मान्छेलाई कति जमिन चाहिन्छ ?

दुई वर्षअघि, ‘हेर्ने कथा’को पैँसठ्ठीऔँ शृङ्खलामा एउटा अनौठो कथा देखाइएको थियो, ‘चेहिमको कथा’, जसले धनकुटाको बुढीमोरङ अबस्थित साँघुरीगढीमा बसोबास गर्ने लिम्बुहरूको विचित्रको संस्कार पस्केको थियो । ‘चेहिमको कथा’ अर्थात् ‘चिहानको कथा’ । ‘चे’ले ‘लास’ र ‘हिम’ले ‘घर’लाई जनाउँदो रहेछ । लासको घर ! त्यहाँ रहने लिम्बुहरूले मृत्युपूर्व नै गच्छे अनुसारका चिटिक्कका चिहान बनाउने रहेछन्, आफ्ना लागि । उनीहरूले आफ्नो चिहान आफूलाई मन पर्ने आकार र ढाँचामा बनाउने रहेछन्, घरनजिकै बारीमा । अनि त्यसलाई मन पर्ने रङ्गले पोत्दा रहेछन् । उनीहरू आफ्ना चिहान वरिपरि सफा राखेर अथवा फूलहरू रोपेर उक्त घरलाई सुन्दर बनाउने रहेछन् । उनीहरू अनन्त यात्राको निमित्त पहिले नै तयार भएर बस्दा रहेछन् । शरीर निष्प्राण भएपछि रहरले बनाएको उक्त घरमा प्रवेश गर्दा रहेछन् । 

उक्त गाउँमा सुरूमा सपना र इच्छालाई पछ्याउँदै चिहान बनेका थिए । पछि सपनाहरू बिस्तारै संस्कारमा परिणत हुँदै गयो । त्यहाँका मान्छेहरू भन्ने गर्छन्, ‘मरेपछि के भइन्छ, थाहा हुँदैन । सन्तानहरू कहाँ र कुन अबस्थामा हुन्छन्, त्यो पनि थाहा हुँदैन । उनीहरूले कता गाड्छन्… गाड्छन् । बरू अहिलेनै आफ्नो लागि ‘कपुर-थान’ ( चिहान घर ) बनाए, ढुक्कै । सास गै’हाले, मलामी आउनू पर्दैन । कसैले धकेल्दै.. धकेल्दै त्यहीँ लगेर गाडिदिए, भै’हाल्यो ।’

विदेशतिर पनि थुप्रै मान्छेहरूले आफ्नो चिहानको निमित्त पहिलेनै जमीन किनेर राख्ने गर्छन् । आफू कहाँ गएर गाडिने पहिलेनै तय गर्छन् । मृत्युपछि आफ्नो चिहान कस्तो र कहाँ हुनुपर्छ, मान्छेहरूलाई किन यति धेरै चिन्ता हुन्छ ? चिहानले कस्तो महत्व बोकेको हुन्छ ?  

चिहान अर्थात् समाधिस्थल; दिवंगतहरूको स्मृति, सम्मान र विरासतको संरक्षण स्थल हो, जसले जीवित र मृतकबीचको गहिरो सम्बन्धलाई परावर्तन गर्ने गर्छ । चिहानलाई मृतकका साथीहरू, परिवारजन तथा सन्ततिहरू भ्रमण गर्न, सम्झन र सम्मान दर्साउनका लागि एउटा पवित्र स्थलको रूपमा मानिन्छ । चिहान मृतकहरूको अन्तिम विश्रामस्थल हो । त्यसैले परिवारका सदस्यहरूले मृतकको इच्छा, पारिवारिक प्राथमिकता र बजेटलाई ध्यानमा राख्दै विचारशील निर्णय गर्छन्, चिहान कहाँ र कस्तो हुनुपर्छ भनेर । किनभने ‍त्यसले केही हदसम्म मृतकहरूले बाँचेका जीवनलाई प्रतिबिम्बित गर्छन् ।

महान रसियन लेखक ‘लियो टोल्सटोय’को एउटा चर्चित कथा छ, ‘हाउ मच ल्याण्ड डज ए म्यान निड ?’, जसले एउटा लालची व्यक्तिको कथालाई कहन्छ । सकेसम्म धेरै जमीन पाउने लालसामा उसले मृत्युवरण लिनुपर्छ, अन्त्यमा । तर, उसको मृत शरीरलाई गाड्न, मात्र ‘छ’ फिट लम्बाईको जमीन भए पुग्छ । ‘मान्छेलाई कति जमिन चाहिन्छ ?’ 

