‘लग जा गले कि फिर
ये हसीं रात हो न हो
शायद फिर इस जनम में
मुलाक़ात हो न हो ।’
म कुरी गाउँलाई बिदाइ माग्दै थिएँ, मनमनै । साथीले बाइकको एक्सिलेरेटर बेस्सरी बटार्यो । बाइक उकालो चढ्न थाल्यो । म फर्की-फर्की कुरी गाउँलाई हेर्न थालेँ । लाग्यो, आफ्नो केही हिस्सा पछाडि छुट्दै छ । रुँदै छ । कुरी गाउँ र दुवैका अनुहार खुम्चिएका थिए । त्यस्तो चिसोमा पनि हामी पग्लिरहेका थियौँ ।
हृदयको पृष्ठभूमिमा कता-कता ‘आशा भोस्ले’को मधुरो आवाज सुनियो:
‘अभी ना जाओ छोड़कर
के दिल अभी भरा नहीं ।’
लाग्यो, कुरी गाउँले मलाई बिदाइ गर्नै मानेन । बाइक कुरी गाउँको मूल द्वारबाट सोलिङ गरेको ओरालो बाटो झरिसकेको थियो । म पनि अगाडि फर्किसकेको थिएँ । मनमनै प्रतिज्ञा गरेँ, ‘म पुन: आउनेछु कुनै समय, छुटेको आफूलाई भेट्न ।’ प्रतीक्षा गर्ने पालो उसको थियो ।
भन्छन्, मान्छेभन्दा ठाउँ इमानदार हुन्छ । यसले जसलाई पनि स्वागत गर्छ । सम्मान गर्छ । सुरक्षा दिन्छ । कसैलाई भेदभाव गर्दैन । सबैलाई बराबर प्रेम गर्छ । सत्य हो, मान्छेभन्दा चाँडो प्रेम ठाउँसँग बस्छ ।
‘५ बजेसम्ममा त कसो सुकुटे नपुगिएला,’ साथीको भारी आवाज सुनियो ।
त्यो रात सिन्धुपाल्चोकको सुकुटे बिचमा बास बस्ने योजना थियो हाम्रो । हृदयमा अर्को गीत बज्न सुरु भइहाल्यो, ‘अर्जित सिंह’को:
‘दिल, संभल जा ज़रा
फिर मोहब्बत करने चला है तू
दिल.. यहीं रुक जा ज़रा
फिर मोहब्बत करने चला है तू ।’
म फेरि प्रेममा पर्नेवाला थिएँ । फेरि मेरो दिल टुट्नेवाला थियो । फेरि म कतै छुट्नेवाला थिएँ ।
मैले साथीको कानमै मुख जोतेर भनेँ, ‘पुगिन्छ होला ।’
बाइक रफ्तारमा कुद्न थाल्यो । बाटोछेउछाउ कतारमा उभिएका रुखहरू छुट्न थाले । धुलो बाइकको सकी नसकी पिछा गर्न थाल्यो । चिसो हावा हामीसँगै दौडिन थाल्यो ।
यात्रामा धेरै छुटिन्छन् । धेरै भेटिन्छन् पनि । यात्राको रोमाञ्चकता नै यही त हो । हामी आफैँ हराउँछौँ । आफैँमा भेटिन्छौँ ।
चरिकोटमा ओर्लिएर बाइकको टायरमा हावा भर्यौँ । हामीले हाम्रो पेट पनि भर्यौँ । केही आरामपछि बाइकले हामीलाई बोकेर कुद्यो, धुलो उडाउँदै । धुवाँ उडाउँदै ।
