गन्ध   

“तपाईं मान्छेहरूलाई कसरी सम्झिनुहुन्छ ?”

यो प्रश्न सोधिरहदा उसको चित्रपटझैँ लाग्ने अनुहारमा कस्तो प्रकारको भावको रङ्ग पोतिएको थियो, म त्यसलाई पढ्न सकिरहेको थिइनँ । उसको कस्तो मनोभाव आवृतिबाट यो प्रश्न निस्किएको थियो, मैले पछ्याउँन सकिनँ । त्यो बेला म उसको प्रश्नले बोकेको नियत र मर्मलाई पनि बुझ्न असमर्थ भएको थिएँ । 

सबै प्रश्नहरूले जवाफ मात्रै खोज्दैनन् । मैले अनुमान कोरलेको थिएँ, उसको त्यो प्रश्नले जवाफ होइन, सायद मबाट अरू नै केही अर्थ खोजिरहेको छ । त्यो प्रश्नले आफूसँग अन्योलताको पखेटा रोपेर आएको थिएन, तर पनि म एक प्रकारको असमन्झसमा उडिरहेको थिएँ । किनभने मैले जस्तो जवाफ दिएपनि मेरो चित्त मसँग सन्तुष्ट हुनेवाला थिएन । मेरो हरेक जवाफ कुनै न कुनै साँघुरो दायरामा बाँधिन्थ्यो । त्यो प्रश्न मेरो एकोहोरो, एकैनासले हिंडिरहेको मनोदशामा ठेस लाग्न आएको थियो । म झस्किएको थिएँ । 

म अन्जान थिएँ, उसले मबाट कस्तो किसिमको प्रतिक्रियाको अपेक्षा गरिरहेकी थिई ? मेरो अन्तर्हृदयले पनि मलाई कोतारिरहेको थियो, “साँच्चै, म मान्छेहरूलाई कसरी सम्झिन्छु ?”

बिर्सिनेहरूले बरू सजिलैसँग बिर्सिन्छन् । मलाई जान्न मन छ, ती निर्दयीहरूसँँग कस्तो संवेदनाहरू बोकेको हृदय हुन्छ ? तर, सम्झिनेहरूले धेरै विचार गर्नुपर्छ । किनभने सम्झनाहरूले आफूसँग लगाम लगाएर आएका हुँदैनन् । सम्झिनु भनेको आफूभित्र अरूनै कसैको अंशलाई सुरक्षित गरेर राख्नु हो । तिनीहरूलाई जीवित बनाएर राखिराख्नु हो । सम्झिनु भनेको जीवित हुनु हो । 

मान्छेहरूले विभिन्न कारणले सम्झिन्छन् । अनेक बहानामा सम्झिन्छन् । उनीहरूले एकअर्कासँग साटेका मीठा-अमीठा घटना अथवा दुर्घटनाले गर्दा सम्झिन्छन् । केही सम्झनाहरू बगरजस्ता हुन्छन्, केही छालजस्ता । सायद हामी मान्छेहरूलाई उनीहरूले गरेको कर्मले सम्झिन्छौँ । उनीहरूले आफूमा पारेको प्रभावले सम्झिन्छौँ । उसले सोधेको सायद त्यो प्रश्नमात्रै थिएन, मेरो निमित्त परीक्षा पनि थियो, जहाँ यो निरीह जसरी पनि असफल हुन्थ्यो । त्यो प्रश्न एउटा दस्तक थियो, जसले मलाई बोध गराएको थियो, सामाजिक अस्तित्वमा बाँधिएर बाँच्ने विवशताको । 

म मौन रहेँ । सायद मेरो मौनतानै उसको प्रश्नको जवाफ भइदियो ।

“म मान्छेहरूलाई कसरी सम्झिन्छु, थाहा छ ?” हुर्किदै गइरहेको मौनतालाई ढाल्दै उसले आफ्नो प्रश्नमा अर्को पनि प्रश्न खप्टाई । 