नेपाल र थाइल्याण्डबिच रहेको कूटनीतिक सम्बन्धको ६५औँ वार्षिकोत्वको अवसर पारेर ‘थाइ दूतावास’ले काठमाण्डौँको ‘क्युएफएक्स, छाया सेन्टर’मा ‘थाइ फिल्म फेस्टिभल’ आयोजित गरेका थिए, केहीदिन अघि । पहिलो दिन देखाइएको थियो, ‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’, जुन एसियाका विभिन्न देशहरूमा केही महिनाअघि मात्र प्रदर्शनमा आएको थियो । मैले पनि उक्त फिल्म हेर्न मौका पाएको थिएँ, त्यही फेस्टिभलमा । ‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ यहीँ सेप्टेम्बर १३ मा नेट्फिल्कसमा आउँदैछ । प्रदर्शनमा आएको केही समयमै फिल्मले सबैको मन जितेको थियो । थाइल्याण्ड, सिंगापुर, म्यानमार, मलेसिया, फिलिपिन्स् लगायतका देशहरूमा सबैभन्दा धेरै कमाउने थाइ फिल्म बन्न पुग्यो । फिल्म हेरेर फर्किनेहरूका प्रतिक्रियाले झन् एकाएक सामाजिक संजालमा थप चर्चा बटुलेको थियो । फिल्मका लेखक तथा निर्दशक ‘Pat Boonnitipat’ आफैँपनि फिल्म लेख्दा, बनाउँदा र इडिटिङ्ग गर्दा कैयौँपटक रोएको स्वीकार्छन् । आखिर फिल्ममा त्यस्तो के छ ? 

‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ले ‘टोल्सटोय’को कथा – ‘हाउ मच ल्याण्ड डज ए म्यान निड ?’ को पुरै सारलाई नलिएपनि केही अर्थ आफूभित्र राखेको छ । ‘हेर्ने कथा’ले देखाएको ‘चेहिमको कथा’सँग भने फिल्मलाई केही कोणबाट दाँज्न सकिन्छ । फिल्मिरेखालाई पछ्याउँने हो भने थाहा पाइन्छ, परिवार केन्द्रित फिल्महरू सायद एसियामा धेरै बनेका छन् । ‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ हेरिरहँदा मलाई ‘द फेयरवेल’, ‘मिनारी’, ‘टोकियो स्टोरी’, ‘इकुरू’ जस्ता फिल्महरूको याद आइरहेको थियो । 

निर्दशक ‘Pat Boonnitipat’ले आफ्नै कथालाई फिल्ममा उतारेका हुन्, केही काल्पनिकतालाई पोतेर । फिल्मले एउटा ‘सिनो-थाइ’ परिवारको कथालाई भन्छ । ‘सिनो-थाइ’ अर्थात् आधा चाइनिज, आधा थाइ । बाह्रैऔँ शताब्दीतिर थाइल्याण्डमा व्यापार गर्न उद्देश्यले चाइनाबाट केही व्यापारीहरू आएका थिए, जो बिस्तारै त्यहीँ रहन थाले, सम्बन्ध बाँधेर । थाइल्याण्डको जनसङ्ख्यामा धेरै हिस्सा ‘सिनो-थाइ’ले नै ओगटेका छन् । थाइल्याण्डका अहिलेका शाही परिवार ‘चक्री राजवंश’का संस्थापक ‘रामा’ पनि ‘सिनो-थाइ’ नै थिए । 

‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’, फिल्मको टाइटल आफैंले पनि कथाको आषयलाई बोकेको छ । फिल्म ७९ वर्षीय हजुरआमा ‘अम्हा’ वरिपरि घुमेको छ, जो एक्लै बस्छिन् । परिवारका अन्य सदस्यहरू हरेक आइतबार आउने गर्छन्, उनलाई भेट्न । हरेक आइतबार उनको निमित्त उत्सवझैं हुने गर्छ । त्यसदिन घरमा विभिन्न थरिका परिकारहरू पाक्छन् । सबैले रमाइलो गर्छन् र सांझतिर सबै आफ्ना बाटो समात्छन् । बाँकी रहन्छ, ‘अम्हा’ एक्लै, टुहुरोझैं । उनी बाँकी रहेका खानाहरू फ्रिजमा राख्छिन् । हप्ताका बाँकी दिनहरू त्यहीँ खान्छिन् । फिल्ममा कतै उनले भनेकी छिन्, ‘एक्लो हुनु… हजुरआमा हुनु भनेको सायद आफ्ना सन्तानहरूले खाएर बाँकी रहेको खाना खानु हो ।’ फेरि अर्को आइतबार आउँछ । उनी उत्साहित हुँदै नयाँ लुगा लगाएर घरअघि बस्छिन्, आफ्ना सन्तानहरूको बाटो हेर्दै.. कुर्दै । यसरी चक्र चलिरहन्छ….. 

‘अम्हा’को अब एकमात्र सपना रहेको छ, राम्रो स्थानमा जमीन किन्ने, आफ्नो चिहानको लागि । उनको इच्छाको बारेमा परिवारका सबै सदस्यहरूलाई थाहा छ तर, कसैले वास्ता गर्दैनन् । उनीहरू आ-आफ्नै काममा व्यस्त छन् । उनका दुई छोरा ( जेठो- व्यापारी, कान्छो- निकम्मा, बेरोजरारी ), एउटी छोरी, बुहारी, नातिनी ‘रेनबो’ र एक नाति ‘एम’ रहेका छन् । ‘अम्हा’लाई लाग्छ, उनको नाति ‘एम’ बेकम्माको छ, जो आफ्नो जीवनमा कनै प्रकारको संघर्ष गर्न चाहदैन । उसले पढाइ छाडेर.. घरमै बसेर भिडियो गेम खेल्न थालेको छ, पैसा कमाउन । ऊ कम मेहेनतमा छिटो-छरितोसँग पैसा कमाउन चाहन्छ । ऊ आफ्नो परिवारलाई गर्नुपर्ने सम्मानको महत्त्वलाई बुझ्न सक्दैन । परिवारका सदस्यहरू आफ्ना पुर्खाहरूको सम्मान गर्न चिहान आएका हुन्छन् । जब ‘एम’लाई हजुरआमा ‘अम्हा’ले चिहानमा फूलहरू राम्रोसँग छर्नू भनेर भन्छिन्, उसले सो काममा पनि इमान्दारिता देखाउँदैन । उक्त काम गर्न ‘अम्हा’ आफैं अघि सर्छिन् । त्यहीँ बेला उनी लड्न पुग्छिन् र उनलाई अस्पताल लगिन्छ । तर, ‘एम’लाई कुनै चिन्ता छैन, ऊ घर आएर भिडियो गेममा झुण्डिन्छ, सधैंझैं । जब उसकी आमा अस्पतालबाट फर्किन्छिन्, हजुरआमालाई क्यान्सर भएको खबर लिएर, तर पनि ‘एम’लाई कुनै प्रभाव पर्दैन ।

‘एम’को लागि हजुरआमा त्यति महत्त्वपूर्ण पात्र होइन । यस्तो लाग्छ, दुईबिच कुनै प्रकारको सम्बन्ध तथा संवेदनानै गाँसिएको छैन । तर, जब ‘एम’को बुबापट्टिको हजुरबुबा बित्छन्; उनलाई वृद्ध अवस्थामा राम्रोसँग स्याहार तथा हेरचाह गरेकै कारण हजुरबुबाको घर उसकी (कजन) बहिनीले पाउँछे । अचानक उसको स्वार्थ मनले पनि योजना बुन्न थाल्छ । ऊ आफ्नो भिडियो गेम बेच्छ, कपडाहरू पोको पार्छ र जान्छ, ‘अम्हा’को घरमा उनलाई सेवा गर्न । त्यहाँबाट ‘एम’को आचरण झन् प्रष्टसँग बुझ्न सकिन्छ, ऊ पनि हजुरआमाको घर पाउने लोभमा छ । उसलाई विश्वास छ, हजुरआमाको उचित हेरचाहबाट उनले खुसी भएर घर उसको नाममा पास गरिदिन्छिन् भन्ने । त्यसैले उसले घर पाउनु अगावै घरको फोटो खिचेर अनलाइनमा बिक्रीका लागि राखिदिन्छ । 