यात्राले अनुभवी बनाउँछ । आत्मविश्वासी बनाउँछ । अनुशासित बनाउँछ । मलाई लाग्छ, सबैभन्दा धेरै अनुभव पैतालासँग हुन्छ । किनभने पैतालाले सबैभन्दा धेरै यात्रा गर्छ । मलाई किन-किन लाग्छ, यात्रा गर्ने मान्छेहरूले अरुको तुलनामा धेरै जीवन बाँच्छन् । धेरै कथा नियाल्न पाउँछन् । धेरै ब्यथा छाम्न पाउँछन् । भन्छन्, बिनाउद्देश्यको, बिनागन्तव्यको यात्राले धेरै सिकाउँछ । धेरै चिनाउँछ र बुझाउँछ पनि ।
यात्रा मलाई कुनै मायावी ऐनाझैँ लाग्छ, जसले हाम्रो रूपलाई होइन, भित्री आत्मालाई प्रतिबिम्बित गर्छ । म हरेक यात्रामा आफूलाई नयाँ भएको पाउँछु । भिन्न भएको पाउँछु । आफूलाई चिन्ने मौका पाउँछु ।
शरीरमा छुट्टै किसिमको ऊर्जा सवार भइरहेको थियो । हामी गीत गुनगुनाउँदै अघि बढिरह्यौँ । मैले नजरले भ्याएसम्म हरेक दृश्यलाई मस्तिष्कमा कैद गर्दै थिएँ । पछाडि छुटिरहेका घर, खेत, मान्छे, जङ्गल सबै फरक लागिरहेको थियो । लागिरह्यो, म कुनै अनाम लेखकले लेखिरहेको उसको काल्पनिक कथाभित्र यात्रारत छु ।
‘झिँगान’ आइपुग्यो । बाइकलाई रोक्यौँ । केही बेर आराम गर्यौँ । आफ्नो छातीभरि कैयौँ यात्रीहरूको पाइला बोकेर लमतन्न सुतिरहेको थियो, कच्ची सडक । मलाई लाग्छ, बाटोहरूलाई गन्तव्यको भन्दा ज्यादा माया पाइलाको लाग्छ । तर, पाइलालाई भने माया गन्तव्यकै लाग्छ । अचम्म !
बाइक कुद्यो । ‘झिँगान’ गाउँ छुट्यो । हामी कतै पुग्न कहीँबाट छुट्टिनैपर्छ । यो नियम हो । प्रायः छुट्टिएकाहरू स्मृतिमा भेटिने गर्छन्, त्यसैले त जीवनको यात्रा यति सुन्दर हुने गर्छ ।
आँखा धेरैभन्दा धेरै दृश्यहरू खिच्न ब्यस्त थिए । यत्तिकैमा आँखाले कच्ची सडकमाथिको उजाड पाखामा ठिङ्ग्रिङ्ग उभिरहेको ‘बुख्याँचा’लाई खिच्यो । नजर यताउती लगाएँ । कहीँ कतै बारी थिएन । खेत थिएन । अन्नबाली थिएन । सुकाइएको बिस्कुन थिएन । न त नजिकै कुनै बस्ती थियो, न त गाउँ । थियो त मात्र एक्लै उभिरहेको बुख्याँचा ।
बुख्याँचालाई चिटिक्कको नयाँ कपडा लागाइदिइएको थियो । सजिलै अनुमान लगाउन सकिन्थ्यो, कपडा कुनै बालकको हो । रातो सुरुवाल । नीलो टि-सर्ट । कालो क्याप-टोपी । यस्तो लाग्यो, बुख्याँचा हामीलाई हेरेर मुस्कुराइरहेछ । सायद त्यसले सडकमा आवतजावत गर्ने हरेक यात्रीहरूलाई त्यसरी नै रहस्यमय मुस्कान फ्याँक्ने गर्छ । सायद त्यसलाई त्यही प्रयोजनका लागि उभ्याइएको हो । नभए बस्ती नभएको ठाउँ, खेतबारी नभएको ठाउँ, त्यस्तो उजाड ठाँउमा बुख्याँचाको के काम ?
