रूखहरूको समुन्द्र

कुरा केही दिनअघिको हो। मेरो मनोदशालाई दशा लागेको थियो। मेरो मनस्थिति ठीक धरातलमा थिएन। नसामा रगत होइन, बेचैनी दौडिरहेको प्रतीत हुन्थ्यो। कुनै संक्रमित रोग बोकेर होइन, उदासी बोकेर मेरो वरिपरि लामखुट्टे भुन्भुनाइरहेका थिए। अपरिभाषित र अदृश्य भयले मेरो गलालाई बेस्सरी अँठ्याएको थियो।

बुढो मान्छेको काँपिरहने हत्केला जस्तै भएको थियो, मेरो मन। पेटभित्रबाट केही बटारिएर हरबखत मुखबाट उम्लिन खोजिरहन्थ्यो। म स्थिर हुनसकिरहेको थिइनँ। उदास थिएँ। मलाई थाहा छ, आफूले आफैंलाई उदासी भन्नु अथवा सम्झिनु सबैभन्दा निराशा र दयनीय कुरा हो। तर म आफ्नो यथार्थलाई नकार्न पनि त सक्दिनथें।

आफूलाई साथीहरूबाट अलग र टाढा राखेर अप्राकृतिक उपत्यकाको कस्मेटिक ठाउँहरूमा डुलाउन थालें। तर पनि बेचैन मनले चैन पाएन। सायद मनले पखेटा लगाएर कुनै अर्कै दिशामा उडेर गएको थियो। अन्तत: शिथिल आफूलाई शीतल बनाउन केही समयका लागि उपत्यका बाहिर जाने निर्णय लिएँ। झोलामा एउटा किताबसँगै एक जोडी कपडा कोचें। मोबाइलमा केही गीतहरू भरें। केही फिल्महरू डाउनलोड गरें र बस चढें।

अगाडि पुल भत्किएको हुँदा बस चढेको लगभग दुई घण्टापछि हामी सबै यात्रीहरूलाई जाम र झरीले रोक्यो। मन झन् अधीर हुन थाल्यो। झोलाबाट किताब निकालें। भवानी भिक्षुको ‘आगत’ बोकेर ल्याएको थिएँ। मलाई ‘आगत’ ‘आघात’ जस्तै लाग्यो। अक्षरहरू मलाई मृत लागे। तिनीहरू मभन्दा ज्यादा उदास लागे। किताबलाई झोलामा कोचें र मोबाइल खोलें।

जसरी बादल टाँसिएको आँखाले धमिलो देख्छ, त्यसैगरी उदास मनस्थितिले माहोल पनि त्यस्तै देख्दो रहेछ। मैले सबैलाई निराशाको दलदलमा फसिरहेको देखें। मलाई हाँसिरहने, मुस्कुराइरहने मान्छेहरू सबैभन्दा धेरै उदास लाग्न थाले। सायद त्यसैले पनि होला मैले उदासी बोकेका फिल्महरू ‘द सी अफ ट्री’ र ‘ल्याण्ड’ डाउनलोड गरेर आएको थिएँ।

आफूभित्रको अधीरताको लाभालाई साम्य पार्न ‘द सी अफ ट्री’ हेर्न थालें। लगभग दुई घण्टाको फिल्म सकिंदा पनि जाम खुलेको थिएन।

‘द सी अफ ट्री’ म जस्तै एउटा उदासीको कथा हो। म जस्तै ? म कसरी त्यो पात्रलाई आफूसँग तुलना गर्न सक्छु ? म उसको दाँजोमा कत्ति पनि दु:खी छैन। सायद म उदास नै छैन। हुन सक्छ, मैले कुनै ढोंग गरिरहेको हुँ। मलाई थाहा छैन, उदास हुन मान्छेले दु:खको कतिवटा खुड्किला उक्लिनुपर्छ ? निराशाको कुन चरणमा पुगेपछि मान्छे उदास हुन्छ ? म जस्तै यहाँ कति छन् अथवा वास्तवमै जीवनप्रति मोह नभएका उदासीहरू यहाँ कति छन् ? सबैभन्दा धेरै उदासी कुन देशले बोकेर हिंडिरहेको छ ?

