कालो जादु

[ मंसिर, मंगलबार, १२ गते ]

कालो बिरालो नजिकैबाट फुत्त निस्कियो र लुत्त कतै पस्यो । केहीबेर त्यही कालो बिरालोले मेरो ध्यानलाई डोर्यायो ।

कोठाभित्र छट्पटाइरहेको धुवाँ झन्झन् बाक्लिदै थियो । लाग्थ्यो, धुवाँलाई सास फेर्न गाह्रो भइरहेको छ । ओसिलो कोठाले आफूलाई अन्धकार र धमिलो बनाउँदै गयो । धिपधिपाउँदै मैनबत्तिहरू पग्लिदै थिए । गहिरो सन्नाटा छाएको थियो । 

रातो माटोले लिपेको भित्तामा अनेक थरीका भयानक अनुहार भएका तस्बिरहरू टांसिएका थिए । सबैमा रगतका छिटाहरूले टीका लगाएका थिए । मुठाका-मुठा सुगन्धित धुपहरू बलिरहेका थिए । खिया लागेका खुकुरी, हँसिया, खन्जर बलिरहेको घुप नजिकै असरल्ल छरिएका थिए । 

विभिन्न रङ्गका ध्वाज-पत्ताहरूले कोठा श्रृङ्गारिएको थियो । खाली पिंजडाहरू तुर्लुङ्ग झुण्डिए थिए । लाग्थ्यो, गलामा पासो लगाएर सामुहिक आत्महत्या गरिरहेका छन् । भुइँमा लडिरहेका केही निर्जीव कठपुतलीहरू सजीव देखिन्थे । कुनामा चुल्हो थियो, जो सायद लासजस्तै चिसो भइसकेको थियो । त्यहीँ नजिक कुनै जनावर या मान्छेको काटिएको कपालको मुठो थियो । नजिकै ओसिलो भुइँमा दुम्सिका काँडाहरू गाडिएका थिए । अनेक चराहरूका प्वाँखहरू रोपिएका थिए । तिनीहरूमा अबिर कुनै मल जसरी छर्किएको थियो ।

टाउको छिनालिएका रगत्ताम्मे परेवाहरू एउटा कुनामा थुप्रिएका थिए । झिंगाहरू, कमिलाहरूले भोज गरिरहेका थिए । मोज गरिरहेका थिए । ओसिलो भुइँमा रगतले साना-साना कुण्ड बनाएका थिए । हावामा धुवाँसँगै मन्त्रहरू पनि नाचिरहेका झैँ प्रतीत हुन्थ्यो । कोठामा अनौठो गन्ध व्याप्त थियो । 

सबै मृत देखिन्थे । लाग्थ्यो, जीवनलाई यहाँ आउन वर्जित गरिएको छ । समय पनि टक्क रोकिएको झैँ लाग्थ्यो । 

अघि लुत्त कतै पसेको कालो बिरालो फुत्त बाहिर निस्कियो । फेरि त्यसले मेरो ध्यान खिच्यो । रगतले बनाएका साना-साना कुण्डमा आफ्नो मुख जोत्न थाल्यो । एक नजर मतिर फ्याँक्दै बिरालो करायो, ‘म्याँऊ !’

मेरो मुटु फुत्रुक-फुत्रुक उफ्रिरहेको थियो । आँखाहरू काँपिरहेका थिए । शरीरमा पसिनाका दाना लटरम्मै फलिसकेका थिए । गला पुरै सुकिसकेको थियो । उभिरहेका खुट्टाहरू डरले जमिसकेका थिए । लाग्थ्यो, तिनीहरूमा रक्तसञ्चार हुन छोडेको छ । झोलालाई कसिरहेको हात खुकुलो भएको थियो । भित्र-भित्रै चिसा खन्जरहरूले घोच्न थालेका थिए । म मैन जसरी पग्लिन थालिसकेकी थिएँ ।

“तलाईं त्यो मान्छेले मात्रै सहयोग गर्न सक्छ, ” साथीले भनेकी थिई । “सहनुको पनि सिमा हुन्छ बुझिस् । सजाय सधैं समयले मात्रै दिदैन, कानुनले मात्रै दिदैन । कहिलेकाहीँ आफूले पनि दिनुपर्छ । आफूले आफैंलाई न्याय दिनुपर्छ ।”