भनिन्छ, वृद्धवृद्धाहरूलाई पढ्न र बुझ्न कठिन हुन्छ । हजुरआमा ‘अम्हा’ जिद्धी, आत्मनिर्भर, खरो र अन्धविश्वासी छिन् । उनी बिहानै उठ्छिन् । बजार गएर कंगी ( एक प्रकारको थाइ परिकार, खिरजस्तै ) बेच्छिन् । हरेकदिन पैदल हिंडेर बैंक पुग्छिन्, पैसा जम्मा गर्न । भगवानको पूजा आरधाना गर्छिन् । के ‘एम’ आफूलाई बाहेक अरू कसैलाई हेरचाह गर्न सक्छ ? ‘एम’ले आफ्नो हजुरआमाको मन जित्न पहिले उसले के-के गुमाउनु पर्नेछ ? त्योसँगै उसले के-के प्राप्त गर्दै जान्छ, फिल्मको कथा बिस्तारै त्यतैतिर बग्न थाल्छ । सुरूवातमा ‘एम’लाई हजुरआमाको जीवनशैली तथा दिनचर्यालाई बुझ्न र अपनाउन कठिन पर्दै जान्छ । उसलाई बु‍ढौलीपनको गन्ध आउँने हुन्छ, हजुरआमाबाट । उसले बहिनी मार्फत् बुझेको हुन्छ, ‘जब तिमी कसैको नजिक रहेर उसलाई निस्वार्थ प्रेम गर्न थाल्छौँ, तिमीलाई ऊबाट कुनै प्रकारको गन्ध आउने छैन । तिमीलाई उसको दिसा-पिसाब पनि गन्हाउन छाड्नेछ ।’ 

अधिकांश मान्छेहरू बुढेसकालमा प्रवेश गरेपश्चात धार्मिक हुँदा रहेछन् । उनीहरू आफ्ना सन्तानहरूको प्रगति र स्वास्थ्यको कामना गर्छन्, भगवानसँग । आफू समयको कुन विन्दु र अवस्थामा पुगेर मर्छन्, सायद वृद्धवृद्धाहरूलाई पहिल्यै थाहा हुन्छ । उनीहरू कहिल्यै आफ्ना निमित्त आयु माग्दैनन् । बरू आफ्नाहरूसँग समय माग्छन्, सँगै बिताउन । ‘एम’ आफूलाई हजुरआमाको स्थानमा राखेर, उनको एक्लोपनलाई बुझ्दै जान्छ । उनको अवस्थाका कारणहरू बुझ्दै जान्छ । परिवारका सबै सदस्यहरू मन्दिर गएका बेला सबैले आ-आफ्नो लागि माग्छन्, तर ‘अम्हा’ले भने आफ्नो सन्तानहरूको निमित्त माग्छिन् । 

फिल्मले देखाउँछ, हामीले आफ्ना सम्बन्धहरूलाई कस्तो नजर र दृस्ठिकोणले हेरिरहेका छौँ ? 

