पाताल

“माथि के छ आमा ?” म उत्साहित हुँदै सोध्छु । 

“माथि नर्क छ,” आमाले भन्नुहुन्छ । 

“नर्क ?” मेरो आवाजको व्यास बढ्छ । 

“हो, बाबू माथि नर्क छ,” बिस्तारै बोल्नुहुन्छ, आमा । 

“तर, नर्क त तल हुन्छ, होइन र ?” म निधार खुम्च्याउँछु । 

“कसले भन्यो तिमीलाई यो कुरा ?” मलाई गहिरोसँग नियाल्दै आमाले प्रतिप्रश्न गर्नुहुन्छ । 

“मैले सुनेको,” मेरो ओठबाट मुस्कान चुहिन्छ । 

“सुनेका सबै कुरा सत्य हुँदैनन्, बाबू ।” आमाले मलाई बुझाउन खोज्नुहुन्छ । 

“अनि सत्य चाहिँ के हो त ?” यो मेरो कस्तो ढिपी ?  

“सत्य यो हो कि, नर्क माथि हुन्छ र स्वर्ग तल यहाँ हुन्छ ।” आमाको अनुहार भावहिन देख्छु । 

“कसरी ?” म झन् जिज्ञासु बन्छु । 

“किनभने माथि मृत्यु छ र यहाँ जिन्दगी ।” आमाको आवाज थकित सुनिन्छ ।

“तर, हामी त माथिले गर्दा बाँचेका होइनौँ र ?” म आफ्नो तर्क राख्छु । 

आमा केहीबेर टोलाउनुहुन्छ र भन्नुहुन्छ, “जिन्दगी दिनेहरूले नै जिन्दगी लिने हुन् बाबू ।” 

म झस्किन्छु । के आमाले भनिरहनुभएको कुरा सत्य हो ? जिन्दगी दिनेहरूले नै जिन्दगी लिन्छन् र ? 

मलाई माथि जान मन छ । माथिको दुनियाँ हेर्न मन छ । कस्तो छ होला माथिको दुनियाँ ? कस्ता प्राणीहरू बस्छन् होलान् त्यहाँ ? म धेरै जसो समय यस्तै-यस्तै कल्पना गर्दै बसिरहन्छु । सपनामा माथिको दुनियाँमा अक्सर पुग्ने गर्छु । बुबालाई भेट्ने गर्छु । बुबालाई आफूसँगै साथमा लिएर आउँने गर्छु । 

मेरो उद्देश्य नै यहीँ भएको छ, म माथि गएर बुबालाई यहाँ ल्याउने । आफ्नो घर फर्काउँने । 

धेरैले भन्छन्, “तेरो बुबा अब कहिल्यै फर्किदैनन् । माथि गएकाहरू तल कहिल्यै आउँदैनन् ।”

तर, म यो कुरा मान्दिनँ । 

“आमा, बुबा किन नफर्किनुभएको ?” म सोध्छु । 

आमाको आँखा रसाउन थाल्छन् । मेरो पनि मन अमिलो हुन्छ । आमालाई व्यर्थ रुवाएछु । व्यर्थ सोधेँछु, कहिल्यै जवाफ नआउने प्रश्न । 

बुबालाई मैले कहिल्यै देख्न, भेट्न पाइनँ । म जन्मिँदा बुबा माथि गइसक्नुभएको थियो । उहाँ कहिल्यै फर्केर तल आउनुभएन । अरूले सुनाइरहन्छन्, “तेरो बुबा बहादुर थिए । सहयोगी थिए । सबैलाई माया गर्थे ।” 

म बुबाको आकृति कल्पन्थेँ । दङ्ग पर्थेँ । रुन्थेँ । 

कसरी बुबा बिना बाँच्न सक्नुभएको होला आमा अहिलेसम्म ? आमालाई बुबाको याद आउँदैन ? के आमालाई बुबा भएको ठाउँमा जान मन लाग्दैन ? उहाँलाई फर्काउन मन लाग्दैन ? माया लाग्दैन ? कहिलेकाहीँ त आमादेखि खुब रिस उठ्छ । कति निठोर हुनुभएको आमा । 

जब आमालाई एक्लै रुइरहेको देख्छु, म पनि पग्लिन्छु । कुनै वाध्यता हुनुपर्छ, आमासँग । यहीँ रहनका लागि केही कारण हुनुपर्छ । नभए आफ्नो आत्मासँग कसले पो माया गर्दैनन् होलान् र ! सायद आमाको वाध्यता म हुनुपर्छ । कारण म हुनुपर्छ । मलाई छाडेर कसरी जान सक्नुहुन्छ र आमा ! आमा निठोर होइन कमजोर हुनुहुन्छ । सायद उहाँ मलाई पनि गुमाउन चाहनुहुन्न । 