‘द सी अफ ट्री’ को एक उदासी पात्र आफूलाई मार्न जापानको आओकिगाहारा जङ्गलमा जान्छ। म झस्किएँ, कतै म पनि आफ्नो उदासीपनलाई तिलान्जली दिन कुनै आओकिगाहाराको खोजीमा निस्किएको त होइन ?

मैले आओकिगाहाराको नाम योभन्दा अघि पनि कतै सुनेको अथवा पढेको थिएँ। सन् २०१६ मा प्रदर्शित फिल्म ‘फरेस्ट’ हेर्दा मैले आओकिगाहाराको नाम सुनेको थिएँ। उक्त फिल्म त्यहीं हन्टेट जङ्गलको क्यानभासमा कोरिएको छ। फिल्ममा आत्महत्या गर्ने आओकिगाहारामा गएको आफ्नी जुम्ल्याहा बहिनीलाई खोज्न उनको दिदी त्यहाँ जान्छिन्। फिल्ममा भनिएको छ, जो मान्छे हराएका हुन्छन्, आफैंदेखि हारेका हुन्छन्, उनीहरू आओकिगाहारा जान्छन्, आत्महत्या गर्न।

मैले यो फिल्मभन्दा पनि अघि आओकिगाहाराको नाम कतै पढेको थिएँ। जापानमा एउटा यस्तो भयानक जङ्गल छ, जहाँ पसेपछि मान्छेहरू फर्किंदैनन्। मैले यस्तै केही किस्साहरू सुनेको थिएँ तर कहिल्यै गहिरिएर त्यसको बारेमा जान्ने कोसिस गरिनँ। ‘द सी अफ ट्री’ फिल्म हेरेपछि एकाएक मलाई उक्त रूखहरूको समुद्रमा डुबुल्की लगाउन मन लाग्यो। उदासीलाई आफ्नो कोखमा च्याँपेर शान्तसँग निदाइरहेको अशान्त आओकिगाहाराको गहिराइ नाप्न मन लाग्यो।

भन्नेहरूले भन्छन्, जापान उदासीन देश हो। त्यस देशमा उदासीहरूको बसोबास हुन्छ। मान्नेहरूले मानिदिन्छन्, मान्न पाउँछन्। यस्तो भन्नुमा विभिन्न कारण हुन सक्छन्। तर तथ्य र तथ्याङ्कलाई पल्टाएर पढ्ने, जाँच्ने हो भने, जापान उदासी मुलुकको सूचीमा विश्वभरबाट दश मुलुकभित्र पनि पर्दैन।

कला भनेको कुनै पनि भूगोलको, वायुमण्डलको ऐना हो। कलाले त्यो रूपलाई प्रतिबिम्बित गर्छ, जसलाई हामीले देख्न सकिरहेका हुँदैनौं। जापान कला साहित्यमा धनी देश हो। हामी धेरैले जापानलाई साहित्य अथवा सिनेमा मार्फत ज्यादा चिनेका र बुझेका छौं। उनीहरूको साहित्य तथा सिनेमामा प्राय: उदासी र निराशा ओच्छिएको हुन्छ। सायद हामीलाई त्यसैले पनि लाग्छ, जापान उदासीन देश हो र जापानीहरू उदासी।

फेरि यसको मतलब यो होइन, जापान खुसी देश हो। वर्ल्ड ह्याप्पीनेस रिपोर्टले सन् २०२२ मा निकालेको रिपोर्ट अनुसार जापान खुसी मुलुकहरूमा विश्वको ५४औँ स्थानमा पर्छ, जुन विकसित देशहरूको तुलनामा निकै नै कम हो। तर जापानलाई शान्त देश भनेर चिनिन्छ। त्यहाँका मान्छेहरूले सामुराइ कालावधिबाट नै शान्त र संयमित हुनुलाई राम्रो आचरणका रूपमा मान्छन्। त्यसैले जापानीहरू अरू देशका मान्छेहरूभन्दा शान्त स्वभावका हुन्छन्। विश्वका शान्त मुलुकहरूमा जापानले आफूलाई दश देशभित्र समावेश गराएको छ।