हजुरआमा ‘अम्हा’को घरअघि एउटा अनारको रूख छ । उनले त्यसमा लागेका अनारका दानाहरूलाई प्लाष्टिकमा बेरेर सुरक्षा दिएकी छिन् । कसैलाई त्यहाँबाट फल टिप्न दिदिनन् । यस्तो लाग्छ, उक्त अनारको रूख उनी स्वयंम हुन् । उनले आफूलाई सबैबाट जोगाएर राखेकी छिन् । मलाई ‘ओ हेनरी’को छोटो कथा ‘द लास्ट लिफ’को याद आएको थियो । लाग्छ, कथामा जस्तै फिल्ममा पनि हजुरआमा ‘अम्हा’को आत्मा त्यही अनारको रूखमा अल्झिएको छ । फिल्मको सबैभन्दा मीठो र शक्तिशालि बिम्ब त्यही अनारको रूख हो । 

एउटा दृश्य छ : ‘अम्हा’को उपचार कसरी गर्ने, कहाँ गर्ने भनेर पैसाको विषयमा छलफल चलिरहेको बेला सानी नातिनी ‘रेनबो’ले आफ्नी हजुरआमाको आँखामा हेर्दै भन्छे, ‘म ठूलो भएपछि डाक्टर बन्छु अनि तपाईंलाई निको पार्छु ।’ त्यसमा उनको निर्दोषता मात्रै झल्किदैन, हजुरआमाको प्रेम र आशाको गहिरो अभिव्यक्ति पनि देखिन्छ, जसले अरूलाई अवगत गराउँछ, उनीहरू केबाट चुकिरहेका छन् । 

‘अम्हा’ र ‘एम’ बिस्तारै एकअर्कासँग घुलिन थाल्छन् । ‘एम’को नियत थाहा पाउँदा पनि ‘अम्हा’ चुप लागेर बस्छिन्, अनभिज्ञझैं भएर । त्योसँगै फिल्मले पारिवारिक सम्बन्धको कुरूपतालाई पनि देखाउँदै जान्छ । क्यान्सरको अन्तिम चरणमा रहेको ‘अम्हा’को स्वास्थ्य बिग्रिदै जान्छ । घरअघिको रहेको अनारको रूखमा अनार पाक्दै जान थाल्छन् । सन्तानहरूले प्रेम दर्साउन थाल्छन् । हजुरआमा ‘अम्हा’को पीडा र एक्लोपनले मात्रै नभएर परिवारका अन्य सदस्यहरूको आचरणले गर्दा पनि ‘एम’ परिवर्तन हुँदै जान्छ । हजुरआमाको छायामा रहेर उसले सबै सदस्यहरूलाई नजिकबाट नियाल्न र चिन्ने मौका पाउँछ । आफू मर्दैछु भन्ने आभास ‘अम्हा’ले पाउन थाल्छिन् । उनले जीवनमा केही पनि गर्न नसकेको आफ्नो कान्छा छोरालाई घर दिन्छिन्, भविष्यमा केही राम्रो गर्न सकोस् भन्ने कामनासहित । ‘एम’ले केही पाउँदैन, न त उसकी आमाले पाउँछिन् । ‘एम’की आमाको पनि गुनासो रहन्छ, ‘आफ्ना आमाबुबाबाट छोराहरूले सम्पति प्राप्त गर्छन् तर, छोरीहरूले रोग-शोकमात्रै ।’ 

हजुरआमा ‘अम्हा’को चित्रण हृदयस्पर्शी तथा हृदयविदारक कोणबाट गरिएको छ । फिल्ममा उनलाई निस्वार्थ प्रेमका साथै शक्तिको प्रतीकको रूपमा देखाइएको छ, जसले जहिल्यै आफ्ना सन्तानहरूलाई एउटा सफलताको मार्गमा डोर्याउन खोजिरहेकी छिन् । 

निर्दशक ‘Pat Boonnitipat’ लाई फिल्मको कथा लेख्न निकै कठिन भएको थियो । यसअघि ‘प्रोजेक्ट एस’ र ‘ब्याड जिनियस’ जस्ता सफल टिभी सिरिज बनाइसकेका उनलाई ‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ लेख्न भने धेरै समय लागेको थियो । 