मलाई कालो जादुको बारेमा त्यो भन्दा पहिले केही पनि थाहा थिएन । कालो जादु कस्तो हुन्छ ? यसको प्रयोग, दुरुपयोग सबैको बारेमा मलाई साथीले बयान, बखान गरेकी थिई । त्यो बेला यस्तो लागेको थियो, साथी मलाई उसको हजुरबुबाले उसलाई सुनाइरहनु हुने कुनै कथा सुनाउँदै छे । मलाई कत्तिपनि विश्वास लागिरहेको थिएन । 

साथीले मलाई धेरै सम्झाई । यो ठाउँमा आएर काम भएको केही आफ्ना उदाहरणहरू पनि सुनाई । के गरुँ के नगरुँ, केहि समय म बिलखबन्दमा परेकी थिएँ । डरको आयतन बढ्दै गइरहेको थियो । धेरै समय घोत्लिएँ । म भित्रका ‘म’हरूको एकआपसमा झगडा भयो । अन्ततः मैले निर्णय लिएँ । मलाई दुख दिएको मान्छेलाई मैले नै समाप्त पार्नुपर्छ । मैले नै मार्नुपर्छ । उसलाई जिउने कुनै अधिकार छैन ।

यसरी साथीको सल्लाह मानेर म यो भयानक ठाउँमा आइपुगेकी थिएँ । मृत देखिने यो ठाउँ आइपुगेकी थिएँ । कुनै जङ्गली जनावरको गुफाझैँ लाग्ने यो ठाउँ आइपुगेकी थिएँ । 

यहाँ आउनुभन्दा पहिला मैले आफ्नो मस्तिष्कमा कालो जादु गर्ने तान्त्रिकको आकृति कोरिकी थिएँ । लामो-कालो जगल्टा । अनुहारभरि रङ्ग दलिएको । रगत दलिएको । निधारमा लामो कालो तिलक लगाएको । कानमा बडेमानको कुण्डल । हातमा बाला । गलामा अनेक रङ्गका मालाहरू लगाएको । औंलाभरी विभिन्न पत्थरका औंठी लगाएको । पुरै कालो पहिरनले ढाकिएको । कालो जादुको कुनै मन्त्र उच्चारण गरिरहेको । तर, मैले उसलाई आफ्नो कल्पना भन्दा नितान्त फरक पाएँ । 

ऊ अझै ध्यानमै लीन थियो । तत्लीन थियो । लाग्थ्यो, ऊ कुनै मुर्तिकारले बनाएको निर्जीव मूर्ती हो । उसको चिल्लो टाउकोमा अजङ्गको शरीर टांसिएको थियो । परेला, आँखीभौं, जुँगादाह्री केही थिएन । लाग्थ्यो, अनुहारलाई तेलमा डुबाएर चिप्लो बनाइएको छ । चिल्लो बनाइएको छ । गर्भवती महिलाको झैँ उसको पनि भुँडी उक्सिएको थियो । रगत लत्पत्तिएको उसको हातमा मानव खोपडी टुसुक्क बसेको थियो । यस्तो देखिन्थ्यो, ऊ कुनै अपरिचित ग्रहबाट आएको कुनै अनौठो प्राणी हो । रातो रङ्गको धोतीले आफ्नो लाज छोपेको थियो । खरानी पोतिएको थियो उसको बाँकी नग्न शरीरमा । 

मैले आफ्नो निधारको पसिना पुछेँ । माथिल्लो ओठलाई टोकेँ । झोलालाई कसिलोसँग कसेँ । खुट्टालाई तगडा बनाएँ । थुक घुटुक्क निलेँ । मुटुमा हिम्मत ठुसेँ । फोक्सोमा अलि धेरै हावा भरेँ । गलामा मिलाएर शब्दहरू राखेँ । मेरो मुख खुल्नुपूर्व नै उसका आँखा खुले । 

ठुला-ठुला आँखा । रगत जमेका राता-राता आँखा । भयानक आँखा । मलाई ताकिरहेका आँखा । मलाई तरिरहेका आँखा । 

म फतक्क गलेँ ।

गलामा मिलाएर राखेका शब्दहरू चिप्लिदै भित्रै कतै झर्यो । शरीरमा तापक्रम बढेको महसुस हुन थाल्यो । यस्तो लाग्यो, म शिकार भएर कुनै शिकारीको सन्मुख उभिएकी छु । म यहाँ कसैलाई मार्ने आएकी कि आफैं मर्न ? 