दोस्रो विश्वयुद्धपछि जापान कहिल्यै त्यो रहेन अथवा हुन सकेन, जुन पहिले थियो। युद्धपछि जापान टुटेकै हो। जापानले आफ्नो शरीरलाई जोड्न सके पनि आत्मालाई भने कहिल्यै फेरि जोड्न सकेन। जापानले नयाँ अवतार फेर्यो। नयाँ आवरणमा बेरियो। तर त्यो युद्धले दिएको आघातको दाग अहिलेका हरेक जापानीहरूले आफूसँग बोकेर हिंडिरहेका छन्।

सबैभन्दा धेरै भूकम्प जाने देश भनेर जापानलाई भन्दा गलत हुँदैन। भूकम्प मात्रै होइन, सुनामी र ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपको शिकार जापान बारम्बार भइरहन्छ। त्यसले गर्दा पनि जापानीहरूको मस्तिष्कमा ती प्रकोपहरूले दिएको चोट अझै पनि खत भएर बसेका छन्।

यिनै खत र दागले गर्दा होला भन्नेहरूले भन्छन्, अरू देशको तुलनामा जापानका मान्छेहरू धेरैले आत्महत्या गर्छन्। फेरि पनि जानकारी खोज्दै जाने हो भने थाहा पाइन्छ, विश्वका सुसाइडल देशहरू मध्ये जापान दश मुलुकभित्र पनि पर्दैन।

तर यो तथ्यलाई भने नकार्न सकिंदैन, जापानमा हरेक वर्ष थुप्रै मान्छेले आत्महत्याको बाटो रोज्छन्। सन् १९९० बाट जापानमा आत्महत्या गर्ने सङ्ख्यामा अस्वाभाविक रूपमा वृद्धि भइरहेको छ। भन्छन्, वर्षमा तीस हजार भन्दा बढीले आत्महत्या गर्छन्, जापानमा। हरेक १५ मिनेटमा एउटा जापानीले आत्महत्या गर्छ। जापानका मान्छेहरूले सबैभन्दा धेरै आत्महत्या गर्ने कारण मानसिक अवस्था रहेको छ, जसमा पनि उदासी र निराशा सबैभन्दा प्रमुख कारण छन्। यही कारणले पनि हामीलाई लाग्छ, जापान उदास देश हो।

सन् २००८ मा अमेरिकाको ठूलो वित्तीय फार्म ‘लेहमान ब्रोदर्स’ टाट पल्टेपछि त्यसको गहिरो असर जापान र जापानीहरूलाई पर्न गएको थियो। आफ्नो अवस्थालाई झेल्न नसकेर कैयौं जापानीले आत्महत्या गरे। आत्महत्याको सङ्ख्यामा एक्कासि वृद्धि भएको देखेर सरकारले त्यसबेला त्यसलाई महामारीको संज्ञा पनि दिएको थियो।

आत्महत्या गर्न अधिकांश जापानीले त्यही आओकिगाहारालाई नै मुख्य गन्तव्य बनाउँदै आइरहेका छन्।

सन् १९६० मा जापानी लेखक ‘सेइचो मात्सुमोतो’ को उपन्यास ‘कुरोई जुकाई’ प्रकाशित भएको थियो। ‘कुरोई जुकाई’ जसलाई अङ्ग्रेजीमा ‘टावर अफ वेभस्’ पनि भनिन्छ। उक्त किताबमा रहेको कहानीका अनुसार एक प्रेमिल जोडी आओकिगाहारामा जान्छन्, आत्महत्या गर्न र अन्तिममा त्यहीं उनीहरूले मृत्युवरण लिन्छन्।

त्यही किताबबाट प्रभावित भएर विस्तारै मान्छेहरूले आफूलाई त्यस जङ्गलमा लिएर जान थाले र आफ्नो प्राण दिन थाले। मान्छेहरू टाढा-टाढाबाट समाधिस्थ हुन त्यहाँ आउन थाले।

धेरैले मान्ने गर्छन्, त्यही किताबकै कारण मान्छेहरूले आओकिगाहारा जङ्गलमा गएर आत्महत्या गर्ने सिलसिला सुरू भएको हो। विस्तारै उक्त ठाउँ जापानमा मात्रै नभएर विश्वमै चर्चित हुन थाल्यो। अमेरिकामा अवस्थित १.६ किलोमिटर लामो गोल्डेन गेट पुल पछि आओकिगाहारा नै सबैभन्दा धेरै आत्महत्या गर्ने गन्तव्यको रूपमा विश्वभर चिनिन्छ।

