कहानी

एउटा क्याफे । ठिक्कको क्याफे । सायद औसत भन्न मिल्छ । तर मलाई औसत शब्द त्यति मन पर्दैन । औसत शब्द आफैंमा कस्तो औसत सुनिन्छ । यसरी औसत भन्दा केहीलाई, कोहीलाई ज्यादै नै तौलिएको, नापेको जस्तो सुनिन्छ । त्यसरी अरूलाई मूल्याङ्कन गर्ने आफ्नै सोचाइ, हेराइ नै कस्तो औसत लाग्छ ।
एउटा क्याफे, सानो चिटिक्कको बगैंचा भएको । बगैंचाभरि आउटडोर प्लान्टका साथै केही सिजनल फूलहरू फुलिरहेका । बगैंचातिर फर्किएको ओपन-बार । बारमा विभिन्न प्रकारका बिदेशी स्वदेशी अल्कोहोलिक तथा नन-अल्कोहोलिक पेय-पदार्थहरू सजिएका । फिल्टर-कफीको वास्ना आइरहेको बारसँग जोडिएको कफी काउन्टर । बगैंचाको बिचबिचमा छरिएका मार्बलका पाँच टेबल । टेबललाई घेरिरहेका कुर्सीहरू । भित्र हलमा चारजोडि टि-टेबल सहितका सोफासेट । अर्को हलमा सेटअप सजिएको आठवटा टेबल ।
कोही एक्लै, कोही जोडी, कोही साथीहरू, कोही परिवारसँग खाइरहेका । रमाइरहेका । हल्ला, हाँसोहरू गुन्जिरहेका । पृष्टभूमिमा बजिरहेको गीतसँगै हुक्का र चुरोटबाट फुस्किएका धुँवाहरू नाचिरहेका ।
म बगैंचामा फर्किन्छु । एउटा टेबल ओगटेर बस्छु । भिरेको झोला फुकाल्छु । झोलाबाट ल्याप्टप निकाल्छु र टेबलमा राख्छु । चुरोटको बट्टा र लाइटर पनि राख्छु । मोबाइल साइलेन्ट मोड बनाएर राख्छु । लगाइरहेको चश्मा फुकाल्छु । हेडफोन झिक्छु । शरीर तन्काउँछु । आफूलाई हलुका महसुस गर्छु ।
पुन: आफ्नो नजर चारैतिर ओछ्याउँछु । एउटा टेबलमा एक अधबैंसेलाई देख्छु, ल्याप्टपमा घोत्लिरहेको । उसको सन्मुख देख्छु, फ्रेस-जुसले भरिएको गिलास । बगैंचामा भएका अरू टेबलहरू ग्राहकहरूलाई कुरेर बसिरहेका हुन्छन् ।
म नजर मोड्छु, आफ्नै टेबलतिर ।
वेटर आउँछ मेनु लिएर अर्डर लिन । म मेनुनै नहेरि माग्छु, डबल-सट एमेरिकानो । ऊ मेरो अर्डर च्याँपेर फरक्क फर्किन्छ ।
टेबलबाट चश्मा उठाउँछु र लगाउँछु । ल्याप्टप अन गर्छु । हेडफोनलाई ब्लुटुथ कनेक्ट गर्छु र कुनै डिप-म्युजिक लगाउँछु । चुरोट निकाल्छु र सल्काउँछु । गुगल-डक्स् खोल्छु । खाली पन्ना मेरो ऐनाझैं बन्छ ।
अब के लेख्यौँ ? औंलाहरू किबोर्डलाई ताकेर बसिरहन्छन् । एक गुच्छा धुँवा आकाशतिर हुत्याउँछु ।
दुईदिनमा एउटा कथा लेखेर कसैलाई बुझाउनु छ । मस्तिष्कमा दुइ-तीनवटा प्लटहरू नभएका होइनन् । तर प्लटहरू कथा होइनन् ।
मैले कसैलाई कुनै बेला भनेको भनेको थिएँ, प्लट भनेको बिउ हो । बिउ कहाँ रोप्ने, कस्तो माटोमा रोप्ने, कस्तो हावापानीमा रोप्ने त्यो क्यानभास हो । बिउ रोपेपछि पानी, सूर्यको किरण, मल, औषधि भनेको तिम्रो लेखाई, भाषा, शैली, उत्कथन हो । जब बिउ उम्रिदै काण्ड देखिन्छ, त्यो मूल कथा हो । हांगाहरू, उपकथा हुन् । पातहरू पात्रहरू हुन् । रूख तब बलियो हुन्छ जब जराले माटोलाई मज्जाले समातेको हुन्छ । जरा तिम्रो कथाको मर्म हो । तिमीले भन्न खोजेको सार हो ।