तर, म जानुपर्छ । म नगए को जान्छ ? यो मेरो छोरा हुनुको जिम्मेवारी हो । बुबालाई तल ल्याएर आमाको ओठमा मुस्कान फुलाउनु पर्छ । मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । 

राति सुत्नेबेला आमाले भन्नुहुन्छ, “छोरा, तेरो बुबा ठ्याक्कै तँ जस्तै थिए ।”

मैले आफ्नो बुबाको बारेमा जति सुनेको छु, अरूबाट मात्रै सुनेको छु । मैले कहिल्यै आमाको मुखबाट बुबाको बारेमा सुनिनँ । उहाँले केही पनि सुनाउनु भएन । जहिल्यै मेरा प्रश्न अनुत्तरित हुन्थेँ । तर, आज आमा खुल्दै हुनुहुन्छ । सायद मेरो लगातारको प्रश्नले उहाँ घायल हुनुभयो । 

म आमालाई एकोहोरो हेरिरहन्छु । आमाको मुखबाट शब्दहरू फुत्त-फुत्त खस्न थाल्छन्, “तेरो बुबालाई लाग्थ्यो, यो नर्क हो र माथि स्वर्ग छ । माथि उज्यालो छ । यो अन्धकारमा बसेर हुँदैन । हामी सबै यो नर्क छाडेर माथि जानुपर्छ । माथि नै आफ्नो घर बनाउनु पर्छ । 

तेरो बुबा सबैको भलाइ चहान्थे । सबैलाई माथि उज्यालोमा लैजान चहान्थे । सबैलाई सुन्दर भबिस्य दिन चहान्थे । तर, कसैले तेरो बुबाको कुरालाई मानेनन् । विश्वास गरेनन् । सबैले तेरो बुबालाई पागल भने । सबैलाई यहीँ स्वर्ग लाग्थ्यो र माथि नर्क । कसैले माथि जान नमानेपछि तेरो बुबा निराश हुनुभयो । एक्लै जान खोज्नुभयो । मैले कति सम्झाएँ । रोकेँ । अहँ, मेरो आँसुले उहाँको पाइलाहरूलाई रोक्न सकेनन् । आखिर गएरै छाड्नुभयो, एक्लै ।” 

आमा रुन थाल्नुहुन्छ । म पनि निचोरिन्छु । आमालाई मैले त्यहीँ कुरुप समय पुन: बाँच्न बाध्य बनाएँ । मैले आमालाई रुवाएँ । अब कहिल्यै यो विषयको बारेमा सोध्ने छैन । बोल्ने छैन । 

तर, म भित्र-भित्रै छट्पटाउँन थाल्छु । आखिर केही त छ माथि, जसलाई पाउन बुबा माथि जानू भयो । हामी सबैका लागि सपना देख्नुभयो । सायद बुबा सत्य हुनुहुन्थ्यो, माथि स्वर्ग छ । उज्यालो छ । हामी सबै स्वर्गमा जानुपर्छ । 

मैले मन बनाइसकेको छु । म एकदिन जानेछु माथि । बुबाले सबैलाई पुर्याउन खोजेको स्वर्गमा पुग्नेछु । बुबाको सपना पूरा गर्नेछु । सबैलाई मनाएर माथि लिएर जानेछु । सबैले स्वर्ग ठानिरहेको यो अन्धकार नर्कको जिन्दगीबाट मुक्त गराउनेछु । 

म सही समयको प्रतीक्षा गर्न थाल्छु । आमालाई आफ्नो उद्देश्य सुनाऊँ कि नसुनाऊँ ? अरूलाई आफ्नो सपना बताऊँ कि नबताऊँ ? होस्, म कसैलाई सुनाउदिनँ । कसैलाई भन्दिनँ । फेरि मलाई सबैले आफ्नो बुबा जस्तै पागल भन्छन् । म बुबामा लागेको दाग मेटाउन चाहन्छु, फेरि आफूमा दाग लगाउन होइन । 

त्यो दिन तेज गतिमा दौडिदै आउँछ । म कसैलाई केही नभनी आफ्नो बाटो लाग्छु । उकालो चढ्न थाल्छु । यसरी म तलबाट एकाएक गायब हुन्छ । मलाई बाटो थाहा छैन । तर, मलाई यत्ति थाहा छ, उकालो चढ्नुपर्छ लगातार । म निरन्तर चढिरहन्छु । आराम गर्दै चढ्छु । घिसृदै चढ्छु । 

थाहा छैन, कति समय बित्छ । मस्तिष्कबाट मात्र एउटै आवाज आइरहन्छ, “मलाई जसरी पनि माथि पुग्नु छ ।” बेला-बेला अनौठो भावाना प्रवेश गरिदिन्छ, सायद स्वर्ग भन्ने ठाउँ नै छैन कि ! बुबा जस्तै म पनि मात्र कल्पनाको पिछा गर्दै त छैन ! 