बुख्याँचा पछि छुट्यो । तर, मेरो आँखालाई मञ्च बनाएर त्यहीँ बुख्याँचा छमछमी नाँच्न थाल्यो । म पछाडि फर्किएँ । टाढाबाट त ठ्याक्कै कुनै बालक उभिइरहेको भान हुन्थ्यो । म तर्सिएँ । कसले बनाएको होला त्यो बुख्याँचा ? किन त्यहाँ राखियो ? त्यस्तो ठाउँमा केका लागि राखियो ? मस्तिष्कभरि प्रश्नहरू उम्रिन थाले ।
मैले धेरैपहिले कतै पढेको थिएँ, पहिले-पहिले किसानहरू खेतबारीको छेउछाउमा झुप्रो बनाएर चराचुरुङ्गी, जनावरलाई भगाउन बस्थे । अन्नबालीको सुरक्षा गर्न बस्थे । पछि-पछि बिस्तारै खेत बढ्दै गयो । खेती बढ्दै गयो । किसानहरूले खेतमा रुँघेर बस्न भ्याएनन् । त्यसपछि उनीहरूले बुख्याँचाको आविष्कार गरे ।
उनीहरूले विभिन्न आकारका बुख्याँचा बनाउन थाले र खेतबारीमा उभ्याउन थाले । त्यो देखेर चराहरू, जनावरहरू डराउन थाले । किसानहरू मक्ख पर्न थाले । ठाउँअनुसार बुख्याँचालाई विभिन्न नामकरण गरियो । कतिपय ठाउँमा बुख्याँचालाई मृत्युको प्रतीक पनि मान्दा रहेछन् ।
भनिन्छ, बुख्याँचाको प्रयोग प्राचीन ग्रिसबाट भएको हो । ‘एफ्रोडाइट’का छोरा ‘प्रायापस’ जसलाई उर्वरता तथा खेतीपातीको देवता भनेर पनि चिनिन्थ्यो । ऊ एकदमै कुरूप थियो । उसको डरलाग्दो अनुहारले गर्दा चराहरू तर्सिन्थे, भाग्थे । पछि विस्तारै काठबाट बनाइएका उसकै मूर्तिहरू खेतबारीमा राख्न थालियो, ताकि चरा र जनावरहरू तर्सिएर भागून् ।
बुख्याँचाको प्रयोग हुनुभन्दा पहिले खेतबारीमा उभिएर, ताली पिटेर, भाँडो बजाएर चरा र जनावर भगाइन्थ्यो । त्यतिबेला त्यो धेरैका लागि जागिर भएको थियो ।
कतिपय ठाँउमा बुख्याँचामा मृत जनावरहरूको कङ्काल, हड्डीहरू झुन्ड्याउने गर्छन् त कतै माटाका भाँडाहरू । कतै खेलौनाहरू पनि झुन्डाउने गर्छन् । कतै च्यातिएका फोहोर कपडाहरू टँसाउँछन् त कतै पातपतिङ्गर, परालहरू बाँधिन्छन् । जे होस्, जसरी तसरी बुख्याँचालाई कुरूप बनाइन्छ । भयानक बनाइन्छ ।
यो सत्य हो, बुख्याँचा तर्साउनका लागि बनाइन्छ । तर, त्यो कच्ची सडकमाथिको पाखामा उभ्याइएको बुख्याँचा कसलाई तर्साउनका लागि हो ? हामी यात्रीहरूलाई ? किन ?
‘हलहले’ छुट्यो । ‘खरीढुङ्गा’ कट्यो । ‘मुढे’ पुगियो । तर पनि मेरो मस्तिष्कमा त्यो बुख्याँचा अझै नाचिरहेको थियो निरन्तर ।
साथीले कुइँनाले घोच्दै सोध्यो, ‘ओइ, के भयो ? किन चुप ?’
म झस्किएँ ।
‘चिसो भयो क्या !,’ मैले ढाटेँ । साथी हाँस्यो ।
बुख्याँचा तर्साउनका लागि बनाएर राखिन्छ । तर, त्यो बुख्याँचा कुरूप थिएन । भयानक पनि थिएन । त्यसलाई चिटिक्कसँग मिलाएर कपडा लगाइदिइएको थियो । यस्तो लाग्थ्यो, त्यहाँ कुनै निर्जीव बुख्याँचा होइन, सजीव मान्छे नै उभिएको छ ।
कतै सुनेको पनि थिएँ, बुख्याँचालाई ठाउँअनुसार विभिन्न प्रतीकका रूपमा मानिन्छ । विभिन्न बिम्बका रूपमा बुझिन्छ । विभिन्न प्रतिबिम्बका रूपमा हेरिन्छ । मैले देखेको त्यो बुख्याँचाले कुनै अर्कै अर्थ पो बोकेको छ कि !