मैले कति सजिलै भनिदिएको थिएँ । लाग्थ्यो, कथा, उपन्यास लेख्न त्यति गार्हो नै छैन ।
म बिस्तारै बुझ्दै छु, लेख्नका लागि प्लट मात्रै भएर नहुने रहेछ । कुनै महान लेखकको लेखन नियमलाई पछ्याउँदैमा मात्रै नहुने रहेछ । शब्दहरूको जालो मात्रै बुनेर नहुने रहेछ । लेख्नका लागि अध्ययन जरूरी छ । अनुसन्धान, अनुशासन, अनुभव, अभ्यास, आत्मबिश्वास आवश्यक छ । लेखकसँग कल्पनाशक्ति हुनुपर्छ । धैर्य हुनुपर्छ । आफू बाहिरको परिस्थिति र आफूभित्रको मनस्थिति उपयुक्त हुनुपर्छ ।
कथा कनेक्टिङ्ग हुनुपर्छ । कन्भिन्सिङ्ग हुनुपर्छ । केयरका साथ लेखिनुपर्छ । कन्ट्रोलकासाथ लेखिनुपर्छ । कन्भिक्सनका साथ लेखिनुपर्छ । लेख्नका लागि धेरै थोक चाहिने रहेछ । तर कहिलेकाहीँ सबै भएर पनि लेख्न नसकिने रहेछ । लेख्नका लागि केही अधुरोपन पनि चाहिने रहेछ । अंहकार चाहिने रहेछ । असन्तुष्टता चाहिने रहेछ । अनिन्द्रा चाहिने रहेछ । अभाव चाहिने रहेछ ।
काँचको कपमा एमेरिकानो आइपुग्छ । कफीको चुस्की र चुरोटको धुँवा निल्दै मस्तिष्कमा रहेका कथाका प्लटहरूलाई चलाइरहन्छु ।
औंलाहरू किबोर्डमा बिस्तारै चल्मलाउन थाल्छन् । अक्षरहरू, शब्दहरू, वाक्यहरू बिस्तारै छापिन थाल्छन् ।
“सूर्य अस्ताइसकेको छ । चन्द्रमा उदाउँदैछ । केही अस्ताएपछि केही उदाउनुपर्ने रहेछ ।
चिसो हावाले बिस्तारै गाढा रातलाई बढाल्दै लिएर आउँछ ।
रातको बात म बुझ्न सक्दिनँ । मलाई रातको साथ अनौठो लाग्छ । रात सबैका लागि एउटै रूप, स्वरूप लिएर कहिल्यै नआउने रहेछ ।
केही रात भएको छ, रातले मेरो लागि निन्द्रा लिएर आउन छाडेको छ । सपना बोकेर आउन छाडेको छ । रातले राहत लिएर आउन बिर्सेको छ । आराम ल्याउन बिर्सेको छ । हिजोआज रातले अनिन्द्रा बोकेर आउने गर्छ । बैचनी बोकेर आउने गर्छ । बिझ्ने यादहरू, सम्झनाहरू ल्याउने गर्छ । ऐंठन लिएर आउछ । रातले आहत लिएर आउन थालेको छ ।
मलाई अन्धकारदेखि होइन, रातदेखि डर लाग्न थालेको छ ।
म चाहन्छु मेरो लागि कहिल्यै रात नहोस् । नआओस् । रातले मलाई एक्लो बनाउछ । उदास बनाउछ । दुखी बनाउछ ।
रातले मलाई अबगत गराउछ । बोध गराउछ, मेरो यथार्थको । मेरो अस्तित्वको । मेरो आत्माको । मेरो अभावको । रातले मलाई मेरो धरातल देखाउछ । मलाई निचोर्छ ।
हुन सक्छ, रातले मेरो वास्तविक अनुहारलाई प्रतिबिम्बित गरिरहेको हो । सायद म यस्तै छु ।
रात कहिल्यै दिन जस्तो झुठो हुन सक्दैन । रात स्पष्ट हुन्छ । प्रष्ट हुन्छ । दिनको जस्तो रातसँग कुनै छाया हुँदैन । रात आफैंमा एउटा विराट छाया हो । दिन मायावी हुन्छ, तर रात मेरो लागि मायालु किन हुन सक्दैन ?