होइन, म आधि बाटोबाट फर्किनु हुन्न । मैले हरेस खानु हुँदैन । म धेरै टाढा आइसकेको छु । गन्तव्यको नजिक आइसकेको छु । अब केही उकालो । अब केही पाइला । अब केही साहस । स्वर्ग नजिक छ । उज्यालो नजिक छ । 

नभन्दै, म देख्छु उज्यालो चुहिएको । म रमाउँछु । लाग्छ, म यति खुसी अहिलेसम्म भएको थिइनँ । हामी सबैलाई लाग्थ्यो, हाम्रो अस्तित्व भनेको अन्धकार मात्रै हो । उज्यालो भनेको भ्रम हो । कल्पना हो । मिथ्या हो । यसको कुरा गर्नेहरू सबै पागल हुन् । तर, हामी सबै गलत रहेछौं । बुबा सत्य हुनुहुँदो रहेछ । उज्यालो हुन्छ । स्वर्ग हुन्छ । हामी बस्ने अन्धकार नर्क हो । 

म उज्यालोतिर बढ्दै जान्छु । उक्लिदै जान्छ । मेरो थकाइ सबै हराइसकेको छ । म झन्झन् उत्साहित हुँदै जान्छु । लाग्छ, बुबा मलाई माथि प्रतीक्षा गरेर बसिरहनुभएको छ । मेरो स्वागतमा बसिरहनुभएको छ । 

उकालोको अन्तिम पाइला चढ्छु । अन्धकार कता-हो-कता पछि छुट्छ । म माथि पुग्छु । उज्यालोले मलाई निथ्रुक्कै रुझाइदिन्छ । लाग्छ, म अर्को जन्म लिँदैछु । मलाई उज्यालोले पवित्र बनाइदिदै छ । मलाई सबै नयाँ लागिरहेको छ । फरक लागिरहेको छ । मलाई सब सपनाझैँ लाग्न थाल्छ । कतै मैले सपना त देखिरहेको छैन ? 

म चारैतिर नजर ओछ्याउँछु । कतै बुबालाई देखिन्छ कि ! म देख्छु, चारैतिरको भित्तामा चिप्लो पत्थर टांसिएको । एक भित्ताको प्वाँलबाट पानीको ठूलो धारा बगिरहेको । ठूलो धारामूनि एक अजङ्गको, भयानक आकृति नग्न नुहाइरहेको । म तर्सिन्छु । यो कस्तो प्राणी हो ? 

बडेमानका दुई खुट्टा । लामा-लामा दुई हात । भिमकाय शरीर र त्यसमा जोडिएको डरलाग्दो टाउको । सायद यो दुनियाँमा यस्तै प्राणीहरू बस्छन् । म उक्त प्राणीको नजिक-नजिक बढ्छु । नुहाइरहेको आकृतिको बडेमानका दुई ठूला-ठूला आँखा म मा पर्न जान्छ । उसले चिप्लो पत्थरको बिचबाट आइरहेको पानीको धारालाई बन्द गर्छ । म सोच्न थाल्छु, त्यति ठूलो पानीको धारालाई कसरी उसले बन्द गर्यो ? 

लाग्न थाल्छ, यहाँ बस्ने प्राणीहरूमा अनौठो शक्ति छ । उक्त प्राणी मलाई देखेर आफ्नो अनुहार खुम्च्याउछ र केही बोल्छ । आवाज मलाई ठूलो र भयानक लाग्छ । म उसले बोलेको बुझ्दिनँ ।  सायद यहाँ बस्ने प्राणीको भाषा अर्कै हुन्छ । फरक हुन्छ । यति ठूलो आवाज मैले अहिलेसम्म सुनेको थिइनँ । प्राणी म देखेर खुशी भयो या दुखी म छुट्याउँन सक्दिनँ । 

म उसको चाललाई पछ्याइरहन्छु । उसले भित्तामा राखिएको एक ठूलो भाँडो उठाउँछ र केही बोल्दै म माथि खन्याउँछ । त्यो भाँडोमा भएको बाक्लो चिप्लो पदार्थले म रुझ्छु । मलाई शितल हुन्छ । लाग्छ, यो दुनियाँमा यहाँ पाहुनाहरूलाई यसरी नै स्वागत गरिन्छ । केही समयपछि शितल भएको मेरो शरीर जल्न थाल्छ । मलाई पीडा हुन थाल्छ । म छट्पटाउँन थाल्छु । बटारिन थाल्छु । कराउँन थाल्छु । अन्तत: मेरो सास रोकिन्छ । म मर्छु । 

***

“मम्मी, आज पनि दाइले ट्वाइलेट सफा नै गर्नुभएन जस्तो छ ! प्यानबाट कस्तो घिनलाग्दो गुइँय किरा निस्किरहेको थियो, छ्याँ !” 

Related Articles

Leave a Reply

Check Also

Close
Close