प्रतीक्षा

त्यो दिन अवश्य आउँनेछ,
जुन दिन सुन्दर हिमालले आफूले
लगाएको चिसो हिउँको कपडा खोलेर
देखाउनेछ नग्न नृत्य

र त्यो दिन
म पनि नाच्नेछु मोतिको दाना भएर
पानीको अतल गहिराइमा
खोलेर लेउको कपडा

ताकी
सबैले थाहा पाओस् म भएको अस्तित्व
र आँखाहरू खोज्न हिंडोस्
मेरा नहराएका सपनाहरू

सायद
त्यो दिनपछि

मलाई बन्दी बनाएर राख्ने
कठोर सिमारेखा जसलाई मेटाएर
सुन्दर भागरेखा कोरिदिन आउनेछ नियती

मलाई अन्धो बनाएर राख्ने
कालो अन्धकार भ्रमलाई
चिर्दै सपनाहरूको बीउ छर्न आउनेछ निदरी

जन्जिरले बाँधेर लगँडो
बनाइदिएको मेरो खुट्टालाई
मुक्त गरेर गन्तव्यसम्म ओछिनेछ बाटो

मलाई त्यो दिनको प्रतीक्षा रहनेछ !

Related Articles

Leave a Reply

Check Also

Close
Close