उसले मलाई बोल्ने इशारा गर्यो । म झन् धेरै तर्सिएँ । खुट्टाहरूले मलाई थाम्न सकेनन् । म थुचुक्क बसेँ । झोला खोलेँ । मेरा काँपिरहेका हात झोलाभित्र सल्बलाउन थालेँ । झोलाबाट मैले एउटा फोटो निकालेँ, जसको पछाडि मैले लेखेकी थिएँ, ‘जीवन राणा’ । एकथान कपडा निकालेँ । कागजमा पोको पारेको अलिकति माटो निकालेँ । प्लास्टिकमा बेरेर राखेको एकदुई कपालका रेशाहरू निकालेँ । काँइयो निकालेँ । 

मलाई साथीले चाहिने सामानहरूको बारेमा पहिल्यै भनेकी थिई । मार्न चहानेको फोटो र नाम । उसको पैतालाले टेकेको जमिनको अलिकति माटो । उसको गन्ध भएको कपडा । उसका केही कपालका रेशाहरू । उसले दैनिक प्रयोग गर्ने कुनै सामान । मैले आफूलाई बचाएर मुस्किलले यी सबै सामानहरूको व्यवस्था गरेकी थिएँ । 

मैले झोलाबाट निकालेका सामानहरू उसको सन्मुख धकेलेँ । उसले सबै सामानहरू जाँचिसकेपछि मतिर हेर्दै सोध्यो, “तपाईंले मार्न चाहनेको नाम ?” 

उसको आवाज भारी थियो । भयंकर थियो । लाग्थ्यो, कुनै जनावर गज्रिरहेको छ । 

“जीवन राणा,” मेरो स्वर थर्थरायो । 

“अनि तपाईंको नाम ?”

मैले आफ्नो नाम बताएँ, “रुपी कोइराला ।”

“जीवन राणालाई किन मार्न चाहनुहुन्छ ?” 

मेरो आवाज काँप्दै निस्कियो, “त्यो पापीले मलाई सधैं मार्छ । यातना दिन्छ । मलाई प्रयोग गर्छ । मेरो शरीरमात्रै होइन, आत्मा पनि निचोरेको छ त्यसले । म आफ्नो दुःख कहीँ बताउँन सक्दिनँ । त्यसले मेरो मुख थुनिदिएको छ । अहिले म त्योबाट लुक्दै, भाग्दै बसिरहेकी छु ।”

मैले थपेँ, “बाहिरबाट जति नै सभ्य र शालीन देखिए पनि भित्रबाट त्यो दुष्ट दानव हो । मलाई मात्र होइन कयौं महिलाहरूलाई त्यसले आफ्नो पद र शक्तिको आड लिएर प्रयोग गरेको छ । कानुन पनि त्यसकै मुठ्ठीमा छ । कसैले केही गर्न सक्दैनन् । त्यस्तो पापीलाई जिउने कुनै अधिकार छैन । त्यो मर्नु जरुरी छ ।”

मैले आफ्नो दुःख बताएँ । बिसाएँ । यहाँ आउनु पर्ने कारण बताएँ । 

“तपाईंको काम केही दिनमै हुन्छ । जीवन राणाको प्राकृतिक मृत्यु हुनेछ । तपाईंको नाम कहीँ-कतै मुछिने छैन । तर याद राख्नुस्, तपाईं पनि अन्तिमसम्मै यो कालो जादुको धाँगोमा बाँधिनुहुनेछ । यहाँ आउनुभयो त्यसको परिणाम तपाईंले पनि भोग्नुपर्छ । त्यसको मुल्य चुकाउनुपर्छ ।

[ मंसिर, सोमबार, १८ गते ] 

दिनहरू कछुवा गतिमा हिँडिरहे । रातहरू सकसपुर्ण तरिकाले घिस्रिरहे । एकप्रकारको बेचैनीले मभित्र घर बनाएको थियो । अनिन्द्रा आँखामा पलेँटी कसेर बसेको थियो । म हरेक पल छट्पटाइरहेकी थिएँ । मानौँ, मलाई सास फेर्न पनि गाह्रो भइरहेको छ । एक घण्टा पनि मलाई एक वर्ष बराबर लाग्न थाल्यो । डर पनि लागिरहेको थियो । त्योसँगै एकप्रकारको अपरिभाषित अनौठो खुशी पनि जन्मिएको थियो मभित्र । मैले चाहेको मान्छे केही दिनमा मर्दैछ । 

मैले आफ्नो कान र आँखालाई चनाखो बनाएकी थिएँ । म हरेक दिन पत्रिका पढ्थेँ । समाचार हेर्थें । कतै-कहीँ ‘जीवन राणा’को मृत्युको खबर आएको, छापिएको त छैन ? 