म माकुराको जालमा अल्झिएको पुतलीझैँ भए । म उसका पारदर्शी आँखाहरूमा तैरिदै अनुमानको किनार लाग्न थालेँ । म अड्कल काट्न सक्थेँ, उसको जवाफ प्रश्नभन्दा भारी हुन्छ । किनभने ऊ थिई नै त्यस्ती, भारी । मलाई थाहा थिएन, कस्ता-कस्ता वेदनाहरूले उसलाई भरिया बनाएका थिए । सायद ऊ भारी होइन, भरी थिई । यस्तो लाग्थ्यो, उसका आघातहरूले ऊभित्रका संवेदनाहरूलाई निस्तेज बनाउँदै लिएर गइरहेका छन् । 

भित्रैबाट रित्तिदै गइरहेकाहरू बाहिरबाट भरी देखिदा रहेछन् । 

“म मान्छेहरूलाई उनीहरूको गन्धले सम्झिन्छु ।” यो भनिरहदा उसको अनुहारमा एक प्रकारको आभा झल्किएको थियो, जसले एकैपटक धेरै थोक व्यक्त गरिरहेको भान हुन्थ्यो । सायद संवेदनाहरू मर्दै गएपनि ऊभित्रको ज्ञानेन्द्रियहरू अझैं मरिसकेका थिएनन् । 

मैले धेरै पहिले पढेको थिएँ, जन्मिएपछि सुँघ्ने क्षमता नै सबैभन्दा पहिले र छिटो सक्रिय हुने मान्छेको ज्ञानेन्द्रिय हो । सायद त्यसैले पनि होला, नवजात शिशुले आफ्नो आमालाई गन्धले सजिलैसँग पहिचान गर्न सक्छ । 

मेरो नाक सक्कसकाएको थियो । मेरो मस्तिष्कमा भिजेको माटोको गन्ध, भुँइमा झरेको पारिजातको गन्ध, चितामा जलिरहेको मृत्युको गन्ध सबै एकैपटक मिसिएर बगिरहेका थिए । गन्धको निमित्त झर्नु पर्ने रहेछ, भिज्नु पर्ने रहेछ, जल्नु पर्ने रहेछ । बुबाको काँधमा बस्दा पसिनाको गन्ध र आमाको काखमा पल्टिदा दुधको गन्ध मेरो रगतसँगै नसामा बग्न थालेको थियो । मलाई थाहा हुँदै गयो, गन्ध हावाको रूपमा मात्रै होइन, तरलता भएर पनि बग्दो रहेछ । 

के मान्छेको पनि गन्ध हुन्छ ? मान्छेको गन्धले आफूलाई कस्तो आवरणमा ढाकेको हुन्छ ? मेरो प्रश्नवाचक अनुहारलाई ताकेर उसको मुखबाट लगातार शब्दहरू पोखिरहेका थिए, “तपाईंले कहिल्यै महसुस गर्नुभएको छ कि छैन, हरेक मान्छेको गन्ध फरक-फरक हुन्छ ।”

विभिन्न अत्तरको लेपेन लगाएर हिंड्ने मान्छेहरूलाई मैले त्यसरी कहिल्यै सुक्ष्म तरिकाले तौलिएको थिइनँ । मैले ऊबाट थाहा पाएको थिएँ, सुँघेर होइन महसुस गरेर मान्छेको गन्ध थाहा पाइन्छ । 

“मान्छेको अनुहार र भाग्य मिल्न सक्छ, तर कहिल्यै उनीहरूको गन्ध मिल्दैन ।” उसको अनुहारलाई सपाट नकाबले ढाकिनै रहेको थियो । 

भनिन्छ, गन्धले यादहरूलाई सम्झिनका निमित्त ठूलो भूमिका खेलेको हुन्छ । उमेर छिप्पिदै र ढल्किदै जाँदा हाम्रो सुँघ्ने क्षमता पनि क्षीण हुँदै जान्छ । जसको कारणले हाम्रो मस्तिष्कले अंगालेका स्मृतिहरू क्रमश: विस्मृति हुँदै जान्छन् । सायद याद भनेकै गन्ध हो । मलाई लाग्छ, हामी मृत्युपश्चात रित्तो जाँदैनौँ । जीवनभर संगालेका यिनै गन्धहरू साथमा लिएर जान्छौँ । 