०००
हामी सुकुटे बेलैमा पुग्यौँ । त्यहाँ पुगेर हल्का स्न्याक्स र ड्रिङ्स लियौँ । केही बेर आराम गर्यौँ । त्यहाँको सुन्दरतालाई आँखा र क्यामराले कैद गर्न थाल्यौँ ।
समय भएपछि डिनर लियौँ र आफ्नो रुममा पस्यौँ । साथी क्यामराले खिचेका फोटोहरू हेर्न ब्यस्त भयो । मचाहिँ आँखाले खिचेको त्यै बुख्याँचालाई सम्झिन थालेँ ।
त्यही प्रश्न, त्यही जिज्ञासा मेरो मस्तिष्कमा बारम्बार दौडिन थाल्यो । आखिर त्यो सुन्दर बुख्याँचा त्यहाँ किन राखियो ? कसले राख्यो ?
हामी राति कतिबेला निदायौँ थाहै भएन । बिहान ब्रेकफास्ट च्यापेर हामी सोझियौँ काठमाडौंतिर ।
यात्रीहरूले यात्राबाट फर्केर आउँदा केही-न-केही पक्कै आफूसँग लिएरै आएका हुन्छन् । साथीले के लिएर आयो, थाहा भएन । तर, मैले कथा लिएर आएको थिएँ । एउटा प्रश्न बोकेर आएको थिएँ । रहस्यको पनि रहस्य च्यापेर आएको थिएँ । जबसम्म मैले त्यो प्रश्नको जवाफ पाउदिनँ, म छटपटाउनेवाला थिएँ ।
मस्तिष्कले त्यो प्रश्नको जवाफ आफैँ खोज्न थाल्यो । कल्पिन थाल्यो । अनुमान लगाउन थाल्यो ।
भक्तपुर आइपुग्यौँ । लञ्च दबाएर कुदिहाल्यौँ । साथीलाई हतारो थियो । ड्युटीमा पुग्नुपर्ने थियो । मलाई चाहिँ केही साथीहरूले ठमेलको कर्मा हाउसमा कुरिरहेका थिए । म ठमेलमा झरेँ । साथी बालाजुतिर हुइँकियो ।
राति रुम पुगेपछि त्यहीँ बुख्याँचाका बारेमा केही लेख्न मन लाग्यो । हाम्रो यात्राको डायरी लेख्न मन लाग्यो ।
बुख्याँचा त्यहाँ किन राखियो ? कसले राख्यो ? त्यो लेखिनँ । लेख्न सकिनँ । किनभने मसँग त्यसको जवाफ थिएन । कथा थिएन । बरु, मस्तिष्कले काल्पनिक जवाफ कोर्न थाल्यो । कथा कल्पिन थाल्यो– ‘एउटा गाउँ, जहाँ मान्छे मरेपछि त्यसलाई गाडिन्छ । गाडिएको ठाउँमा बुख्याँचा बनाइन्छ । उभ्याइन्छ । उक्त बुख्याँचालाई मृत्यु भएको मान्छेको कपडा लगाइन्छ । सबै गाउँलेहरूले प्रार्थना गर्छन् । कामना गर्छन् । गीत गाउँछन् । बाजा बजाउँछन् । नाँच्छन् । मृत मान्छेको आत्मालाई खुसी पार्न शोक होइन, एक प्रकारको उत्सव मनाउँछन् ।’
एउटा आठ वर्षीय बालक । आफूले खोजेको जिन्दगीभन्दा धेरै टाढा बाँचिरहेको बालक । सजीव होइन, कुनै निर्जीव बुख्याँचाझैँ बाँचिरहेको बालक । मायाको झरीमा कहिल्यै रुझ्न नपाएको बालक । सधैँ गाली र यातना सहिरहेको बालक । बुबा अरब । गाउँमा सौतेनी आमासँगै बस्दै आएको बालक ।
उसलाई पनि थाहा छ, उसको गाउँमा मृत्युपछि शोक होइन, उत्सव मनाउँछन् । मृत्युपछि उसलाई पनि गाउँलेहरूले माया गर्नेछन् । सम्झिनेछन् । उसले यही बुझेर/लागेर आत्महत्या गर्ने योजना बुन्छ ।
ऊ अर्को दिन भिरको डिलमा उभिन्छ । उसको एउटा साथी उसलाई पछ्याउँदै त्यही भिरमा आइपुग्छ । भिरबाट हाम फाल्ने बेलामा उसको मस्तिष्कमा एउटा भयानक भावना प्रवेश गर्छ ।
के साँच्चै मेरो मृत्युपछि पनि मेरो बुख्याँचा बनाइन्छ ? पाखामा त्यसलाई मेरो कपडा लगाइदिएर उभ्याइन्छ ? के गाउँलेहरू नाँच्छन् ? उत्सव मनाउँछन् ?