मलाई रात कहिल्यै शान्त लाग्दैन । रात मलाई सन्नाटाले भरिएको चर्को कोल्लाहल लाग्छ, जसले मेरो कानको पर्दालाई होइन, ह्रदयलाई ठुङ्गे गर्छ । म कानलाई थुन्न सक्छु, ह्रदयलाई सक्दिनँ ।
म रातमा सुन्न सक्छ, विभिन्न आवाजमा आइरहेका रुवाइहरू, चित्कारहरू, रोदनहरू, आहटहरू । मलाई तिनीहरूले घायल बनाउछन् । बेलाबेला सोच्छु, सायद म मात्रै एक्लो छैन । अधुरो छैन । म जस्तै अरू पनि छन् । मैले सन्नाटामा सुन्ने आवाजहरू अरू कसैका होइनन्, म जस्तै उदासीहरूका हुन् । दुखीहरूका हुन् ।”
एउटा युवती बगैंचाको अर्को टेबलमा आएर बस्छिन् । किबोर्डमा मेरा औंलाहरू चल्मलाउन छाड्छन् ।
उक्त युवतीले मेरो ध्यान खिच्छिन् ।
उनले वेटरलाई बोलाएर बियर मगाउँछिन् । आफूसँग लिएर आएको चुरोट सल्काउँछिन् । हामी दुबैको मुखबाट फुस्किएको धुवाँको गुच्छा एउटै हावामा मिल्न जान्छ ।
म अधबैंसेतिर फर्किन्छु । ऊ त्यसरी नै ल्याप्टपमा घोत्लिरहेको हुन्छ । म अनुमान लगाउँछु, सायद ऊ केही पढ्दै छ अथवा केही हेर्दैछ ।
ग्राहकहरू आउने जाने गरिरहन्छन् ।
म नजरलाई पुन: आफ्नो टेबलमा फर्काएर लिएर आउँछु ।
लेख्न थाल्छु ।
“मलाई दिन बिताउन सजिलो लाग्छ । म कहिल्यै नहिंडेको गल्लीमा हिंडिरहेको कल्पना गर्दै दिन बिताइदिन सक्छु । आकाशमा नाचिरहेका बादहरूलाई हेरेरै दिन बिताइदिन सक्छु । हावामा हल्लिरहेका पातहरूलाई सुनेरै दिन बिताइदिन सक्छु । पढिसकेका शब्दहरू पुन: पढेरै म दिन बिताइदिन सक्छु । शान्त तलाउमा जमेर बसेको पानीलाई कहानी सुनाउदै दिन बिताइदिन सक्छु । कहिल्यै ठेगानामा नपुग्ने पत्रहरू लेखेरै म दिन बिताइदिन सक्छु । म कसैलाई पनि नसम्झेरै पुरै दिन बिताइदिन सक्छु ।
तर मलाई रात कटाउन सकस पर्छ । म रात रोएर मात्र कटाउन सक्छु । मेरा आँखाहरू रुदैनन्, मन रुन्छ । मैले अधिकांश रात त्यसरी नै कटाएको छु । सायद दुखाइ भएको भए आँखा रुन्थ्यो । दुख छ, त्यसैले मन रुन्छ ।”
युवतीले बियर रित्याउँछिन् । पुन: अर्को बोतल मगाउँछिन् । म ठुटो चुरोटलाई एस्ट्रेमा किचिमिची पार्छु ।
मलाई लागेको थियो, युवती कसैलाई भेट्न आएकी हुन् । कसैको प्रतीक्षा गरिरहेकी हुन् । बिस्तारै लाग्न थाल्छ, युवती अरू कसैलाई होइन, आफैंलाई भेट्न आएकी हुन् ।
अर्को बोतल बियर उनको टेबुलमा आइपुग्छ ।
म पुन: ल्याप्टपमा घोत्लिन थाल्छु ।
