THAT DARK NIGHT

त्यो रात भुतको होइन, अदभूतको थियोे ।

घडिले रातको एक बजाइसकेको थियो । मेरो आँखाले निन्द्रालाई अझै कुरेर बसिरहेको थियो ।

त्यो रात निन्द्राले भने आफ्नो बाटो बिराए जस्तो लाग्थ्यो। न त कुनै तनाव, न कसैको भय, न कसैको प्रतीक्षाको व्यग्रता, न कुनै उल्लास, न कुनै शारीरिक समस्या तैपनि मेरा आँखाहरूका ढकनी बन्द हुन मानिरहेका थिएनन् ।

कहिले दायाँ पल्टिन्थ्येँ, कहिले बायाँ । कहिले ब्लान्केटलाई एकातिर मिल्काउँथ्येँ । कहिले पुरै शरीर ढाक्ने गरेर ओड्थ्येँ। जे गरे पनि आँखाले निन्द्रा भेट्टाउँन सकिरहेको थिएन । मलाई छट्पटी भैरहेको थियो । मुलायम बिस्तरामा होइन, कुनै तातो तावामा पल्टिरहेको जस्तै लाग्थ्यो । के गर्‍यौँ-गर्‍यौँ भैरहेको थियो । साथमा स्लीपिङ ट्य्ब्लेट पनि थिएन ।

पलङसंगैको टेबलल्याम्प अन गरेँ । केही समय टोलाइरहेँ या भनै निन्द्रा लाग्ने जुक्ति खोज्न थालेँ ।

सँगै पल्टिरहेको मोबाईलाई उठाएँ । हेडफोन दुबै कानमा कोचेँ । औंलाहरू मोबाईलको स्क्रिनमा दौडाउँन थालेँ । म्युजिक-स्टोर खानतलासी गर्ने थालेँ । एउटा सेन्टी गित बजाएँ अनि आँखा बन्द गरेर पल्टेँ । सयौँ माहुरीहरू कानमा गुनगुनाए जस्तो भयो । गीत बन्द गरिदिएँ ।

अब के गर्ने ?
शिक्षालाई फोन गरुम ?
होस् ! मलाई नै देखिराकी होली सपनामा के डिस्ट्रब गर्नु !
फोन गरेन !

अब के गर्‍यौँ भयो । टेबलमा मजासँग सुतिरहेको ल्यापटपलाई डिस्ट्रुब गर्न मन लाग्यो । ल्यापटप अन गरेँ ।
फेसबुक खोलेँ । माथिदेखि तलसम्म न्युजफिड सरसर्ती हेरेँ । झ्याउ लागेर आयो, तर निन्द्रा आएन । ल्यापटपलाई पुन: टेबलमै सुताइदिएँ । नजर फेरि घडितिर लगाएँ । पौने दुई भएको रहेछ । समय कछुवाजस्तै घिसृरहेको झैँ लाग्यो।

आफ्नो शरीरलाई जबर्जस्ति उठाएर झ्यालतिर मोडेँ । पर्दा सारेँ । चिसो हावाका झोक्हकारू एकएक गर्दै मेरो अनुहारमा चुम्बन गर्न थाले । स्ट्रिट्ल्याम्पले मधुरो प्रकाश छरिरहेको थियो । घर, रुख, सडक सबै मस्त निन्द्रामा थिए । रुखमूनि एउटा बढो मान्छे सुतिरा’को देखेँ । कस्तो मजासँग सुतेको ! मलाई न्यानो बिस्तरामा नआएको निन्द्रा त्यो बूढो मान्छेलाई चिसो भुँईमा आएको थियो ।

एकछिन त्यो मन्छेलाई हेरेर टोलाइरहेँ । अबभने बिस्तारै आँखाहरू लोलाउन थाले । मादकताको नसा’झैं लाग्न थाल्यो । निन्द्राले आखिर मेरा आँखाहरू भेट्टाउन लागे जस्तै भयो । कहिलेकाहीँ अरूको सन्तुष्टि देखेर आफू सन्तोष हुनुपर्दो रहेछ ।

निन्द्रा सबैभन्दा मीठो आराम हो । आराम गर्न थकान हुनुपर्छ। थकान हुन काम गर्नुपर्छ । कतै सुनेको थिए- “थकानको आराम अमृत हो, आरामको थकान बिष हो !” साढे तीन भैसकेको थियो । झ्याल, पर्दा लाएर पलङमा पल्टिएँ । निन्द्राले मेरो आँखा घेरिरहेको थियो ।
कतिबेला निदाएँ पत्तै पाइएन ।

***

झल्यास्स बिउझिएँ ।
झ्यालको पर्दालाइ चिरेर सूर्यको प्रकाश कोठाभरी पोखिसकेको थियोे ।

“होईन कति सुत्छस् हँ ! अझैं निन्द्रा पुगेको छैन तलाई ?” ममि कराउँदै कोठामा आउनुभयो । “सात बजिसक्यो ! हिजो पनि ‘नौ’ बजे नै सुतिस् ! कुम्भकर्ण होस् कि क्या हो त?”

मेरो दिमाग रन्थनियो ।

हिजो ‘नौ’ नै बजे सुतेको रे ?

केही समय पछि पो थाहा भो, मैले त अनिदो रातको सपना पो देखेको रहेछु । 

Related Articles

Leave a Reply

Close