घडीले रातको एक बजाएको थियो । स्लिपिङ ट्याबलेटले राम्रोसँग काम गरिरहेको थियो । म निन्द्रा लोकमा थिएँ । सपना देख्दै थिएँ ।  

“याद राख्नुस्, तपाईं पनि अन्तिमसम्मै यो कालो जादुको धाँगोमा बाँधिनुहुनेछ । यहाँ आउनुभयो त्यसको परिणाम तपाईंले पनि भोग्नुपर्छ । त्यसको मुल्य चुकाउनुपर्छ ।” यो वाणीले मलाई सपनामा लखेटिरह्यो । ‘जीवन राणा’को राक्षसी हाँसोले मलाई पछ्याइरह्यो । म लगातार दौडिरहेँ । भागिरहेँ । ढुङ्गा ठेस बनेर मेरो खुट्टामा लाग्यो । म लडेँ । ब्युँझिएँ । 

ब्युँझिदा मेरो शरीर पुरै दुखेको थियो । थाकेको थियो । जोर्नीहरू चुँडिएलाझैँ भएका थिए । एक्कासि प्यास लागेर आयो । बिस्तारै आफूलाई उठाएर किचेनतिर लागेँ । गिलासमा पानी भरेँ र तनतनी पिएँ । 

जति पानी पिएँ पनि प्यास मरेन । झन्झन् प्यास बढ्न थाल्यो । गर्मी हुन थाल्यो । लाग्यो, मभित्र तातो लाभा उम्लिरहेको छ । एक्कासि चक्कर लाग्न थाल्यो । टाउको फुट्लाझैँ भयो । भुकम्प आएझैँ भुइँ पुरै थर्थराउन थाल्यो । नसामा रगत छिटो-छिटो सर्न थाल्यो, छड्किन थाल्यो । मुटुको ढुकढुकी बढ्न थाल्यो । आगोमा परेको प्लास्टिक जस्तै म बिस्तारै खुम्चिन थालेँ । म भुइँमा नराम्रोसँग बजारिएँ । 

मेरो शरीर पुरै काँपिरहेको थियो । कसैले मेरो शरीरमा आगो लगाइदिए झैँ भयो । म छट्पटाउन थालेँ । तड्पिन थालेँ । नाकबाट बिस्तारै रगत बग्न थाल्यो । आँखामा पर्दा लाग्न थाल्यो । मैले धमिलो देख्न थालेँ । अन्धकार देख्न थालेँ । मुख र कानबाट पनि रगत बग्न थाल्यो । म बटारिन थालेँ । 

कान, नाक, मुखबाट बगेको रगतले मेरो शरीर पुरै रगत्ताम्मे भइसकेको थियो । बिस्तारै मेरा हात-खुट्टाहरू चल्मलाउन छाडे । सल्बलाउन छाडे । नसामा रक्तसञ्चार बन्द हुन थाल्यो । मुटुले धड्किन बिर्सिन थाल्यो । मलाई महसुस हुन छोड्यो । आँखाले शून्य देख्न थाल्यो । अन्ततः सबै शून्य भयो ।  

[ मंसिर, शनिबार, ९ गते ]

“तपाईंले मार्न चाहनेको नाम ?” कालो जादु गर्ने तान्त्रिकले सोध्यो । 

“रुपी कोइराला,” उसले भन्यो । 

“अनि तपाईंको नाम ?”

“जीवन राणा !”

“रुपी कोइरालालाई किन मार्न चहानुहुन्छ ?”

“त्यो महिलाले मेरो जीवन बर्बाद पारिदिएकी छे । नर्क बनाइदिएकी छे । मेरा सबै सम्बन्धहरूमा त्यसले आगो लगाइदिएकी छे । मेरो सम्पत्तिमा त्यसको आँखा गडेको छ । निर्दोष अनुहारको नकाब लगाएर मलाई झुक्याई । आफ्नो कमजोरी देखाएर नराम्रोसँग फसाई । आफ्नो जालमा पारी । अहिले मलाई उम्कन धेरै गाह्रो भएको छ । त्यो मरिन भने म बर्बाद हुन्छु । मेरो परिवार बर्बाद हुन्छ ।”

Related Articles

Leave a Reply

Check Also

Close
Close