“म कहिलेकाहीँ आफूलाई निर्वस्त्र पारेर ऐना सामु उभ्याउँछु । म आफूलाई देख्दिनँ । म मान्छे देख्दिनँ । म देख्छु, एउटा अस्थिपञर, जसमा टांसिएको केही मांसपेशीले त्यसलाई रूप दिएको छ, स्वरूप दिएको छ । म देख्छु यस्तो काया, जसको अस्तित्वले कुनै अर्थ राख्दैन । जो हुनु र नहुनुले केही फरक पार्दैन । परिरहेको छैन ।
म देख्छु यस्तो सम्बन्धलाई, जसले सम्बोधन कहिल्यै गर्न पाएन । म देख्छु यस्तो संवेदनालाई, जसले कहिल्यै महसुस गर्न पाएन । म देख्छु एउटा यस्तो दयनीय पात्रलाई, जसलाई कसैले लेखेनन् अथवा लेख्न चाहेनन् । म देख्छु त्यसलाई, जसलाई म मात्र देख्न सक्छु । मैले मात्र महसुस गर्न सक्छु ।”
युवतीले एक गिलास बियर सिनित्त पार्छिन् । खाली गिलासलाई भर्न थाल्छिन् । अर्को चुरोट सल्काउँछिन् ।
कफीको चुस्की लिंदै म उनलाई केही बेर हेरिरहन्छु ।
उनले कसैलाई फोन गर्छिन् । फोन लाग्दैन अथवा उठ्दैन । तीन-चारपटकसम्म लगातार कोसिस गरिरहन्छिन् । नेटवर्क टिपिरहेको छैन अथवा कसैले उनको कललाई टिपिरहेको छैन, म भन्न सक्दिनँ । उनी रिसाउँछिन् या निराश हुन्छिन्, म उनको अनुहारमा सल्बलाइरहेको भावलाई पढ्न सक्दिनँ ।
भर्खर भरेको गिलास पनि उनी एकै सासमा रित्याउँछिन् । वेटरलाई हातको इसाराले फेरि अर्को ल्याउन भन्छिन् ।
पुन: मेरा ल्याप्टपका किबोर्डहरू बज्न थाल्छन् ।
“मेरा काँपिरहेका हातहरूले कयौँपटक गलालाई ताकेका छन्, छुरा लिएर । कयौँपटक हावामा तुर्लुङ्ग तैरिन खोजेका छन्, मेरा खुट्टाहरू । कयौँपटक मेरो शरीरलाई झर्न मन लागेको छ, उचाइबाट र खस्न मन लागेको छ, कुनै गहिराइमा । थाहा छैन म भित्रको कुन चाहिँ तत्वले यिनीहरूलाई रोकिरहन्छ । सायद कोही छ, केही छ, जो मेरो विरुद्ध उभिरहेको छ । मसँग लडिरहेको छ । थाहा छैन, हारिसकेकोलाई जितेर कसैले के पाउँछ ?
कहिलेकाहीँ त लाग्छ, मेरो नसामा रगत छैन । आँखामा आँसु छैन । मस्तिष्कमा चेतना छैन । मनमा संवेदना छैन । मात्र अलिकति हावा छ मेरो रोगी फोक्सोमा । त्यो बाहेक मसँग अरू केही छैन । म त्यति हावाले मात्रै जीवित छु ।”
म भारी महसुस गर्छु । औंलाहरू थाक्छन् ।
म युवतीतिर फर्किन्छु ।
युवतीको आँखा रसाइरहेको हुन्छ । उनी सुक्सुकाइरहेकी हुन्छिन् । उनलाई परिक्रमा गरिरहेको चुरोटको धुँवामा खोइ कुन्नि उनी केही खोज्दै हुन्छिन् ।
म उनको अवस्थालाई राम्रोसँग विवेचना गर्न सक्दिनँ । उनलाई के भइरहेको छ, म अनुमान लगाउन सक्दिनँ । कुनै अड्कल काट्न सक्दिनँ ।
मान्छे किन दुखी हुन्छ ?