स्मृतिहरूलाई मस्तिष्कले जोगाउछ । भावनाहरूलाई मनले सम्हाल्छ । गन्धहरूलाई शरीरको कुन चाहिँ ग्रन्थिले संग्रहित गर्छ, मलाई थाहा थिएन । 

“मलाई तपाईंको गन्ध मन पर्छ ।” उसले यो भनिसकेपछि मैले आफ्नो मगजलाई खोतालेको थिएँ । हृदयभित्र नियालेको थिएँ । सायद मान्छेको गन्ध यिनै मन-मस्तिष्कले भण्डारण गरेर राख्दो हो । मेरो शरीरबाट कस्तो गन्ध अथवा दुर्गन्ध आएको थियो, मलाई थाहा थिएन । सायद म कस्तुरीजस्तै थिएँ, आफ्नै गन्धलाई पहिचान गर्न सकिरहेको थिइनँ । 

“अनि तिम्रो गन्ध चै ?” मेरो प्रश्नले आकाशमा रहेका काला बादलहरूलाई बढार्दै उसको अनुहारमा ल्याएको थियो । ती काला बादलहरू पग्लिनुपूर्व नै उसले मलाई प्रतिप्रश्न गरेकी थिई, “एउटा परित्यक्त घरको वर्षौँदेखि बन्द कोठा खोल्दा कस्तो गन्ध आउँछ, तपाईंलाई थाहा छ ?”

मेरो नाकको पोरामा गुन्सिएको गन्ध सल्बलाएको थियो । ओस्सिएको गन्ध । केही सडेको जस्तो गन्ध । के ऊ कुँहिदै थिई ?

सायद त्यो एक्लोपन र उदासीनताको गन्ध थियो । यस्तो घाउको गन्ध थियो, जसले कहिल्यै नमेटिने खत छाडेर गएको थियो । मसँग भेट्नुभन्दा अघि ऊ कस्ती थिई, मलाई थाहा थिएन । मैले उसको अतीत कहिल्यै जान्ने कोसिस पनि गरिनँ । मलाई ऊ आकाशमा उडिरहने बादलजस्तै लाग्थ्यो, जो हरेक क्षण आफ्नो आकार र दिशा परिवर्तन गरिरहन्छ । ऊ रोगी थिई । ऊभित्र कुनै प्रकारको रोग हुर्किरहेको थियो । यस्तो लाग्थ्यो, मैले कुनै रोगीलाई होइन, रोगलाई प्रेम गरिरहेको छु, जुन मभित्र पनि बिस्तारै सल्किदै गइरहेको छ । 

मैले छुट्याउन सकिनँ, त्यो समय ऊ बाँचिरहेकी थिई अथवा बाँच्ने अभिनय गरिरहेकी थिई ?

मलाई आकाशमा पौडिरहेका बिचरा चराहरू कहिल्यै स्वतन्त्र लाग्दैनन् । बरू उनीहरूका पखेटाबाट उप्किएर हावामा तैरिरहेका प्वाँखहरू स्वतन्त्र लाग्छन् । मलाई रूखका हांगामा झण्डिएका पातहरू कहिल्यै बाँचिरहेका जस्ता लाग्दैनन् । बरू हांगाबाट छुटिएर जमिनलाई स्पर्श गरिरहेका पातहरू बाँचिरहेका जस्ता लाग्छन् । कहिलेकाहीँ जीवित हुन झर्नु पर्दो रहेछ । सायद ऊ पनि झरिरहेकी थिई केहीबाट अथवा कोहीबाट । त्यसैले ऊ बाँचिरहेको जस्तो देखिन्थी । 

कहिलेकाहीँ त यस्तो लाग्थ्यो, मैले नै उसलाई रोगी बनाएको हुँ । रोग ऊभित्र होइन, मभित्र थियो । मैले गर्दा नै ऊ खिइदै गइरहेकी थिई । सायद म सुयोगबिर भएको थिएँ र ऊ सकमबरी । मेरो स्पर्शले नै आफ्नो वृत्तमा झुण्डिरहेकी ऊ एक्कासि झरेकी हो । मभित्रको विषले नै उसलाई कमजोर बनाउदै लिएर गएको हो । 

