[ THE KEY COLLECTOR ]

कुनै समय एक जना मान्छे थियो, जसले चाबीहरु जम्मा गर्ने काम गर्थ्यो । नयाँ चाबी । पुराना चाबी । भाँचिएका चाबी । हराएका चाबी । चोरिएका चाबी । अस्थिपन्जर चाबी । उसले हरेक आकार-प्रकारका चाबी जम्मा गर्ने काम गर्थ्यो ।
ती चाबीहरुलाई उसले गोजिमा राख्ने गर्थ्यो । मालामा उन्ने गर्थ्यो । त्यहीँ माला लगाएर ऊ शहर-बजार हिंड्ने गर्थ्यो । शहरका सबै मान्छेहरुलाई उसको बारेमा थाहा थियो । केहिलाई चाहिँ उसको यो बानी अचम्मको लाग्थ्यो ।
यदि कसैको चाबी हरायो अथवा भाँचियो भने उनिहरु त्यही चाबी जम्मा गर्ने मान्छे कहाँ जान्थे र आफ्ना दुख सुनाउथे । उसले तुरुन्तै उनिहरुलाई मिल्ने चाबी दिन्थ्यो । यसरी नयाँ चाबी किन्नु भन्दा ऊ कहाँ जाँदा समस्याको समाधान छिटो हुन्थ्यो ।
ऊ चाबीहरु प्रती त्यति लिप्त पनि थिएन । यदि कसैलाई चाबीको जरुरत छ भने ऊ नहिच्किचाई सजिलैसँग दिन्थ्यो । धेरै मान्छेहरुले उसको चाबी प्रयोग भैसकेपछी उसलाई नै फिर्ता दिन्थे ।
मान्छेहरुले यात्राका क्रममा भेट्टाएका विभिन्न आकारका, दाँतका चाबीहरु, बढी भएका चाबीहरु उसलाई उपहारस्वरूप दिन गर्थे । उसको चाबीको कलेक्सनमा थुप्रै मान्छेहरुको योगदान थियो ।
बिस्तारै ऊ सँग थुप्रै चाबी हुन थाल्यो । उसले चाबीहरु आफ्नो घरमा सजाउन थाल्यो । रिबनमा बाँधेर झ्यालमा पर्दा जसरी झुन्ड्याउन थाल्यो । बुक-सेल्फमा राख्न थाल्यो । भित्तामा तस्बिर झुन्डाएसरी झुन्डाउन थाल्यो ।
केही नाजुक / महत्त्वपूर्ण चाबीहरु काँचभित्र, बाकसभित्र राख्न थाल्यो । केही भने बकेट, बास्केट भित्र । किचेनमा रहेका कप, गिलास, जार हरेक भाँडाकुडामा उसले चाबी राख्न थाल्यो ।
केही वर्षपछि उसको पुरै घर चाबीहरुले भरियो । उसले घरको बाहिर पनि चाबी झुन्डाउन थाल्यो । ढोकामा, झ्यालमा, छतमा । जताततै ।
उसको घरलाई सबैले चिन्थे । जताबाट पनि उसको घरलाई सजिलोसँग चिन्न सकिन्थ्यो ।
एकदिन उसको घरमा एउटा सुन्दर युवती देखा परिन् । उनी आफ्नो हराएको चाबी खोज्न आएकी थिइन् ।
दुबै जना भएर चाबी खोज्न थाले । घरको हरेक कोठा चहारे । भान्सा देखि छत । हरेक आकार-प्रकारका चाबीहरु जाँचे । घन्टौं बित्यो, रात पर्न लाग्यो तर ती युवतीले खोजेको चाबी कतै भेटिएन ।
युवती निराश भइन् । आफ्नो घर फर्किने निर्यण गरिन् । युवतीलाई उसले घर पछाडीको बगैंचामा लिएर गयो । बगैंचा भरी चाबी चाबी नै थियो । रुखभरी रिबनमा बाँधेर झुन्डाएका चाबी । बगैंचाको बाटो, ढुङ्गामा छरिएका / छापिएका चाबी । पानीको धारामा चाबी । जताततै चाबी नै चाबी ।
अन्ततः युवतीले आफ्नो चाबी रुखमा रिबनमा बाँधिएको भेटाइन् । दुबै खुसी भए ।
युवतीले भेट्टाएको चाबी आफू अघि हावामा पसाइन् र घुमाइन् । चाबी जम्मा गर्ने मान्छेलाई लाग्यो, सायद त्यहाँ कुनै अदृश्य ढोका हुनुपर्छ । नभन्दै बगैंचामा रहेको अदृश्य ढोका खुलियो । ऊ अचम्मित भयो । उसलाई विश्वास गर्न निकै गार्हो भयो ।
उसले ढोका भित्र नियाल्यो । ढोकाभित्र भब्य आकारका झ्याल भएको सुनौलो कोठा थियो । कोठाभित्र रहेको टेबलमा थुप्रै मैनबत्तीहरु बलिरहेका थिए । संगीत गुन्जिरहेको थियो । मान्छेहरु हाँसोहरु हल्लिरहेका थिए । झ्याल बाहिर उसले नजर लगायो । झरना झरिरहेको थियो । बडेमानको पहाड उभिएको थियो । आकाश दुईवटा चन्द्रमा, र समुन्द्रमा परावर्तित भएका अनगन्ती ताराहरुको प्रकाशले उज्यालो भएको थियो ।
युवती ढोका भित्र पसिन् ।
उसले ढोकामा उभिएर युवतीलाई हेरिरह्यो । युवती पछाडी फर्किन् र आफ्नो हात दिएर उसलाई इसारा गरिन् । उसले युवतीलाई पछ्यायो । उनिहरु पछाडी रहेको अदृश्य ढोका बन्द भयो ।
त्यो दिन पछि चाबी जम्मा गर्ने मान्छेलाई कसैले देखेनन् ।
कसैले भेटेनन् ।
One of the magical story from the MAGICAL BOOK – “THE STARLESS SEA”
{ “THE STARLESS SEA” कथा संग्रह होइन । यो एउटा फ्यान्टसी उपन्यास हो । यहाँ यस्ता जादुई कथाहरु / कहानीहरु थुप्रै छन् । जसका पात्रहरु एक-अर्कासँग जोडिएका छन् । बाँधिएका छन् । बेला-बेला उनिहरु आफ्नो कथाबाट बाहिर निस्कन्छन् र अरुको कथामा पस्छन् ।
यो यस्तो कथाको कथा हो जो समाप्त हुँदैन मात्र परिवर्तन भै’रहन्छ । }