मलाई दुख भोग्न भन्दा लेख्न मन लाग्छ । मान्छेहरूलाई पनि त दुख झेल्नु भन्दा पढ्न मजा लाग्छ । दुखले सबैलाई आक्रषित गर्ने गर्छ ।
म युवतीको आँसु पछाडिको कहानीलाई अनुमान लगाउन सक्दिनँ, तर कम्तीमा कल्पना त गर्न सक्छु ।
मान्छे दुखी कि आफूबाट हुन्छ, कि आफ्नाबाट । कि अतीतलाई सम्झेर हुन्छ, कि त भबिस्यलाई सोचेर ।
मुस्कुराएको ओठमा सायद धेरै लेखिएको हुँदैन । तर रोएको आँखामा धेरै थोक लेखिएको हुन्छ । मलाई ओठभन्दा आँखा पढ्न मन पर्छ ।
उनलाई हेर्दा यस्तो लाग्छ, आज उनी मादकताको नसामा चुर भएर मात्न चाहन्छिन् । बिर्सिन चाहन्छिन्, आफूसँग जोडिएकाहरूलाई । आफूबाट छुटिएकाहरूलाई । बिर्सिन चाहन्छिन्, आफैंलाई । हुन चाहन्छिन् त्यो चुरोटबाट निस्किएको धुँँवा जस्तै र बग्न चाहन्छिन् हावासँगै । अन्तत: बिलिन हुन चाहन्छिन् ।
थाहा छैन, किन रङ्गिन दुनियाँ देख्ने आँखाले सधैं रङ्गहिन आँसु खसाल्छ ।
उनी चुपचाप रुइरहेकी छिन् । तर उनी चिच्याइरहेकी छिन् भित्रैबाट । छट्पटाइरहेकी छिन् । सायद उनलाई किनारको आवश्यक छ । काँधको जरुरत छ । कसैको साथ चाहिएको छ । अथवा उनलाई केही, कोही चाहिएको छैन । उनी डुब्न चाहन्छिन् त्यही पीडाको अतल गहिराइमा कहिल्यै नउत्रिनेगरि ।
सायद उनी कसैलाई गुमाएर दुखी भएकी छिन् । उनले कसैलाई पाएर खुसी नभएको पनि हुन सक्छिन् ।
युवतीको रुइरहेका आँखाले मेरा आँखालाई भेट्टाउछन् । म आफ्नो नजर लुकाउँछु ।
थाकेका औंलाहरू किबोर्डमा घिस्रिन थाल्छन् ।
“कहिलेकाहीँ एक्कासि मुटुको धड्कन बढेर आउँछ । टाउको टनटनी दुख्न थाल्छ । हात-खुट्टाहरू झम्झमाउन थाल्छन् । आँखाले धमिलो देख्न थाल्छ । यस्तो लाग्छ, म सकिदै छु । मेरो फोक्सोमा रहेको अलिकति हावा पनि फुस्किदै गइरहेको छ ।
त्यो बेला मलाई यस्तो जिन्दगीको माया लागेर आउँछ, जसलाई मैले कहिल्यै स्वीकार्न सकिनँ । अंगाल्न सकिनँ । मैले बाँच्न सकिनँ ।
म अरू मान्छेहरूलाई आफूजस्तो देख्दिनँ । सायद केही छन् उनीहरूभित्र, जसले उनीहरूलाई म भन्दा केही फरक बनाइदिएका छन् । मलाई हरबखत उनीहरूले घेरिरहेको महसुस हुन्छ । घुरिरहेको भान हुन्छ ।
मलाई कतै टाढा जान मन लाग्छ, यी अनुहारहरूको भीडबाट, जहाँ मलाई कसैको नजरले समेत पछ्याउन नसकोस् । टुटाएर भाग्न मन लाग्छ आफूसँग बाध्य भएर बाँधिएका दुर्बल सम्बन्धहरूलाई ।
मान्छेहरू ढोङ्गी हुन्छन् । लाग्छ, कसैको संवेदनाले पनि महसुस गर्न सक्दैनन् मेरो वेदनालाई । मलाई कसैले बुझ्न सक्दैनन् ।