हामी चुपचाप छुटिएका थियौँ, जसरी छुटिन्छन् निदरीबाट सपनाहरू । छुटिने बेला उसले मलाई पत्र थमाइदिएकी थिई, जसमा यति मात्रै लेखिएको थियो, “फरक-फरक बाटो हुँदै आ-आफ्नै गन्तव्य ताकेर हिंडिरहेका हामी एकैपटक थाक्नु र एउटै चौतारीमा थकाई मार्न बस्नु सायद संयोग मात्रै थियो । मेरो थकाई तपाईंभन्दा चाडैं मार्यो, म आफ्नो बाटो हिंडे । सायद तपाईं मभन्दा धेरै लामो बाटो हिंडेर आउनुभएको थियो । तपाईंसँग अझैं थकाई छ । तपाईं आराम गर्नुस् ।”

सायद उसलाई कतै पुग्न हतार थियो । अथवा मेरो गन्धले उसलाई शिथिल बनाउँदै लिएर गएको थियो । हुन सक्छ, उसलाई मेरो गन्ध मन पर्न छाडेको थियो । उसले दिएको पत्रमा एक प्रकारको गन्ध थियो, जसलाई मेरो नाकले होइन मस्तिष्कले अहिले पनि सुँघ्न सक्छ । सायद त्यो गन्ध उसको नभएर हाम्रो बिछोडको थियो । मान्छेजस्तै हरेक घटनाको पनि आफ्नै गन्ध हुँदो हो । अहिले ऊ कुन भूगोलको हावालाई आफ्नो फोक्सोमा हालिरहेकी छे, मलाई त्यसको ज्ञान छैन । तर म भन्न सक्छु, ऊ कुनै अर्को चौतारीमा बसेर विश्राम गरिरहेकी छे । ऊभित्रको रोग मरिसकेको छ । सायद मेरो गन्ध पनि उसले बिर्सिसकेको छ । 

अथवा ऊ कतै जलिरहेकी हुनसक्छ र म यहाँ धुवाँ भएर पुत्पुताइरहेको छु । 

अतीत, साथ र बिछोडले मात्रै बनेको हुँदैन । अतीतलाई दाग र खतहरूले मात्रै बुनेका हुँदैनन् । अतीतमा सम्झना र यादहरू मात्रै बल्झिएका हुँदैनन् । त्यसैले अतीत आघातमात्रै होइन । अतीत घाउमात्रै होइन, मल्हम पनि हो । कसैको अतीत हुनु सुन्दर आभास हो । म उसको अतीत भइसकेको छु । कम्तीमा अतीत हुने सौभाग्य पाएको छु । 

सायद मान्छेजस्तै दिन र रातको पनि गन्ध हुन्छ । समयको हरेक प्रहरको गन्ध हुन्छ । आँसु र मुस्कानको गन्ध हुन्छ । हरेक संवेदना र सम्बन्धहरूको गन्ध हुन्छ । हरेक थोकको गन्ध हुन्छ । वायुमण्डलमा हावाभन्दा ज्यादा गन्ध हुन्छ । आज एक्कासि धेरै समयदेखि बन्द भएको अतीतको ढोका खोल्दा केही सडेको गन्ध आयो, जसले उसलाई सम्झना बनाएर मेरो मस्तिष्कमा लिएर आयो । के मैले उसलाई बिर्सिसकेको थिएँ ? आज मैले गन्धले गर्दा उसलाई सम्झिएँ । के मैले पनि मान्छेहरूलाई उनीहरूको गन्धले सम्झिन थालेको हुँ ? के उसले आफ्नो गन्ध मलाई सारेर गएकी हो ? सायद मेरो शरीरमा टाँसिएको यो गन्ध उसको होइन, मेरो नै हो । मेरो अतीतको गन्ध । मेरो आघातको गन्ध । हुन सक्छ, उसले आफ्नो गन्ध होइन, मलाई मेरो गन्ध चिनाएर गएकी हो । 

मैले थाहा पाएँ, जसरी माटोको गन्ध थाहा पाउन आकाशबाट झरी झर्नुपर्छ, त्यसरी नै कसैको अस्तित्व थाहा पाउन, अरू नै केहीको उपस्थिति हुनुपर्ने रहेछ । 

Related Articles

Leave a Reply

Check Also

Close
Close