उक्त जङ्गल जापानको होन्सु टापुमा अवस्थित माउन्ट फुजीको उत्तर पश्चिममा रहेको छ, जसलाई ‘सी अफ ट्रिज्’, ‘सुसाइट फरेस्ट’, ‘आओकिगाहारा’ आदि नामहरूबाट चिनिन्छ। जापानिज माइथोलोजीको अनुसार त्यो जङ्गल युरीहरू अर्थात् मृत आत्माहरूको घर हो। उक्त जङ्गलले लगभग १००० वर्ष पहिले आफूलाई स्वरूप दिएको मानिन्छ। ९औं शताब्दीमा माउन्ट फुजीमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको लाभामाथि त्यो जङ्गलले आफूलाई आकार दिएको हो। लाभामाथि बसेको जङ्गलमा त्यही भएर म्याग्नेटिक शक्ति ज्यादा रहेको छ, जसले गर्दा त्यहाँ कुनै नेटवर्कले, कम्पासले काम गर्दैनन्। लगभग ३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आओकिगाहारा जङ्गल सुन्दर मात्रै होइन एकदमै सुनसान, घना, गहिरो र सम्मोहित पार्ने खालको छ।

त्यस जङ्गलमा हरेक वर्ष सयौं सङ्ख्यामा मान्छेहरूले आत्महत्या गर्ने गर्छन्। आत्महत्या रोक्न दिनहुँ त्यहाँ प्रहरीहरूको गस्ती हुन्छ। पछिल्लो समय आत्महत्या तथा दुर्घटनालाई रोक्न जापान सरकारले उक्त जङ्गलमा हुने घटनाको तथ्याङ्क निकाल्नै छाडेको छ। अधिकांश मान्छेहरूले आफ्नो घाँटीमा पासो लगाएर, औषधिको ओभरडोजले आफूलाई मार्ने गर्छन्। आओकिगाहारा ज्यादै नै गहिरो, घना र अन्धकार भएको हुँदा कतिपय लासहरूलाई त प्रहरीहरूले पनि फेला पार्न सक्दैनन्।

जापानी दन्त्य कथाका अनुसार, पहिले-पहिले गरिबीका कारण जापानीहरूले आफ्ना परिवारका सदस्यहरूलाई मर्नका निमित्त आओकिगाहारामा छाडिदिन्थे। छाडिएकाहरू थुप्रै दिन भोकले, प्यासले रुन्थे, कराउँथे, चिच्याउँथे। अन्त्यमा छट्पटाउँदै मर्थे। भन्छन्, ती मृतकका आत्माहरूले आओकिगाहारामा जरा गाडिसकेका छन्। ती आत्माहरूले नै त्यहाँ गएकाहरूलाई आत्महत्या गर्न उक्साउँछन्। त्यसैले नै आओकिगाहारालाई श्रापित जङ्गल पनि भनिन्छ।

दोस्रो विश्वयुद्धमा अघिकांश जापानीले आफूलाई बचाउन, लुकाउन माउन्ट फुजीको कोखमा रहेको आओकिगाहारामा गए। थुप्रैले दुश्मनको हातबाट मर्नुभन्दा आफैं मर्न जाती ठानेर त्यहाँ आत्महत्या गरे। त्यो समय जापनामा आत्महत्या गर्नुलाई सम्मानको रूपमा हेरिन्थ्यो। समुराइ कालबाट नै दुश्मनहरूको हातबाट मर्नु भन्दा आफ्नै हातबाट मृत्युवरण लिनु प्रतिष्ठित मृत्यु मानिन्थ्यो। उनीहरू ‘हारा–किरी’ (धारिलो हतियारले आफैंलाई रोपेर मार्नु) विधिबाट आफूलाई मार्थे, जसलाई सन् १९९१ बाट रोक लगाइयो।

सन् १९९३ मा अर्का लेखक ‘वातारु चुरुमी’ ले ‘द कम्प्लिट म्यानुअल अफ सुसाइड’ नामक पुस्तक लेखे, जसमा आत्महत्या गर्ने विभिन्न तरिकाको बयान, वर्णन गरेका छन्। उक्त किताबमा आओकिगाहाराको पनि जिकिर गरिएको छ। त्यस किताबमा कसरी उक्त जङ्गलमा गएर मर्न सकिन्छ भनेर विस्तृत जानकारी दिइएको छ। त्यो किताबले आगोमा घिउको काम गरिदियो। बाँच्न नचाहनेहरूका लागि बाटो देखाइदियो। मान्छेहरू आफूलाई मार्न त्यस जङ्गलमा झन् ओइरिन थाले।