कहिलेकहीँ म आफैंलाई प्रश्न गर्छु, म किन यस्तो छु ? यस्तो अवस्थामा छु ? मसँग त्यसको जवाफ हुँदैन । सायद जवाफ नभएरै म यस्तो भएको हुँ ।
भन्छन्, शरीर मर्छ, तर आत्मा कहिल्यै मर्दैन । आत्मा मरिसकेको शरीर सायद मेरो जस्तै हुँदो हो ।”
म अधबैंसेतिर नजर फ्याँक्छु । ऊ त्यसरी नै ल्याप्टपमा घोत्लिरहेको हुन्छ । सायद केही लेखिरहेको छ ।
धर्मराउदै आफ्नो असन्तुलित शरीरलाई युवतीले ट्वाइलेटतिर लैजान्छिन् ।
दुखलाई शरीरले होइन, मन-मस्तिष्कले साँचेर राखेको हुन्छ । नसाले शरीरलाई मात्रै छुन्छ । त्यो बेला शरीरले गर्ने हरेक गतिविधिलाई मस्तिष्कले जाँचिरहेको हुन्छ । मनले नियालिरहेको हुन्छ । नसा फगत बाहना हो, अरू केही होइन ।
लेख्न थाल्छु ।
“सायद यो एक्लोपन, यो अधुरोपन एउटा रोग हुनुपर्छ । म रोगी हुँ । मेरो नजिक आउनेहरूलाई सजिलैसँग सर्न सक्छ यो रोग । त्यसैले उनीहरू मेरो नजिक पर्दैनन्, पर्न चाहन्नन् । अथवा म आफूलाई कसैको समीप नै पार्न खोज्दिनँ । म आफैं टाढिन्छु ।
रातमा विषालु भावनाहरू लाटेकोसेरो जस्तै शिकार गर्न उड्दा रहेछन् । उनीहरूले कमजोर मनहरूलाई आफ्नो निसाना बनाउने रहेछन् । म निरीह हरेक रात शिकार हुन्छु ।
हल्का उज्यालो झ्यालको पर्दालाई चिरेर कोठाभित्र आइपुग्छ । सायद रात निदाउँदैछ, दिन ब्युँझिदैछ ।”
युवतीले अर्को बोतल पनि रित्याउँछिन् । उनी अकारण मुस्कुराइरहेकी छिन् । मलाई थाहा छैन, दुखले कुन चरण पार गरेपछि आँसु होइन, मुस्कानलाई जन्माउँछ ।
बगैंचामा बत्ती बल्न थाल्छन् । रात आफूलाई फिंजाउदै लिएर आउँछ ।
म सोच्छु, रातले उक्त युवतीलाई कस्तो रूप देखाउछ होला । कस्तो व्यवहार गर्छ होला । के उनीसँग रातलाई सामना गर्ने सामर्थ छ ?
युवती लड्खडाउदै क्याफेबाट निस्किन थाल्छिन् । मेरो नजरले उनलाई पछ्याइरहन्छ । अचानक उक्त युवती बिस्तारै हावामा बिलाउन थाल्छिन् । हराउदै जान्छिन् । अन्तत: हावा बन्छिन् ।
म अचम्मित हुन्छु । लाग्छ, युवती नितान्त मेरो मस्तिष्कले जन्माएको कहानी हो । कल्पना हो । मेरो नजर अधबैंसेमा पर्छ । उसले मलाई मुस्कुराउँदै हेरिरहेको हुन्छ । म त्यो रहस्यमयी मुस्कानलाई पढ्न सक्दिनँ ।
म बिस्तारै भाँचिदै जान्छु । टुक्रिदै जान्छु । छरिदै जान्छु । बिस्तारै अद्दश्य हुँदै जान्छु । के म पनि कसैको कहानी हुँ ? कल्पना हुँ ?
अन्तत: म पनि हावा बन्छु ।
***
कथा सकिन्छ । म लामो सास लिन्छु । ल्याप्टप बन्द गर्छु ।
काउन्टरमा जान्छु र फ्रेस जुसको पैसा तिरेर आफ्नो आफ्नो बाटो लाग्छु ।