म हलबाट फिल्म हेरेर निस्किदा अधिकांश सुक्सुकाइरहेका थिए । मैले उनीहरूको आँखामा हेर्न हिम्मत गरिनँ । हामी सबैलाई फिल्म किन यति धेरै मन परिरहेको छ ? किनभने त्यसले कता-कता हाम्रो नियत र मनोदशालाई लिएर हिंडिरहेको छ । स-साना दृश्य तथा डाइलगहरूले हाम्रो संवेदनाहरूलाई स्पर्श गरेका छन् । फिल्मले पारिवारिक सम्बन्ध मात्रै नभएर पारिवारिक विभेद तथा विविधतालाई पनि सूक्ष्म तरिकाले सुन्दरताका साथ देखाएको  छ । यस्तो लाग्छ, ती काल्पनिक पात्रहरू सायद हाम्रै आफ्नै परिवारभित्र छन् । फिल्मले बुझाउँछ, साँचो धन पैसाले होइन, सम्बन्ध र सम्झनाहरूले मापन गरिन्छ ।

निर्देशकले फिल्ममा हाँस्यरस र करूणा दुबैलाई सन्तुलनमा राखेको छ, निपुर्णतापूर्वक । पटकथा हृदयस्पर्शी संवाद तथा मोनोलोगहरूले भरिएका छन्, जसलाई सबैले भित्री हृदयबाट महसुस गर्न सक्छन् । फिल्मले हामीभित्र रहेका भावना र संवेदनाहरूलाई पनि परीक्षण गर्ने काम गरेको छ । आमाबुबाले सन्तानहरूको निमित्त माया कहिल्यै तौलिन सक्दैनन्, चाहे त्यो जस्तो सुकै होस् । हामी सन्तान हौँ, जसले बरू आमाबुबाको मायाको वजन निकाल्ने गर्छौं, कहिलेकाहीँ । 

‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ यो वर्षको हेरेका मध्य एकदमै मन परेको फिल्म भन्दा फरक नपर्ला । फिल्म ओभर ड्र्याप्याटिक छैन । लाव‍ड छैन । लाग्छ, फिल्म शान्त तलाउ हो, जहाँ बेलाबेला लहरमात्रै उठ्छ । फिल्मको मर्म स-साना डिटेलिङ्गहरूमा ( जस्तै: हजुरआमाले लगाउने लुगाको बटम, रूखअघिको अनारको दाना, कित्ली, भगवानको मूर्ति आदि… । ) झुण्डिएका छन्, जसले हाम्रो हृदयका रेसालाई तन्काउने र खुम्चाउने काम गर्छन् । 

‘अम्हा’को सपना हुन्छ, सुन्दर स्थानमा जमिन किन्ने, चिहानको लागि । तर, उनको रहर र भावनालाई कसैले पनि कदर गर्दैनन् । उनी अधुरै सपना लिएर मर्छिन् । सायद उनी सबैलाई बताउन चाहन्थिन्, उनको जीवन खुसी र मायाले भरिएको छ । उनलाई लाग्दो हो, सुन्दर स्थानमा रहेको सुन्दर चिहान जीवनभर आफूले सन्तानहरूबाट पाएको मायाको अभिव्यक्ति हो । चिनो हो । उनी मृत्युपश्चात पनि सन्तानहरूको शिर ठाडो राख्न चाहन्थिन् । 

मर्नुभन्दा केही समयअघि ‘अम्हा’ले नाति ‘एम’लाई अनारको रूखबाट अनार टिपेर दिदै भनेकी थिइन्, ‘यो रूख म‍ैले तिमी जन्मिँदा रोपेकी थिएँ । अहिलेसम्म जोगाएर राखेँ । ल्याऊँ, यो फल ।’ उक्त दृश्य र संवादले फिल्ममा ठूलो र महत्वपूर्ण अर्थ राखेको छ । त्यहीँ छ, फिल्मको अन्त्य जसले कैयौँ दर्शकहरूका आँखा रूझाउँछन् । हृदय पगाल्छन् । 

‘हाउ टु बिकम मिलिनियर्स बिफोर ग्र्याण्ड’मा डाइज्’ उत्सव हो, प्रेम, परिवार र प्रियजनहरूका निमित्त, जसले हामीलाई बोध गराउँछ, वास्तविक सम्पत्ति जहिल्यै हाम्रो हृदयको सन्दुकभित्र लुकेको हुन्छ । फिल्मले हामीलाई उक्त सन्दुक खोल्ने चाबी प्रदान गरेको छ ।  

सुन्दर फिल्म ! 

Related Articles

Leave a Reply

Check Also

Close
Close