वर्षेनि कैयौं सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू उक्त जङ्गलको अवलोकन गर्न टाढा-टाढाबाट आउँछन्। शैक्षिक भ्रमणका लागि भनेर स्कुल, कलेजका विद्दार्थी पनि आउने गर्छन्। घुम्न आएकाहरूले अनेक किस्सा, अनुभव आफूसँग लिएर फर्किन्छन्। भन्छन्, आओकिगाहाराको मुख्य बाटोबाट भट्कियो भने त्यहीं हराइन्छ। त्यसैले पनि केही मान्छेहरूले बाटो पहिल्याउन रूखहरूमा विभिन्न रङका रिबन बाँध्ने गर्छन्। उक्त जङ्गलमा मरेका मान्छेहरूका कपडा, जुत्ता, लागूऔषधि, कंकाल, पत्रहरू भेटिने गर्छन्। सन् २०१८ मा चर्चित युट्युबर ‘लोगन पउल’ ले त्यहाँको भिडियो खिचेर सार्वजनिक गरेका थिए, जुन निकै नै विवादित भएको थियो।

त्यहाँका स्थानीयका अनुसार आओकिगाहारा यस्तो ठाउँ हो, जहाँ मृतात्माहरूलाई यातना दिइन्छ, आफूले जीवनभरि गरेको पापका लागि।

अहिलेसम्म आओकिगाहारामा आधारित रहेर थुप्रै उपन्यास, नाटक, डकुमेन्ट्री, फिल्महरू बनिसकेका छन्।

“तपाईंको जीवन, तपाईंका आमाबुबाले दिनुभएको सबैभन्दा अमूल्य उपहार हो। कुनै प्रकारको निर्णय लिनुभन्दा पहिले आफ्ना आमाबुबा र बच्चाको बारेमा सोच्नुस्। आत्महत्या नै अन्तिम बाटो होइन।”

यही चेतावनी लेखिएको तखता जापानको आओकिगाहारा जङ्गलभित्र प्रवेश गर्ने मूलमार्गमा झुन्ड्याइएको छ। आओकिगाहारा अर्थात् रूखहरूको समुद्र।

“यदि कसैले तिमीलाई भन्छ, मलाई अन्धकारदेखि डर लाग्दैन। यत्ति बुझ, त्यो मान्छेले अहिलेसम्म आओकिगाहारा जङ्गलमा रात बिताएको छैन। तिमी जतिसुकै बहादुर किन छैनौ, त्यो जङ्गलमा रहेको विषले तिम्रो मस्तिष्कमा एक प्रकारका कीराहरू छाडिदिन्छन्, जसले तिमीसँग नभएको भयलाई जन्माइदिन्छ” लेखक ‘जेरेमी बेट्स’ले ‘सुसाइड फरेस्ट’ उपन्यासमा लेखेका छन्।

त्यस्तो भयानक र श्रापित जङ्गललाई क्यानभास बनाएर कोरिएको चित्र ‘द सी अफ ट्री’ फिल्म मलाई मन पर्यो।

सायद हामी सबैभित्र पनि कतै-न-कतै, कुनै-न-कुनै प्रकारका समुद्र हुन्छन्, जहाँ डुबेर मर्छन् कहिलेकाहीं बाँच्ने अभिलाषाहरू। तर कैयौं सपना मिठो स्वार्थ बोकेर पौडिरहेका हुन्छन् बाँच्ने लोभमा।

उदास हुनु आफ्नै दास हुनु हो। उदासी यस्तो रोग हो, जुन एउटाबाट अर्कोमा सर्दैन। यो सरूवा रोग होइन, न त यो वंशाणुगत रोग नै हो। यसको उपचार छैन। यो आजीवन रहिरहन्छ। वास्तवमा उदासी रोग होइन, मान्छेको गुण हो। मान्छेको अस्तित्व हो। जबसम्म मान्छेसँग उदासी छ, ऊ जीवित छ।

Related Articles

Leave a Reply

Check Also

Close
Close