होइन उसलाई / त्यो अपरिचितलाई लागेको थियो ।
यो कसरी भयो ? खास यो ऎनाले मलाई के भन्न अथवा देखाउन खोज्दै छ ?
म झन् डराएँ / तर्सिएँ / आत्तिएँ / बहुलाएँ ।
चुपचाप भित्तामा टांसिएको त्यो बिशाल जादुयी ऎनालाई निकालेर खाटमूनि लुकाईदिएँ ।
अर्को दिन बुबाले हामी सबै परिवारका सदस्यहरूलाई जानकारी गराउनु’भो, ” हिजोराति हाम्रो घरमा चोरी भयो ! मैले सेफमा राखेको बन्दुक कसैले चोरेर लग्यो !”
[ सत्र {17} बर्ष पछि ]
मलाई एक्कासि त्यो बिशाल जादुयी ऎनाको असिम सम्झना आयो । मैले बिर्सिसकेको थिएँ, मसँगै देखिएको / उभिएको त्यो अपरिचितको आकृतिलाई । रूपलाई । स्वरूपलाई ।
आफू सुत्ने खाटमूनिबाट त्यो बिशाल जादुयी ऎना निकालेँ र पुन भित्तामा टासिंदिएँ । ऎनामा आफूलाई हेरेँ । जाँचेँ । पढेँ ।
ऎनाले मेरो मात्रै आकृतिलाई परावर्तन गराएको थियो । अरू कुनै अपरिचितको आकृति ऎनामा टांसिएको थिएन । मलाई लाग्यो, समयसँगै ऎनाको यादु / शक्ति पनि सकियो । एकछिनसम्म आफूलाई ऎनामा यसरी हेरिररे मानौं, मैले आफूलाई पहिलोपल्ट देख्दै छु । हेर्दैछु ।
एक्कासि मेरो अनुहारमा डरका रेखाहरू छापिन थालेँ । खुट्टा लुकलुक काँप्न थालेँ । शरीरमा पसिना उम्रिन थाल्यो । म शिथिल हुँदै गएँ । म आठ {8} वर्षको हुँदा जुन अपरिचितको आकृति मैले ऎनामा देखेको थिएँ, त्यो अरू कसैको होइन, मेरो स्वयंम’कै थियो- {25} वर्षको म !
के यो जादुयी ऎनाले भबिस्य देखाउँछ ?
मेरो मस्तिष्कभित्रका तारहरू फेरि तन्किन थाले । मलाई भयानक त्रासले बिस्तारै निल्न थाल्यो । चपाउँन थाल्यो । यस्तो लाग्यो, मलाई कसैले एसिडमा डुबाईदिएको छ र म बिस्तारै गल्दै । पग्लिदै छु । ऎनाले देखाएको भबिस्य अनुसार म केही दिनमा मर्दै छु ! कसैले मेरो कन्चटमा गोली हान्नेछ !
यहीँ घारिलो यथार्थले मेरो गला रेट्न थाल्यो । म छटपटाउन थालेँ । निसासिन थालेँ । म दिनहुुँ जसो डराउँदै, हराउँदै त्यो ऎना हेर्न थालेँ । सायद मलाई आफ्नै मृत्यु हेर्नु थियो । सायद मलाई हेर्नू थियो, मलाई कन्टचमा गोली हान्नेको अनुहार ।
समय आफ्नै नियममा बग्दै गयो । म भित्रको डर / त्रास भने जमेर बसेको थियो । म आफ्नो मृत्युदिन कुर्न थालेँ । मलाई कुनै जादुको, चमत्कारको प्रतीक्षा थिएन, जसले मेरो भबिस्य बद्ल्दिवस् । मेरो मृत्युलाई मृत्युपुजक, यमराजबाट चोरिदिवस् । मलाई त बस्, त्यो अनुहारलाई हेर्नू थियो, जसले मेरो आत्माबाट शरीर खोसेर लानेछ, मलाई मार्नेछ । मेरो कन्चटमा गोली ठोक्नेछ ।
को हुनसक्छ त्यो मान्छे ?
मैले आफ्नो दुश्मनहरूको सूची तयार पारेँ । ती दुश्मनहरूसंगको दुश्मनी केलाउँन थालेँ । ती कसैसँग पनि मेरो त्यस्तो दुश्मनी थिएन, जसले गर्दा उनीहरूले मेरो ज्यान’नै लिन परोस् ।
मेरो मृत्यु हुने दिन –
म डराउँदै ऎनाको सन्मुख उभिएको थिएँ । ऎनामा मेरो आकृति पनि डराएको, हराएको देखिन्थ्यो । मृत्युले दुख्छ कि दुख्दैन ? पोल्छ कि पल्दैन ?
म यस्तै सोचको पुच्छर सामाएर यताउति भट्किन, तड्पिन थालेँ । यत्तिकैमा गोलीको आवाज आयो । म भुइँमा पछारिएँ । तातो लोहाको गोली मेरो कन्चटभित्र घुम्न थाल्यो । बाक्लो रातो रगतले बाटो पायो, मज्जाले / नमज्जाले बग्न थाल्यो ।
मेरो आँखाले घमिलो देख्न थाल्यो । कोठा पुरै घुम्न थाल्यो । शरीरबाट आत्माले बिदाई माग्न थाल्यो । मेरो सन्मुख एउटा आकृति हातमा बन्दुक बोकेर उभिएको थियो । उसको अनुहार धमिलो देखिन्थ्यो । मैले आफ्नो आँखालाई जबर्जस्ती च्यातेर हेर्न थालेँ । मेरा आँखाले ती आँखालाई चिनेँ । मैले त्यो अनुहारलाई चिनेँ । हातमा बन्दुक लिएर उभिएको आकृति अरू कसैको थिएन मेरो स्वयंम’कै थियो- {8} वर्षको म !
मैले सम्झिएँ- म {8} वर्षको हुँदा बुबाले एकदिन भन्नुभएको थियो, ‘मैले सेफमा राखेको बन्दुक कसैले चोरेर लग्यो !’
[ हामी मान्छेको सबैभन्दा ठूलो शत्रु / दुश्मन अरू कोहि होइन, हामी स्वयंम नै हौं ! दुश्मन = (आफ्नै ) दुषित मन ]यो पेँहेली / रहस्यको गाँठो खोल्ने जिम्मा तपाईंहरूको !
म गएँ शरीर खोज्न !