उसलाई शंका लाग्न थाल्छ । उसको अबोध मस्तिष्क तन्किन थाल्छ । जीवनभर माया नपाएको मैले मृत्युपछि के साँच्चै माया पाउँछु ?
उसले अरु केही सोच्दै नसोची आफ्नै साथीलाई भिरबाट धकेलिदिन्छ । भिरबाट खसेर उसको साथीको मृत्यु हुन्छ । गाउँलेहरूले उसको साथीको मृत शरीरलाई सडकमाथिको उजाड पाखामा गाडिदिन्छन् । कपडा लगाइएको बुख्याँचा बनाएर उभ्याइन्छ । राति सबैले उत्सव मनाउँछन् ।
हामीजस्तो सानो बालक मर्दा पनि के उत्सव मनाउँछन् ? के हाम्रो पनि बुख्याँचा बनाइन्छ ? उसले यही जाँच्न साथीलाई भिरबाट धकेलेर लडाएको थियो । तर, अहिले त्यो बालकलाई डरले पूरै निलिसकेको छ । ऊ ग्लानिले जलिसकेको छ । उसमा अब साहस छैन । सास छैन । ऊ साँच्चिकै निर्जीव भएको छ । बुख्याँचाझैँ भएको छ ।
त्यो रात मैले केही लेखेँ । तर, धेरै सोचेँ । कल्पिएँ । र, सुतिहालेँ ।
०००
अर्को दिन साथी मलाई भेट्न आइपुग्यो । मैले उसलाई आफूले लेखेको डायरी सुनाएँ । मस्तिष्कले कोरेको/कल्पेको कथाचाहिँ सुनाइनँ ।
मुख खुम्च्याउँदै उसले मलाई सोध्यो, ‘साँच्चै त्यो बुख्याँचाचाहिँ त्यहाँ किन राखियो होला है ?’
‘तँलाई के लाग्छ, किन राखियो होला ?,’ मैले नै उसलाई प्रतिप्रश्न गरेँ ।
केही बेर घोत्लिएपछि उसले भन्यो, ‘सायद त्यहाँ कसैको चिहान हुनुपर्छ ।’
मैले जे सोचेको थिएँ । उसले पनि त्यही सोच्यो । के साँच्चै त्यहाँ चिहान नै थियो त ?
मैले खोजेको जवाफ अझै पाइरहेको थिइनँ । म सन्तुष्ट हुन सकिरहेको थिइनँ ।
अर्को दिन अर्को प्रिय आत्मालाई मैले लेखेको डायरी सुनाएँ । उसलाई खत्रा मन पर्यो । म मक्ख परेँ ।
उसले पनि मलाई अपेक्षित प्रश्न गर्यो, ‘त्यो बुख्याँचा किन राखियो होला ? कसले राख्यो होला ?’
मैले उसलाई मेरो मस्तिष्कले सोचेको, कोरेको, कल्पेको कथा सुनाएँ । र भनेँ, ‘म यही लेख्नेवाला छु ।’
ऊ अलि सन्तुष्ट भएन ।
उसले भनिहाल्यो, ‘त्यो लेख्नै पर्दैन । किन लेख्ने ? पढ्ने हरेक मान्छेहरूको मस्तिष्कमा पनि त्यही प्रश्न अल्झिरहोस् न, त्यहाँ बुख्याँचा किन राखियो ? कसले राख्यो भनेर ?’
उसको जवाफले म सन्तुष्ट भएँ ।
मैले उसले भनेको मानेर आफूले सोचेको/कल्पेको कथा लेखिनँ । जवाफ दिइनँ । भन्नैपर्दा, एक किसिमको आफ्नो थ्यौरी लेखिनँ । बरु यत्तिकै ठीक छ ।
केही रहस्यहरू रहस्यमै रहेको सुहाउँछ । केही कथा-कहानीहरू यत्तिकै ठीक हुन्छन् ।